एनपीएल सकिएपछि पारसको तर्क : बेटिङको सरोगेट विज्ञापन संवेदनशील विषय, तर बाध्यता
काठमाडौं : नेपाल क्रिकेट संघका सचिव पारस खड्काले सट्टेबाजी कम्पनीहरूको सरोगेट ब्रान्डको प्रचार गर्नु बाध्यता भएको तर्क गरेका छन्।
कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा खड्काले सरोगेट कम्पनीहरूबाट खेलकुदमा लगानी आइरहेको भन्दै लगानी जुटाउनका लागि पनि त्यस्ता कम्पनीहरूको प्रचार गर्नुपर्ने बाध्यता रहेको बताएका हुन्।
उनले सरोगेट विज्ञापनबाट खेलकुदमा लगानी आइरहेकोले त्यसलाई नरोक्न आग्रह गर्दै त्यसो हुन नसके सोहीअनुसारको लगानी सरकारले गनुपर्ने बताए।
उनले भने, ‘बेटिङलाई हामीले कहिले पनि प्रोमोट गरेका छैनौं। सरोगेट कम्पनीबाट खेलकुदमा इन्भेष्टमेन्ट आइरहेको छ। कि सरकारले लगानी गरिदिनुपर्यो। सरकारले यति धेरै बजेट दियोस् कि हामीले सरोगेरी ब्रान्डको प्रचार नै गर्न नपरोस्।’
यसअघि मदिरा ब्रान्डले खेलकुदमा गर्ने लगानी अहिले शून्य भएको भन्दै उनले त्यसलाई समेत खुला गर्नुपर्ने संकेत पनि गरे।
उनले थपे, ‘नयाँ नियमका कारण खेलकुदमा लगानी आउने आधारहरु रोकिएका छन्। यसअघि अल्कोहल सरोगेसी नेपालको खेल उद्योगको एउटा महत्वपूर्ण पक्ष थियो। रुस्लान कप, खुकुरी कप लगाएका खेल गतिविधि हुन्थे।’
खड्काले कानून निर्माताहरूलाई लगानी आउने माध्यम नरोक्न र अध्ययन गरेर मात्रै कानून बनाउन समेत आग्रह गरेका छन्।
उनले अगाडि भने, ‘अहिले सबैभन्दा कम बजेट भएको संस्थामा सरोगेट ब्रान्डहरु पनि प्रयोग गर्न नपाउने प्रावधानहरु आएका छन्। कानूननिर्माताहरूले अलिकति अध्ययन गरेर कुन क्षेत्रमा लगानी गर्दा रिजल्ट ल्याउन सकिन्छ भन्ने थाहा पाउनुपर्छ।’
सरोगेट कमम्पनीको विज्ञापन विगतको पाँच/सात वर्षदेखि नेपालको खेलकुद क्षेत्रमा प्रयोग भइरहेको भन्दै उनले आईसीसी र एसीसीले आयोजना गर्ने प्रतियोगिताहरुमा पनि सरोगेट ब्रान्डहरू प्रयोग गरिरहेको तर्क गरे।
यसका अलावा उनले नेपालको कानूनमा सरोगेट ब्रान्डको प्रचार गर्न नपाउने भन्नेबारेमा नलेखिएको समेत दाबी गरे।
उनले भने, ‘आज हामीले देशको ऐनकानून हेर्यौं भने पनि सरोगेट ब्रान्डको प्रचार गर्न पाउने वा नपाउने भन्नेबारेमा तोकेरै भनिएको छैन।’
संसारभरको लिगमा सरोगेट ब्रान्डको प्रचार हुने उदाहरण दिँदै उनले सरोगेट विज्ञापनमा नेपालमा हुने लगानीको अनुगमन गर्न भने आग्रह गरे।
‘सरोगेट एडबाट लगानी आउने मोनिटरिङ प्रोसेस बनाऔं न! यो संवेदनशील विषय पनि हो। कि राज्यले यसको कानून निर्धारण गरिदिनुपर्यो या राज्यले लगानी आउने माध्यम चाहिँ बनाइदिनुपर्यो।’
गत शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा वुल्फ७७७ नामक सट्टेबाजी ब्रान्डको सरोगेट कम्पनी वुल्फ७७७न्यूजको खुलमखुला प्रचार भएको थियो। यसबारेमा उकेराले निरन्तर समाचार प्रकाशित गर्दै आइरहेको छ।
सम्बन्धित समाचार:
पुष ९, २०८१ मंगलबार १०:०४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।