मधेस प्रदेश स्वास्थ्यमन्त्री सिंहले नीतिगत भ्रष्टाचारको पोल खुलेपछि कार्यविधिको सट्टा बनाए मार्गनिर्देशन

मधेस प्रदेश स्वास्थ्यमन्त्री सिंहले नीतिगत भ्रष्टाचारको पोल खुलेपछि कार्यविधिको सट्टा बनाए मार्गनिर्देशन

काठमाडौँ : मधेस प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधन सिंहले मन्त्रालयको कार्यविधिमा नै स्पेसिफिकेसन राखेर निश्चित कम्पनीले मात्रै स्वास्थ्य उपकरणको ठेक्का पाउने गरी नीतिगत भ्रष्टाचार गरेको खुलासा भएपछि कार्यविधि खारेज गरेर मार्गनिर्देशन बनाएका छन्। कार्यविधिमै निश्चित उत्पादनको मापदण्ड मिल्ने गरी स्पेसिफिकेसन राखेर उनले नीतिगत रूपमै स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचारको तयारी गरेका थिए।

उकेराले यसबारे खुलासा गरेसँगै मन्त्रालयले कार्यविधि अनुसार अगाडि बढेको खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिँदै कार्यविधि खारेज गरेको थियो। अहिले मन्त्रालयले मार्गनिर्देशन बनाएर खरिद प्रक्रिया खुलाएको छ।

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ को स्वास्थ्य मन्त्रालयको वार्षिक क्रियाकलापहरु सञ्चालन कार्यविधिमै कस्तो मेसिन किन्ने भन्ने विवरण राखेर लक्ड गर्न सम्भव भएन। त्यसैले कार्यविधिको सट्टामा मन्त्रालयले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक क्रियाकलापहरूको सञ्चालन मार्गनिर्देशन बनाएको देखिन्छ।

भ्रष्टाचारको खुलासापछि मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्यतर्फका प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलगायतका निकायलाई पत्र पठाउँदै खरिद प्रक्रिया अगाडि नबढाउन र प्रक्रिया अगाडि बढेको भए रद्द गर्न निर्देशन समेत दिएको थियो। तर, अब मार्गनिर्देशन बनेसँगै पुनः खरिदका लागि बाटो खुलेको छ।

कार्यविधि बनाएको भए प्रदेश मन्त्रीपरिषद्ले अनुमोदन गर्नुपर्थ्यो। मन्त्री सिंह त्यता नलागी मन्त्रीस्तरिय निर्णय गरे पुग्ने मार्गनिर्देशन निर्माणमा लागे र बनाए पनि। मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. सञ्जय ठाकुर ‘मन्त्रीले कार्यविधि बनाएर अगाडि बढ्दा’ समय लाग्ने भएकाले मार्गनिर्देशन बनाएको दाबी गर्छन्।

प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूसँगको छलफल तथा समन्वयपछि कार्यविधिको सट्टा मार्गदर्शन बनाएका प्रदेश स्वास्थ्य सचिव डा. ठाकुरको दाबी छ। मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा निर्देशक डा. राजीव झा छन्।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१-०८२ को वार्षिक क्रियाकलापहरूको सञ्चालन कार्यविधिको पेज नम्बर ५२ देखि ७४ सम्म प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र अन्तर्गतका १७ वटा क्रियाकलापबारे उल्लेख थिए। त्यसमा मेसिन, औजार, उपकरण तथा स्वास्थ्य सामग्री खरिद र व्यवस्थापनका विषय उल्लेख थिए।

कार्यविधिमा नै खरिद गरिने सामग्रीको बुँदाहरूमा निश्चित कम्पनीलाई मात्रै टेन्डर पर्ने गरी स्पेसिफिकेसन नै लक्ड गरिएको थियो। तर, नीतिगत भ्रष्टाचारबाट बच्न मन्त्री सिंहले मार्गनिर्देशन बनाएर स्वीकृत गरी खरिद प्रक्रिया अगाडि बढाउने रणनीति लिएका हुन्। मार्ग निर्देशनमा राखिएको खरिद गर्ने भन्ने सामग्रीको विवरण पनि शङ्कारहित भने देखिँदैन।

सम्बन्धित समाचार

पुष ८, २०८१ सोमबार २०:५४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।