एनपिएलमा हानिए कुल ६५३ चौका, एनसेल फाउन्डेसनले २६०० बढी शैक्षिक सामग्री वितरण गर्ने
काठमाडौं : एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग एनपिएलका खेलहरूमा हानिने प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुरूप २६०० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ।
यी सामग्रीहरू ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिने छन्। शनिबार समापन भएको एनपिएलमा कुल ६५३ चौका हानिएका थिए। यसबापत एनसेल फाउन्डेसनले अब घोषणा गरे बमोजिम कुल २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने भएको छ।
क्रिकेटदेखि कक्षा कोठासम्मको यस नविन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने एनसेलले विश्वास लिएको छ।
विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुनेछन्।
एनपिएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का खेलाडी लाहिरु मिलान्थाले हानेका छन्। उनले कुल ३५ चौका हानेर १४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन्।
त्यस्तै, दोस्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए जसबाट १२० शैक्षिक सामग्री र तेस्रोमा लुम्बिनी लायन्सका रोहितकुमार पौडेल २६ चौका बापत १०४ शैक्षिक सामग्रीको वितरण पक्का भए।
त्यसैगरी चितवन राइनोज्का रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सैंफ जैब प्रत्येकले २४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका थिए।
'क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिक कार्य दुवैका हिसाबले यो एनपिएल एकदमै उत्साहजनक रह्यो। शैक्षिक सामग्री वितरणको लागि हामी क्यान, सम्बन्धित टिमहरू अन्य सरोकारवालासँग सहकार्य गर्नेछौं, एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड शाखा लक्ष्मी खड्काले भनिन्।
पुष ९, २०८१ मंगलबार १५:२२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।