२५ वर्षदेखि काठमाडौंमा कार्टुन संकलन गरिरहेका ६० वर्षीय भुवन भन्छन्, ‘यो काम चाहिँ वीरेन्द्र राजा मरेपछि गरेको’

२५ वर्षदेखि काठमाडौंमा कार्टुन संकलन गरिरहेका ६० वर्षीय भुवन भन्छन्, ‘यो काम चाहिँ वीरेन्द्र राजा मरेपछि गरेको’

रातो पुलनजिकै ६ केजी बक्स कार्टुन संकलन गरी थकाइ मारेर बसिरहेका थिए, काभ्रेको पनौतीका ६० वर्षीय भुवन श्रेष्ठ। आइतबार उकेराकर्मी रातो पुल पुग्दा उनी कसैले लगाउन भनेर दिएको कपडा सिलाउँदै थिए।

२०२१ सालमा काभ्रेमा जन्मिएका भुवनको परिवारको आर्थिक अवस्था निक्कै कमजोर थियो। परिवारको पेट पाल्नकै लागि उनका बुवा भारतको कोलकातामा मजदुरी गर्थे। परिवार आर्थिक रूपमा कमजोर भएकाले पढ्ने कुरै भएन। त्यतिबेलाको सामाजिक अवस्था पनि पढ्नुपर्छ भन्ने नभएको उनी स्मरण गर्छन्।

‘काँ अहिलेको जस्तो पढाई हुन्थ्यो र! स्कुल त थियो तर पनौती बजारमा। बजार आउन पनि सहज थिएन हाम्रो गाउँबाट। त्यो बेला परिवारको आर्थिक अवस्थाले परिवारलाई खुवाउन त गाह्रो थियो, पढाउने भन्ने त धेरै परको कुरा।’

पढाइ नभएपछि १५ वर्षको उमेरमा उनी काठमाडौं आए। यहाँ जे काम पाइन्छ, त्यो गर्न थाले। एउटा काम अनि एउटा ठाउँमा थिर भएर काम गरेनन्, जसको प्रभाव अहिले उनको जीवनमा देखिइरहेको छ। उनी अहिले जीविकोपार्जनका लागि बक्स कार्टुन संकलन गर्छन्। यसमा लागेको भने २४ वर्ष भएछ।

‘मैले धेरै काम गरेँ, सुरुमा ज्यामी काम गरे, त्यसपछि होटेलमा काम गरे, नर्सरीमा समेत काम गरेँ,’ उनले स्मरण गरे, ‘यो काम चाहिँ वीरेन्द्र राजा मरेपछि गरेको हो।’

भुवनको काभ्रेमा तीन जनाको परिवार छ। घरमा श्रीमतीसहित एक छोरा र एक छोरी छिन्। तर उनी परिवारसँग नबसेर काठमाडौंमा एक्लै बसिरहेका छन्। बसमा बस्नै मन लाग्दैन रे उनलाई। ठ्याक्कै कारण चाहिँ बताउन सकेनन्। दशैंमा घर गए पनि तीन दिन मात्र बसेर फर्किएछन्।

‘पनौतीबाट चार किलोमिटर जति टाढा छ मेरो घर। घरमा श्रीमती अनि छोरा र छोरी छन्। तर बस्न मन लाग्दैन। उनीहरू आफ्नो काम गरेर खाएका छन्, म आफ्नो। श्रीमतीले बसौँ भन्छे तर मलाई बस्नै मन लाग्दैन।’

थापाथलीमा पोखराका एक ठेकेदारले बस्न दिएका छन् भुवनलाई अहिले। खाना पनि उनैले दिन्छन्, सुत्न भने अलि गाह्रो रहेछ। उनले थपे, ‘जाडो धेरै भएको बेला यही कार्टुन ओच्छ्याएर ठेकेदारको कोठामा सुत्छु। गर्मी महिनामा चाहिँ बाहिरै।’

१५ वर्षको उमेरमा ज्यामी काम
२०३६ सालमा काठमाडौं आएपछि उनको पहिलो काम थियो ज्यामी काम। सुरूमा ठेकेदारले नपत्याए पनि अभावै हुँदा भने बोलाउने रहेछन्। सुरुका दिनमा खर्पन बोक्न नआएर हैरान भएको उनी अझै सम्झन्छन्।

उनले सम्झिए, ‘जम्मा १५ वर्षको त थिएँ। सुरुमा ठेकेदारले राख्न नै मानेन पछि बल्ल-बल्ल राख्यो। पहिलो दिन मलाई खर्पन बोक्नै आएन। पछि बिस्तारै जाने।’

ज्यामी कामकै लागि उनी बाराको जितपुरदेखि चिवतनको नारायणघाटसम्म पुगे। त्यतिबेला दिनको ज्याला आठ रुपैयाँ थियो भने नारायणघाट बजार निकै फराकिलो रहेको र पुल समेत नबनेको उनी अहिले पनि झलझली सम्झन्छन्।

