उकेरा टप फाइभ : रास्वपामा रविले डीपीलाई नै छान्नुको रहस्यदेखि सन्त गाहा मगरको चौथो अंगसम्म
काठमाडौं : सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा भइसकेका रास्वपा सभापति रवि लामिछानेलाई राज्य व्यवस्था समितिबाट पनि निलम्बित गरिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा सभापति रामहरि खतिवडाले प्रतिनिधि सभा सदस्यबाट निलम्बन भइसकेका लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाए। निलम्बनविरुद्ध रास्वपा अदालत जाने भएको छ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले सट्टेबाजी कम्पनीहरूको सरोगेट ब्रान्डको प्रचार गर्नु बाध्यता भएको तर्क गरेका छन्। कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा खड्काले सरोगेट कम्पनीहरूबाट खेलकुदमा लगानी आइरहेको भन्दै लगानी जुटाउनका लागि पनि त्यस्ता कम्पनीहरूको प्रचार गर्नुपर्ने बाध्यता रहेको बताए। उनले सरोगेट विज्ञापनबाट खेलकुदमा लगानी आइरहेकोले त्यसलाई नरोक्न आग्रह गर्दै त्यसो हुन नसके सोहीअनुसारको लगानी सरकारले गनुपर्ने बताए।
प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को (१) मा प्रतिष्ठानले स्वास्थ्य सेवामा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न आफ्नो छुट्टै अस्पताल स्थापना गरी सञ्चालन गर्न वा सरकारको केन्द्रीय अस्पतालसँग द्विपक्षीय सम्झौता गरी त्यस्तो अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न उक्त सहमति भएको हो।
भक्तपुरको सूर्यबिनायक नगरपालिका-२ स्थित बालकोटमा मृत भेटिएका कुलप्रसाद आचार्य र छोरा प्रविण आचार्यलाई परिवारकै सदस्यले हत्या गरेको खुलेको छ। ‘बुवा र भाइको हत्या मैले गरेको हुँ’ भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरी वृत्त महराजगञ्जमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ। सोमबार खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय कुलप्रसाद र कान्छो छोरा २२ वर्षका प्रविण मृत भेटिएको थियो।
इजरायलले हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको पुष्टि गरेको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले पहिलो पटक इजरायलले हमासका राजनीतिक नेता इस्माइल हानियालाई इरानको तेहरानमा यसै वर्षको जुलाईमा मारेको स्वीकार गरे। आफ्नो भाषणमा उनले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई निशाना बनाउने समेत बताए।
अब आज उकेरामा प्रकाशित टप पाँच समाचार
नेपाल प्रहरीमा कार्यरत रहेको बेलामा जब छविलाल जोशी एसएसपीको रूपमा तत्कालीन काठमाडौँ प्रहरी परिसरको प्रमुखमा सरुवा भए उनको शैलीबारे जानकार एक वरिष्ठ प्रहरी अधिकारीले असन्तुष्टि जनाउँदै टिप्पणी गरेका थिए ‘छवि नै नभएकालाई काठमाडौँको सुरक्षाको जिम्मा दिएर गृहमन्त्रीले कस्तो छवि बनाउन लागेका होलान्।’ छविलालको आर्थिक अनुशासनमा कमजोर छवि भएकैले तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उनलाई काठमाडौँको सुरक्षाको कमान्ड दिन मानेका थिएनन्। तर तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको नजरमा जोशी अब्बल प्रहरी ठहरिए। एसएसपी र डिआइजी सरुवाको अधिकार गृहमन्त्रीलाई थियो। उनले छविलाललाई काठमाडौँको सुरक्षाको जिम्मेवारी दिए।
पूरा समाचार: डिआईजी र असईको दोस्ती : कार्यालय सहयोगी हुँदै अपराधमा साझेदारी
पहिले-पहिले म्यागेजिन हुँदा अलि विश्लेषणात्मक समाचार आउँथ्यो, अहिले आउँदैन। अहिले हामी सहजै प्राप्त गर्न सकिने सूचनालाई समाचार बनाएर अप्डेट गर्नमै केन्द्रित भएका छौँ। यो अल्झिने मेसो मात्रै हो, पत्रकारिता हैन। अप्डेटले अल्झाउँछ, अपग्रेड गराउँदैन। सगरमाथा रेडियो मेट्रो एफएम अनलाइनखबरमा काम गरेर अहिले हिमालखबर डटकमका सम्पादक रहेका सन्त गाहा मगरसँग डिजिटल युगमा नेपाली पत्रकारिताको चुनौती शीर्षकमा प्रजु पन्तले गरेको कुराकानी आजको चौथो अंगमा प्रस्तुत छ।
पूरा समाचार: चौथो अंग : सहजै पाइने सूचनाको भूलभुलैयामा नेपाली पत्रकारिता
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भयो। कात्तिक २ मा पक्राउ परेका रविविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भयो। त्यसपछि मात्र रविले रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरे। पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि प्रहरी हिरासतमा बसेको दुई महिना नाघिसक्यो। तर, मुद्दा दर्ता हुनुअघिसम्म उनले कसैलाई पार्टीको कमान्ड गर्ने अधिकार दिएका थिएनन्। बरू, हिरासतबाटै पार्टी चलाइरहेका थिए।
पूरा समाचार: हिरासतबाटै रास्वपा हाँकिरहेका रविले स्वर्णिमलाई छाडेर डीपीलाई किन बनाए कार्यवाहक सभापति?
रातो पुलनजिकै ६ केजी बक्स कार्टुन संकलन गरी थकाइ मारेर बसिरहेका थिए, काभ्रेको पनौतीका ६० वर्षीय भुवन श्रेष्ठ। आइतबार उकेराकर्मी रातो पुल पुग्दा उनी कसैले लगाउन भनेर दिएको कपडा सिलाउँदै थिए। २०२१ सालमा काभ्रेमा जन्मिएका भुवनको परिवारको आर्थिक अवस्था निक्कै कमजोर थियो। परिवारको पेट पाल्नकै लागि उनका बुवा भारतको कोलकातामा मजदुरी गर्थे। परिवार आर्थिक रूपमा कमजोर भएकाले पढ्ने कुरै भएन। त्यतिबेलाको सामाजिक अवस्था पनि पढ्नुपर्छ भन्ने नभएको उनी स्मरण गर्छन्। प्रस्तुत छ, उएराको नियमित स्तम्भ भुईं मान्छे।
पूरा समाचार: २५ वर्षदेखि काठमाडौंमा कार्टुन संकलन गरिरहेका ६० वर्षीय भुवन भन्छन्, ‘यो काम चाहिँ वीरेन्द्र राजा मरेपछि गरेको’
भक्तपुरको सूर्यबिनायक नगरपालिका-२ स्थित बालकोटमा मृत भेटिएका कुलप्रसाद आचार्य र कान्छा छोरा प्रविणको हत्या स्वीकारेका जेठा छोरा मिलनले आफू लोकसेवा फेल हुँदाको हैरानीमा रहेको बयान दिएका छन्। महाराजगञ्ज प्रहरी वृत्तमा आज बिहान आत्मसमर्पण गरेपछि उनले ६-७ पटक परीक्षा दिँदासमेत लोकसेवा पास नभएपछि सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेको भनेका छन्।
पूरा समाचार: मिलनको बयान : लोकसेवा पास नभएको हैरानीले बुवा र भाइलाई मारें, आमाको चिन्ताले आत्महत्या गर्न सकिँन
पुष ९, २०८१ मंगलबार २२:१७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।