उकेरा टप फाइभ : मधेशका स्वास्थ्यमन्त्री सिंहको नीतिगत भ्रष्टाचारदेखि भक्तपुरमा बाबुछोराको 'हत्या'सम्म

उकेरा टप फाइभ : मधेशका स्वास्थ्यमन्त्री सिंहको नीतिगत भ्रष्टाचारदेखि भक्तपुरमा बाबुछोराको 'हत्या'सम्म

काठमाडौं : आज बसेको सार्वजनिक लेखा समितिकाे बैठकमा माओवादी केन्द्रले समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग्यो। माओवादीका सांसद अमनलाल मोदीले सहकारी ठगीमा समिति सभापतिमाथि प्रश्न उठेको भन्दै मार्गप्रशस्त गर्न आग्रह गरे। लेखा समितिलाई सक्रिय र प्रभावकारी बनाउनका लागि समेत सत्ता पक्षको नेतृत्व लेखा समितिमा हुन नहुने तर्क गर्दै उनले लेखा समिति आफूहरूलाई दिनुपर्ने बताए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बित भएको छ। सम्पत्ति शुद्धीकरण कानुन अनुसार मुद्दा दायर भएमा मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिने प्रावधान अनुसार उनको पद निलम्बित भएको हो।

नेपाल प्रिमियर लिगको फाइनल खेलपछि प्रतिस्पर्धी टिमका समर्थकमाथि अभद्र व्यवहार गरेको आरोपमा २१ वर्षीय अशोक साउद र १९ वर्षीय गणेश साउदलाई पक्राउ गरेको छ। उनीहरूले शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एनपीएल फाइनलमा जनकपुर बोल्टस र सुदुरपश्चिम रोयलबीचको फाइनल खेलपछि अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भभाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिहरूलाई अभद्र व्यवहार गरेको आरोप छ। 

सहकारी ठगी आरोपमा चन्द्रागिरि नगरपालिका-१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्। ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए। उनी उक्त सहकारीका कोषाध्यक्ष हुन्। उनी अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार थिए।   

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको छ। आज बसेको पार्टी सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। रास्वपामा डा. स्वर्णिम वाग्ले र अर्याल उपसभापति छन्। तर, रास्वपा सभापति रवि लामिछानेकै सिफारिसमा अर्याललाई कार्यवाहक तोकिएको झाले बताए।

सिरियाका पूर्व राष्ट्रपति बसर अल-असदकी पत्नी अस्मा अल-असदले सम्बन्धविच्छेदको लागि निवेदन दिएकी छन्। इजरायली अखबार जेरुसेलम पोस्टका अनुसार सिरियामा सत्ताबाट हटाइएकी असदकी पत्नी अस्मा रुसमा बस्दा खुसी छैनन्। उनी बेलायत जाने योजनामा ​​छिन्। अस्माले रुसी अदालतमा देश छाड्न पनि निवेदन दिएकी छिन्। अस्माले सन् २००० डिसेम्बरमा असदसँग विवाह गरेकी थिइन्। उनीसँग बेलायत र सिरियाको दोहोरो नागरिकता छ।

अब उकेरामा आज प्रकाशित टप पाँच समाचार 

गोर्खा मिडिया अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा जीवी राईसहितको समूह संलग्न रहेको सहकारीहरूसँगै अर्को नयाँ सहकारीबाट समेत अवैध रूपमा रकम लगानी रहेको विवरण अभियोग पत्रमै समेटिएको छ। तर सो सहकारीबारे विस्तृत अनुसन्धानै गरिएन। नयाँ सहकारी हो आइएमइ ग्रुप अन्तर्गतको आइएमइ कोअपरेटिभ लिमिटेड। यस अगाडि गोर्खा मिडियामा सुप्रिम सहकारी, सुर्यदर्शन सहकारी, सानोपाइला, स्वर्णलक्ष्मी र समानता सहकारीबाट अवैध रूपमा रकम गएको सार्वजनिक भएको थियो। त्यसैको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान सक्काएर आइतबार अभियोग पत्र दर्ता भयो।
पूरा समाचार: गोर्खा मिडियामा आइएमइ सहकारीबाट डेढ करोड रकम गएको विवरण अभियोग पत्रमै,  तर प्रहरीले विस्तृत अनुसन्धानै गरेन

मधेस प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधन सिंहले मन्त्रालयको कार्यविधिमा नै स्पेसिफिकेसन राखेर निश्चित कम्पनीले मात्रै स्वास्थ्य उपकरणको ठेक्का पाउने गरी नीतिगत भ्रष्टाचार गरेको खुलासा भएपछि कार्यविधि खारेज गरेर मार्गनिर्देशन बनाएका छन्। कार्यविधिमै निश्चित उत्पादनको मापदण्ड मिल्ने गरी स्पेसिफिकेसन राखेर उनले नीतिगत रूपमै स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचारको तयारी गरेका थिए। उकेराले यसबारे खुलासा गरेसँगै मन्त्रालयले कार्यविधि अनुसार अगाडि बढेको खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिँदै कार्यविधि खारेज गरेको थियो। 
पूरा समाचार: मधेस प्रदेश स्वास्थ्यमन्त्री सिंहले नीतिगत भ्रष्टाचारको पोल खुलेपछि कार्यविधिको सट्टा बनाए मार्गनिर्देशन

राष्ट्रिय खेलकुद परिषदले मंसिर २ देखि ९ सम्म कर्णालीमा गर्ने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आवश्यक तयारी नपुगेको भन्दै मिति सारेको छ। मंसिर २१ मा बसेको परिषदको बैठकले निर्धारित समयमा स्थगित गर्दै उक्त प्रतियोगिता यही चैत २३ देखि ३० सम्म गर्ने निर्णय गरेको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएपछि सुर्खेत रंगशालासहित अन्य जिल्लामासमेत खेलकुदका पूर्वाधार बनिरहेका छन्। 
पूरा समाचार: दशौं राष्ट्रिय खेलकुदको मिति सरेर चैत २३ मा पुग्यो, समयमै पूर्वाधार तयार हुने दाबी

 

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत फेला परे। ५६ वर्षीय आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित भाडाको घरमा मृत फेला परे। उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको छ। शवमा चोटपटक भेटिएको र बाहिरबाट ताला लगाएकाले उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 
पूरा समाचार: भक्तपुरमा कान्छा छोरासहित मृत भेटिए हुलाकका कर्मचारी, अघिल्लो दिन सँगै सुतेर 'भागेका' जेठा छोरातिर प्रहरीको शंका

बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिना र उनको परिवारले रूस समर्थित आणविक उर्जा संयन्त्रमा कथित पाँच अर्ब डलरको घोटाला गरेको भन्दै त्यसको अनुसन्धान सुरू गरेको भ्रष्टाचार विरोधी आयोगले जनाएको छ। अगस्टमा क्रान्तिद्वारा पदच्युत भई भारत भागेकी पूर्व प्रधानमन्त्री हसिनाका साथै उनका छोरा सजीब वाजेद जोय र भतिजी टुलिप सिद्दिक अनुसन्धानको दायरामा परेका छन्। सिद्दिक बेलायती सांसद र सरकारी मन्त्री छन्। 
पूरा समाचार: बङ्गलादेशमा हसिनाको परिवारले पाँच अर्ब डलर भ्रष्टाचार गरेको आरोपमा अनुसन्धान सुरू

पुष ८, २०८१ सोमबार २१:४३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।