बयानका लागि प्रहरी चौकी पुगे अल्लु अर्जुन, घरबाहिरको सुरक्षा बढाइयो
एजेन्सी : दक्षिण भारतीय फिल्मका अभिनेता अल्लु अर्जुन मंगलबार हैदराबादको चिक्कडपल्ली प्रहरी चौकी पुगेका छन्।
सन्ध्या थिएटर घटनाको सम्बन्धमा हैदरावाद प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको छ।
अल्लु अर्जुनको फिल्म ‘पुष्पा-२: द रुल’को प्रदर्शनका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछिको घटनाबारे सोधपुछका लागि उनी प्रहरी चौकी पुगेका हुन्।
घटनापछि अल्लु अर्जुनको घर बाहिरको सुरक्षा पनि बढाइएको छ। प्रदर्शनकारीले आइतबार उनको घरको सामानमा तोडफोड गरेका थिए। घटनाको तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले निन्दा गरेका छन्।
यस घटनामा अल्लु अर्जुनले हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएका थिए। उनी १४ डिसेम्बरको बिहान रिहा भएका थिए।
हैदरावाद प्रहरीले उनलाई एक दिनअघि १३ डिसेम्बरमा पक्राउ गरी अदालतमा पेश गरेको थियो।
तर, केही समयपछि तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत दिएको थियो। तर त्यो रात उनलाई प्रहरीले रिहा गरेन।
यस विषयमा अल्लु अर्जुनका वकिलले कानूनी उपचार खोज्ने बताएका थिए।
पुष ९, २०८१ मंगलबार १२:०५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।