मिलनको बयान : लोकसेवा पास नभएको हैरानीले बुवा र भाइलाई मारें, आमाको चिन्ताले आत्महत्या गर्न सकिँन

मिलनको बयान : लोकसेवा पास नभएको हैरानीले बुवा र भाइलाई मारें, आमाको चिन्ताले आत्महत्या गर्न सकिँन

काठमाडौं : भक्तपुरको सूर्यबिनायक नगरपालिका-२ स्थित बालकोटमा मृत भेटिएका कुलप्रसाद आचार्य र कान्छा छोरा प्रविणको हत्या स्वीकारेका जेठा छोरा मिलनले आफू लोकसेवा फेल हुँदाको हैरानीमा रहेको बयान दिएका छन्। 

महाराजगञ्ज प्रहरी वृत्तमा आज बिहान आत्मसमर्पण गरेपछि उनले ६-७ पटक परीक्षा दिँदासमेत लोकसेवा पास नभएपछि सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेको भनेका छन्। 

'बुबाले धेरै नै माया गर्नुहुन्थ्यो। मलाई सरकारी जागिर खाएको देख्ने उहाँको सपना थियो। मैले प्रयाससमेत गरें। तर, ६-७ पटक परीक्षा दिँदासमेत पास भइँन। मलाई डिप्रेसन भयो। त्यही तनावमा बुबाले समेत आत्महत्या प्रयास गर्नुभयो। त्यही दिनदेखि मलाई पनि बुबालाई खुसी पार्न सकिएन भन्ने लाग्यो। सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेको हुँ, उनले भनेका छन्। 

प्रहरी अधिकारीलाई दिएको बयानमा उनले आफूलेसमेत झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेको तर, आमाको माया लागेर फर्किएको भनेका छन्। 

'हत्यापछि म भक्तपुरकै बिरुवा गएँ। गलबन्दीको पासो लगाएर रुखमा झुण्डिएँ। तर गलबन्दीको गाँठो फुस्कियो। भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो। बुवा र भाइ मरेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचें, उनको दाबी छ। 

दुई भाइ छोरामध्ये जेठा छोरा मिलन स्नातक तह उत्तीर्ण गरेर लोकसेवाको तयारी गर्दै गरेका र कान्छो छोरा प्रवीण भने विज्ञान संकायमा स्नातक अध्ययनरत थिए। तर, मिलनले बयानमा भने भाइ प्रविण पनि सधैँ दिउँसो १२ बजेसम्म सुत्ने र केही गर्न नसक्ने भनेर हत्या गरेको बताएका छन्। 

जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधवप्रसाद बुढाथोकीका अनुसार बुबा र भाइको शनिबार राति हत्या गरेपछि आइतबार बिहान कोठामा ताल्चा लगाएर रूपेश स्कुटरमा फरार भएका थिए। 

जिल्ला प्रहरी परिसर भक्तपुरले आजै उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ। 

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ मा बिदा लिएर छोराहरू बस्दै आएको स्थान बालकोट आएका थिए।  

कुलप्रसाद र प्रविणको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा छ।

पुष ९, २०८१ मंगलबार १७:११:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।