बङ्गलादेशमा हसिनाको परिवारले पाँच अर्ब डलर भ्रष्टाचार गरेको आरोपमा अनुसन्धान सुरू
एजेन्सी : बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिना र उनको परिवारले रूस समर्थित आणविक उर्जा संयन्त्रमा कथित पाँच अर्ब डलरको घोटाला गरेको भन्दै त्यसको अनुसन्धान सुरू गरेको भ्रष्टाचार विरोधी आयोगले जनाएको छ।
अगस्टमा क्रान्तिद्वारा पदच्युत भई भारत भागेकी पूर्व प्रधानमन्त्री हसिनाका साथै उनका छोरा सजीब वाजेद जोय र भतिजी टुलिप सिद्दिक अनुसन्धानको दायरामा परेका छन्। सिद्दिक बेलायती सांसद र सरकारी मन्त्री छन्।
हसिनाका राजनीतिक प्रतिद्वन्द्वी नेसनल डेमोक्रेटिक मुभमेन्ट पार्टीका अध्यक्ष बबी हजाजले उच्च अदालतमा अनुसन्धान गर्न माग गर्दै दायर गरेको रिटमा आरोप लगाइएको थियो। 'हामी हाम्रो अदालतमार्फत न्याय खोज्छौं, हजाजले सोमबार एएफपीलाई भने।
दक्षिण एसियाली यस देशको पहिलो प्रमुख आरोपहरू १२ अर्ब ६५ करोड डलरको रूपपुर आणविक संयन्त्रको वित्तीयकरणसँग जोडिएको छ। यसमा मस्कोले ९० प्रतिशत ऋण लगानी गरेको छ।
हसिना र परिवारका सदस्यहरूले ‘मलेसियाका विभिन्न अपतटीय बैंक खाता’ मार्फत रूपपुर संयन्त्रबाट ‘पाँच अर्ब डलर’ दुरुपयोग गरेको आरोपबारे अनुसन्धान सुरू गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।
आयोगले आफ्नो अनुसन्धानमा संयन्त्रको ‘अत्यधिक मूल्यको निर्माणसँग सम्बन्धित शङ्कास्पद खरिद अभ्यासहरू’को अनुसन्धान गरिरहेको जनाएको छ।
'किकब्याक (कसैलाई उनीहरूको मद्दतका लागि पुरस्कारका रूपमा दिइने घुस वा भुक्तानी), कुव्यवस्थापन, मनी लन्ड्रिङ र शक्तिको सम्भावित दुरुपयोगको दाबीले परियोजनाको अखण्डता र सार्वजनिक कोषको प्रयोगको बारेमा महत्त्वपूर्ण चिन्ताहरू खडा गर्दछ, आयोगले भन्यो।
भ्रष्टाचारका आरोपहरूमा घरविहीनहरूका लागि सरकारी भवन योजनाबाट चोरी पनि समावेश छ।
७७ वर्षीया हसिना अगस्ट ५ मा हेलिकप्टरबाट भागेर भारत निर्वासनमा गइन्।
बेलायती प्रधानमन्त्री कार्यालयबाट आएको विज्ञप्तिअनुसार सिद्दीकले उनलाई घोटालामा संलग्न भएको आरोप लगाइएको ‘दावीमा कुनै संलग्नता अस्वीकार’ गरेका छन्।
पुष ८, २०८१ सोमबार २१:१४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।