रुसी प्रवक्ताले भने- सिरियाका पूर्वराष्ट्रपतिको डिभोर्सको खबर झुटो हो

रुसी प्रवक्ताले भने- सिरियाका पूर्वराष्ट्रपतिको डिभोर्सको खबर झुटो हो

एजेन्सी : रुसी प्रवक्ता दिमित्री पेस्कोभले सिरियाका पूर्व राष्ट्रपति बसर अल-असदकी बेलायती मूलकी श्रीमतीले आफूसँग सम्बन्धविच्छेद गर्न चाहेको समाचारलाई अस्वीकार गरेका छन्।

यसअघि अस्मा अल असदले आफ्नो वैवाहिक सम्बन्ध तोडेर रुस छोड्न चाहेको समाचार विश्वभर फैलिएपछि रुसी प्रवक्ता पेस्कोभले यस्तो बताएका हुन्।

पत्रकार सम्मेलनमा यी रिपोर्टहरूको बारेमा सोध्दा दिमित्री पेस्कोभले भने, ‘होइन, यो समाचारमा सत्यता छैन।’

उनले असदलाई मस्को छाड्न प्रतिबन्ध लगाइने र उनको सम्पत्ति जफत गरिने समाचारलाई पनि अस्वीकार गरे।

तर टर्कीको मिडिया रिपोर्टअनुसार असदको परिवार रूसको राजधानी, मस्कोमा गम्भीर प्रतिबन्धहरू अन्तर्गत बाँचिरहेका छन्।

सोही रिपोर्टमा सिरियाकी पूर्व प्रथम महिलाले सम्बन्धविच्छेदको लागि निवेदन दिएका थिए र लन्डन फर्कन चाहको उल्लेख थियो।

पूर्व सिरियाली राष्ट्रपति बसर अल-असदकी पत्नी अस्मा अल-असद एक सिरियाली-बेलायती नागरिक हुन्।

तर बेलायतका विदेश सचिवले यसअघि नै उनलाई बेलायत फर्कन अनुमति नदिने बताएकी थिइन्।

पुष ९, २०८१ मंगलबार ०७:३१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।