डिआइजी र असईको दोस्ती : कार्यालय सहयोगीहुँदै अपराधमा साझेदारी
काठमाडौँ : नेपाल प्रहरीमा कार्यरत रहेको बेलामा जब छविलाल जोशी एसएसपीको रूपमा तत्कालीन काठमाडौँ प्रहरी परिसरको प्रमुखमा सरुवा भए उनको शैलीबारे जानकार एक वरिष्ठ प्रहरी अधिकारीले असन्तुष्टि जनाउँदै टिप्पणी गरेका थिए ‘छवि नै नभएकालाई काठमाडौँको सुरक्षाको जिम्मा दिएर गृहमन्त्रीले कस्तो छवि बनाउन लागेका होलान्।’
छविलालको आर्थिक अनुशासनमा कमजोर छवि भएकैले तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उनलाई काठमाडौँको सुरक्षाको कमान्ड दिन मानेका थिएनन्। तर तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको नजरमा जोशी अब्बल प्रहरी ठहरिए। एसएसपी र डिआइजी सरुवाको अधिकार गृहमन्त्रीलाई थियो। उनले छविलाललाई काठमाडौँको सुरक्षाको जिम्मेवारी दिए।
२०७४ साउनसम्म उनी काठमाडौँको प्रहरी प्रमुखहुँदा नाम सार्थक गर्न सकेनन्। सङ्गठनमा उनको जस्तो छवि थियो एक वर्ष काठमाडौँको सुरक्षा त्यही अनुसार ल्याङफ्याङ रूपमा चल्यो। साउनमा उनी डिआइजीमा बढुवा भए। २०७५ असार ३० मा डिआइजीकै रूपमा अवकाश पाए।
अवकाश समयमा एकाएक उनको नाम जोडियो पिरामिड शैलीमा हुने विवादित खरिद प्रणालीमा। गोल्डक्वेस्ट, युनिटीहुँदै हर्बोबाट बदनाम जीवी राइको साझेदारका रूपमा देखा परेका उनी एकाएक गोर्खा मिडिया प्रालीको ग्यालेक्सी टेलिभिजनको उपाध्यक्षको रूपमा देखिए।
सङ्गठनमा काम गर्दा शङ्कास्पद रूपमा आर्थिक उपार्जन गरेका उनको उठबस उच्च तहका अधिकारीहरूसँग देखिन थाल्यो। बिचमा एकाएक छायामा परेका उनी पुन सहकारी ठगीको प्रकरण सुरु भएसँगै चर्चामा आइहाले।
प्रहरी सङ्गठन छाडेको ६ वर्षका उनले अपराध अनुसन्धानको आरोपमा अरूलाई जुन हिरासतमा राख्थे त्यही हिरासतमा पुगे। विभिन्न सहकारीको रकम दुरुपयोग गरेर गोर्खा मिडियामा लगेको आरोपसँगै उनीमाथि सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा आइतबार जिल्ला अदालत कास्कीमा अभियोग पत्र दायर भयो। सोमबारबाट बयान सुरु भयो।
कास्की मात्रै हैन, रवि लामिछाने जस्तै उनी सहकारी ठगीमा संलग्न रहेको अभियोग अन्य पाँच जिल्लामा विचाराधीन छ नै। अन्य जिल्लामा पूरक अभियोग पत्रको तयारी भइरहेको देखिन्छ। ती सहकारीको अनुसन्धानपछि रवि र जीवी नजोडिएको अर्को नयाँ सहकारीको रकम अपचलनमा समेत उनी छानबिनमा पर्ने निश्चित छ।
आइतबार दायर भएको अभियोग पत्रमा उनको आर्थिक गतिविधिको अनुसन्धानकोक्रममा बचतकर्ताको रकम ठगी भएको दर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा समेत उनी जोडिएको खुलाएको छ।
अभियोग पत्रमा दर्शन सहकारी र त्यसका सञ्चालकसँग छविलाल र उनको परिवारका सदस्यहरूबिच भएको कारोबार शङ्कास्पद रहेको भन्दै त्यसबारे अलग्गै अनुसन्धान हुने उल्लेख छ।
‘छविलाल जोशीको बैङ्क कारोबार विवरण, निजको नाममा मोरङ बबियाविर्ता स्थित जग्गा खरिद तथा उक्त जग्गा धितो राखी कर्जा प्रवाह हुँदा भएको कारोबार, दर्शन बचत तथा ऋण सहकारी संस्था उक्त सहकारी संस्थाका सञ्चालक दिनेश दर्शनधारी, प्रबन्धकहरू सुवर्ण महर्जन र पूजन तुलाधर सिकर्मी, स्वमाइल कलेक्सन प्राली र इच्छा बहादुर वाग्लेबीच भएको कारोबारहरू अस्वाभाविक एवम् शङ्कास्पद देखिएको हुँदा उल्लिखित कारोबारहरूको सम्बन्धमा थप अनुसन्धान हुने ब्यहोरा अनुरोध छ’ अभियोग पत्रमा भनिएको छ।