आठ वर्षसम्म ज्यामी काम गरेपछि उनलाई गाह्रो लाग्न थालेछ। उमेर नगए पनि काम गर्नै गाह्रो भएपछि होटलमा काम थालेको उनी बताउँछन्।

‘ज्यामी काम मैले आठ वर्ष जति गरे बाबु। उमेर नै भए पनि गाह्रो हुने। त्यो बेला पैसा कम पनि होइन, दैनिक ८ रुपैँया आउँथ्यो। तर, बालुवा बोक्ने काम गाह्रो हो नि त। त्यसैले छोडिदिएर होटेलमा काम गरेको।’

पाँच सय तलबमा होटलमा काम
ज्यामी कामपछि केही समय घरमै बसेका उनी २०४४ सालतिर फेरि काठमाडौं आए र होटलमा काम गर्न थाले। त्यहाँ उनले भान्सेदेखि सहयोगीसम्मको सबै काम गरे।

‘ज्यामी काम गर्न गाह्रो भएपछि होटलमा आएँ। बुढेसकालमा पनि सुख लेखेको रहेनछ मेरो। कतिले अहिले पनि भाडा माझ्ने हो भनेर सोध्छन्। बसे उठ्न सकिँदैन। शरीर नै गलिसक्या छ। भाग्यमै यस्तो काम गर्न लेखेको रहेछ मलाई’, उनी कार्टुनतिर देखाउँदै वर्तमान सम्झिन्छन्।

सुरुमा उनले कालिमाटीको होटलमा काम गरे। तलब चाँही पाँच सय रुपैयाँ। त्यतिबेलाको तलब र अहिलेको तलबमा भुवनलाई आकाश जमिनको फरक लाग्ने रहेछ।

उनी अगाडि भन्छन्, ‘पहिला र अहिले निकै फरक छ होटलमा अहिले त सुरुमै ४-५ हजार दिनुपर्छ। मैले काम गर्दा जम्मा पाँच सय तलब थियो। समय फेरिसक्यो अहिले त!’

पाँच वर्ष होटल लाइनमा काम गर्दा उनले तीन वटा होटल फेरे, त्यो पनि काठमाडौं र चिवतनमा। तलब तीन-तीन महिनामा दिने रहेछन्। तलब आउनेबित्तिकै आवश्यक सामान लिएर परिवार भेट्न घर पुगिहाल्थे उनी।

होटलपछि उनले रिक्सा चलाउने काम गरे। दिनको १० रुपैयाँ तिरेर नारायणघाटमा रिक्सा चलाए। त्यो समयमा नारायणी नदीको पुल थिएन। ढुंगामा राखेर गाडी तार्ने गरेको सम्झन्छन् भुवन।

‘मैले रिक्सा चलाउँदा, नारायणी नदीमा पुल नै थिएन। गाडी त ढुंगामा राखेर तार्ने गर्थे त्यो बेला। साल चाहिँ मलाई याद छैन। हामी चाहिँ नारायणघाट बजारभित्र मात्रै रिक्सा चलाउँथ्यो।’

...अनि काटुन संकलन गर्न थालेँ
भुवनले जीवनमा धेरै काम गरे। तर, उनको दुःख भने कहिले पार लागेन। बुढेसकालमा बक्स कार्टुन बटुलेर जिउनु पर्दा चाँही ग्लानी हुने रहेछ।

उनी भन्छन्, ‘हुन त यो काममा पनि पैसा नभएको होइन। तर, के गर्नु अरुले हेर्दा खातेले गर्ने काम जस्तै छ। मेरो त भाग्य नै यस्तै रहेछ।’

बक्स कार्टुन संकलन गर्ने काम पनि पहिलाको हेरी निकै कम भएको उनी अनुभव गर्छन्। पहिला-पहिला उनले दिनमै १५-२० किलो संकलन गर्थेँ। अहिले अलि खटेर गरे पनि बढीमा १० किलो मात्र हुन्छ रे।

बक्स कार्टुन संकलनमा कमी आउनुमा उनलाई मान्छेको संख्या बढेकोले जस्तो लाग्ने रहेछ।

‘अहिले त मान्छेपनि धेरै भए। पहिला-पहिला हुन्थ्यो, त्यही १५-२० किलो जम्मा पार्थे मैले नै। उतिबेला बाल्टिनी फुटेको ३० रुपैयाँ किलोसम्म बेचेको थिएँ मैले। त्यो बेला कार्टुन चाँही अलि सस्तो थियो दुई रुपैयाँ किलोमा मात्रै बेच्थे।’

‘अब जान्छु है’, उनले उकेराकर्मीलाई भने।

यतिका दौरानमा उनले अरुले लगाउन भनेर दिएको लुगा समेत सिलाइभ्याए अनि सेतो पुलतिरको खोला किनारै किनार हिँडे।

पुष ९, २०८१ मंगलबार ११:२१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।