वर्षमा चार वटा फिल्म फ्लप हुँदा पनि सौगातलाई कामै काम
काठमाडौं : ‘फिल्ममा काम गरौँ गतिलो स्टोरी पर्दैन, नगरौँ आफ्नै गुजारा चल्दैन। गुजारा चलाउनकै लागि भए पनि फिल्ममा काम गनैपर्ने बाध्यता छ।’
नेपाली सिने क्षेत्रका चल्तीका कलाकार सौगात मल्लले केही महिनाअघि सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया पोखेको गुनासो हो यो। चल्तीका कलाकार मानिने सौगातले राम्रो स्क्रिप्ट भएका फिल्म नै नआएको उनलाई लाग्छ।
पछिल्लो एक वर्षयता उनले अभिनय गरेका कुनै पनि फिल्मले बक्स अफिसमा हलचल ल्याउन सकेको छैन। चाहे त्यो ‘हात्तीछाप’, ‘रेड सुटकेस’ र ‘अगस्त्य’ होस् या प्रदर्शन भइरहेको ‘बमबहादुर’। यी फिल्मका निर्माताले हलबाट लगानी उठाउन सकेका छैनन्।
सिक्किम र दार्जिलिङको कथामा निर्माण गरिएको फिल्म ‘बमबहादुर’ गत हप्ताको शुक्रबारबाट प्रदर्शनमा आए पनि हलमा दर्शकको चहलपहल छैन। प्रदर्शनको छैटौं दिनमा आइपुग्दा फिल्मले देशभरमा मात्रै तीन शो पाएको छ। यो भनेको ‘हात्तीको मुखमा जिरा’ सरह हो।
सौगातको करियरकै समीक्षा गर्दा उनको अहिलेसम्मको हिट फिल्म भनेको ‘लुट’ र ‘कबड्डी’ हो। त्यसबाहेक केही फिल्मले लगानी उठाउनेसम्मको व्यापार गरे पनि ‘वाह!’ भन्ने किसिमको व्यापार हुन सकेको छैन।
एक वर्षमा प्रदर्शनमा आएका सौगातका चारवटै फिल्मले लगानी समेत उठाउन नसक्दा समेत उनलाई कामको दुःख छैन। हातमा फिल्म नै फिल्म छ। एकपछि अर्को फिल्म सुटिङको सेड्युल प्याक छ।
पछिल्लो समय उनी सिमोस सुनुवारको ‘जन्ते बाख्रो’मा र लक्ष्मण सुनारको ‘कल्ली’मा पनि अनुबन्ध भए। कमेडी जनरामा निर्माण हुने ‘जन्ते बाख्रो’ प्रदीप भारद्धाजले लेखेका हुन्। ‘कल्ली’मा भने उनी पल शाहलाई आउट गर्दै इन्ट्री मारेका हुन्।
पुष १०, २०८१ बुधबार १३:४०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।