अवकाशपछि नेटवर्क फिल्म हुँदै क्यासिनोसम्म
प्रहरी सङ्गठनमै संलग्न रहँदा आर्थिक अनुशासनमा कमजोर रहेका छविलालले जब अवकाश पाए त्यसपछि उनी नेटवर्किङ व्यवसाय, सहकारी, मिडियाहुँदै मिनी क्यासिनोसम्ममा संलग्न भए। जीवीको नेचर हर्ब्समा १० लाखको १० प्रतिशत सेयर लिएर नेटवर्किङ व्यवसायमा छिरेका उनी गोर्खा मिडियामा ५० प्रतिशत सेयर लिएर मिडियामा लागे।
यो बिचमा उनी काठमाडौँको कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीको सम्पर्कमा पुगे। दर्शनधारीसँग मिलेर उनले सहकारीको रकम विभिन्न आवरणमा लिए नै विभिन्न स्थानका जग्गाहरू समेत आफू अनि आफ्नो परिवारको नाममा ल्याउन सक्रिय भए।
यति मात्रै हो र, दर्शनधारीसँग मिलेर उनी फिल्म निर्माणमा समेत लागे। अभिनेता शिव श्रेष्ठ प्रस्तुतिकर्ता भएर शिवका छोरा शक्ति श्रेष्ठ अनि करिश्मा मानन्धरकी छोरी कविता मानन्धरलाई डेब्यु गराउन ‘एउटा यस्तो प्रेम कहानी’ फिल्म बनाए। २०७७ मा रिलिज भएको फिल्म डुब्यो। यसका निर्मातामध्येका एक थिए दिनेश दर्शनधारी।
यो बिचमा दर्शन सहकारीमा रहेको बचतकर्ताहरूको डेढ अर्ब जोखिममा परेको खुल्यो। दिनेश सम्पर्कहीन भए। उता गोर्खा मिडियामा विभिन्न सहकारीबाट गएको रकमको अनुसन्धानकोक्रममा दर्शन सहकारीको रकम अपचलनमा छविलाल र उनको परिवारका सदस्य नै जोडिए।
छविले काठमाडौँको मच्छेगाउँमा ८ आना एक पैसा जग्गा दिनेशको श्रीमती सरस्वती दर्शनधारीको नामबाट छोरा रोचक जोशीको नाममा पास गरेको खुल्यो। मोरङमा दिनेशको नाममा अलग अलग कित्तामा रहेको ६ आना १० पैसा, १५ आना,१६ आना, एक रोपनी जग्गा छविलालको नाममा पास भयो।
अनि मोरगंका जग्गाहरू धितो राखेर दर्शन सहकारीबाट छविलालको नाममा १० करोड ऋण निकालियो। यतिमै मात्रै रोकिएन उनको खेल। एकाएक उनी मेगा मिलियन क्यासिनो प्रालिसँग जोडिए। प्रारम्भमा यो मिनी क्यासिनो खिलबहादुर खनालको नाममा दर्ता थियो २०७४मा त्यसमा प्रहरी सङ्गठनमा प्रहरी जवानको रूपमा परिचय भएका रामबहादुर खनाललाई आफ्नो अवकाशभन्दा दुई दिन अगाडि असइबाट राजीनामा गराएर क्यासिनोमा भित्र्याए।
खनालले सुरक्षा गार्डको रूपमा क्यासिनोमा काम गरेको बयानमा दाबी गरेका छन्। तर प्रहरी अनुसन्धानमा उनी क्यासिनो सञ्चालक समितिको आमन्त्रित सदस्यहुँदै आफ्नै हस्ताक्षरमा क्यासिनोको बैङ्क खाता सञ्चालन गर्ने हैसियतमा पुगेको देखिन्छ।
यो मिनी क्यासिनो पहिला स्वमाइल कलेक्सन प्रालीको नाममा दर्ता भएर पछि नाम बदलिएको थियो। छविलाल २०७९ मा मेगा मिलेनियमको सञ्चालक समितिको बैठकमा आमन्त्रित सदस्यको रूपमा उपस्थित भए। त्यही बैठकले दिनेश दर्शनधारीको छोरा देलबिस दर्शनकारीलाई अध्यक्ष बनाएर उनको हस्ताक्षरमा बैङ्क खाता सञ्चालन गर्न निर्णय गर्यो। यी सबै खेलमा छविलालको भूमिका मुख्य देखिन्छ।
पछिल्लो समय छविलालका छोरा रोचकले आफ्नै नाममा अर्को क्यासिनो दर्ता गरिसकेका थिए, गोल्डेन फिङगर गेमिङ जोन। टोखा ठेगाना राखिएको सो कम्पनीले २०७८/७९ मा हिमाल वाटर पार्क एन्ड भिलेज होटेल प्रालिमा पर्सामा मिनी क्यासिनो सञ्चालन गर्न अनुमति पाएको थियो। कम्पनीमा रोचकसँगै सुजन केसी र गोकर्ण लामिछाने लगानीकर्ता देखिन्छन्।
असई र डिआइजीको रहस्यमय दोस्ती
