५० वर्षीय आमा र छोरा सँगै दीक्षित हुने तयारीमा

५० वर्षीय आमा र छोरा सँगै दीक्षित हुने तयारीमा

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औं दीक्षान्त समारोहको तयारी गरिरहेको छ। यही पुस १३ मा हुने दीक्षान्त समारोहका लागि आवेदन दिएका विद्यार्थीहरू आवश्यक पर्ने गाउन, स्कार्फ र टोपीको जोहो गर्न व्यस्त छन्।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरूले आवेदन फाराम भरेका आधारमा पोशाकको जोहो गरिरहेका छन्। यसै सिलसिलामा सँगै दीक्षित हुने तयारीमा रहेका आमा र छोराले खुशी साटेका छन्।

उमेरले ५० नाघेकी लक्ष्मी पौडेल क्षेत्री (सिलवाल) र छोरा अभिनव सिलवाल एकसाथ दीक्षित हुने तयारी गरिरहेको सुनाइन्। 

‘ललितपुरको नमूना मछिन्द्र कलेजबाट प्लसटू र स्नातक पनि त्यहीबाट पास गरेको हुँ। पढाइ छाडेको २० वर्ष भयो। घर परिवार र जिम्मेवारीले गर्दा पढ्न पाएको थिएन। तर, अचानक पढाई पूरा गर्ने सोच अनुसार हाललाई त्यो पूरा गरेको छु,’ उनले भनिन्, ‘मैले मेरा बच्चाहरूसँगै बसेर पढें। गाउन लगाएर छोरासँगै दीक्षित हुने रहर पूरा गर्दैछु।’

छोरा अभिनव सिलवालले आफ्नी आमासँगै पढाई पूरा गरेर दीक्षित हुने तयारी गर्न पाउँदा खुशी लागेको सुनाए।  

‘यो मेरा लागि खुसीको पल हो। आमालाई अझै पढ्नु पर्छ भन्न चाहन्छु,’ उनले भने।

पुष ९, २०८१ मंगलबार १४:३६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।