छविलालसँगै जोडिएका अर्का पात्र रामबहादुर खनाल। यी दुवैको सम्बन्धले प्रहरी संगठनमा उच्चतहका अधिकृतले एकै कर्मचारीलाई लामो समय सहयोगीको रुपमा पाउँदा कुन हदसम्म दुरुपयोग गर्न सक्छन् भन्ने उदाहरण पनि हो यी दुवैको सम्बन्ध।
संगठनमै रहँदा सहयोगीको रुपमा उच्चतहका अधिकृतले सहयोगी लिएर उठ्तीपुठ्तीमा खटाउने गरेको खुलेकै थियो।संगठनमा रहँदा सीमित यो सम्बन्ध अवकासपछिसम्म कायम रहँदा कुन तहसम्म पुग्ने रहेछ यी दुवैको सम्बन्ध र नतिजाले देखाउँछ। अब यीनका सम्बन्धमै केन्द्रित हौँ।
खनालको बयान अनुसार छविलाल प्रहरीको एक नम्बर गणको प्रमुखहुँदा २०५८ मा उनी त्यहाँ प्रहरी जवानको रूपमा कार्यरत थिए। त्यसपछि छवि जहाँ सरुवा भएर जान्थे उनलाई सँगै लैजान्थे। छवि बढुवा हुँदै डीआइजी हुँदा उनी असई भइसकेका थिए। उनी छविकै घरमा बस्थे।
आफ्नो अवकाश हुने दिन नजिकै आएपछि छविलालले सङ्गठनमा राम्रो कमाइ हुँदैन भनेर राजीनामा दिन भनेपछि आफूले राजीनामा दिएको खनालको दाबी छ। छविको अवकाश २०७५ असार ३० मा भएको थियो। खनालले असार २८ मा राजीनामा दिएका थिए।
त्यसपछि खनालको प्रवेश हुन्छ नेचर हर्ब्समा। नेचर हर्ब्समा छविलालको नाममा रहेको १० प्रतिशत शेयर खनालको नाममा नामसारी हुन्छ १० लाखमा। अनि खनाल मेगा मिलियन क्यासिनो प्रालिमा जोडिन्छन्। मासिक ४० हजार पारिश्रमिकमा सुरक्षा गार्डको रूपमा क्यासिनोमा जोडिएको खनालले बयानमा दाबी गरेका छन्। तर क्यासिनोमा संलग्न भएपछि बढेको उनको आर्थिक हैसियतले त्यो देखाउँदैन।
उनी सुरक्षा गार्ड भएको भए क्यासिनो चलाउने प्रालीको सञ्चालक समितिको आमन्त्रित सदस्यहुँदै हस्ताक्षरमा समेत बैङ्क खाता सञ्चालन गर्ने हैसियतमा कसरी पुग्थे? उनको भूमिका, छविलालको प्रवेश र अध्यक्ष चयनको शृङ्खलाले उनी छविलालको योजना अनुसार क्यासिनो व्यवस्थापनमा खटिएको देखिन्छ।
प्रहरीले उनको आर्थिक कारोबारको अनुसन्धान गरेर १४ करोडको सम्पत्ति विवरण सङ्कलन गरेको छ। खनालको नाममा नविल बैङ्कमा रहेको खातामा २०२२ देखि २०२४ को बिचमा २ करोड ७७ लाख जम्मा भएको देखिन्छ। गरिमा विकास बैङ्क लिमिटेडको खातामा २०१९ देखि २०२२ सम्मको १९ महिनाको अवधिमा ५ करोड ५० लाख कारोबार भएको देखिन्छ।
उनको नाममा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कमा रहेको खातामा २०१४ देखि २०२४ सम्म ३ करोड ५ लाख जम्मा भएको र त्यति नै रकम भुक्तानी भएको देखिन्छ। खनालको यही गतिविधिले प्रहरी सँगठनमैहुँदा उनी छविलालको विश्वासपात्र बनेर आर्थिक व्यवस्थापनमा संलग्न हुने गरेको देखिन्छ।
छविलाल जता जान्छन् खनाल त्यतै जाने गरेको देखिए पनि प्रहरी बयानमा भने उनले सङ्गठनमा हुँदा चिनेको तर अन्य कुनै कारोबार नभएको दाबी गरेका छन्। तर अभियोग पत्रमै समेटिएको तथ्यले त्यो देखाउँदैन। यी दुबैबीच निकट सम्बन्ध देखिन्छ।
अभियोग पत्रमै समेटिएको खनालसँगको नाताले बहिनी पर्ने देवीका विष्टले उनी डिआइजी छविलालको नक्सालमा रहेको घरमा बस्ने गरेको खुलाएकी छिन्। २०८१ को दशैतिर रोचकले खनाललाई फोन गरेर तपाईँ पनि १० प्रतिशतमा परेकाले प्रहरीकोमा हाजिर नहुने भनेको उनको दाबी छ।
उता छविलाल र उनको परिवारको नाममा ७४ करोड ३४ लाख सम्पत्ति पहिल्याएको प्रहरीले उनी, उनको श्रीमती पद्मा र छोरा रोचक तीनै जनालाई सम्पत्ति शुद्धीकरणमा प्रतिवादी बनाएको छ।
पुष ८, २०८१ सोमबार २२:४४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।