बाबुछोराको 'हत्या' : तालिमप्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान हुँदै, सम्पर्कविहीन जेठा छोराको पर्खाइमा प्रहरी
भक्तपुर : सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल घर भई जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भाडाको घरको कोठामा मृत भेटिएका थिए।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीका अनुसार दुई बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए पनि सँगै बस्ने जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन्।
'दुवै कोठाको बाहिर ताल्चा लगाइएको छ, भित्र दुई जना मृत अवस्थामा भेटिएका छन्। मृतक दुवैको टाउको र शरीरका अङ्गमा चोट लागेकाले घटना हत्याका कारण भएको हुनसक्ने आधारमा हामीले अनुसन्धान अगाडि बढाएका छौं, उनले भने।
उनका अनुसार घटना भएपछि अपराध अनुसन्धान महाशाखालगायतको अनुसन्धान टोली, केएमसी अस्पताल दुवाकोटका फरेन्सिक चिकित्सक टोली र तालिमप्राप्त कुकुरसहित घटनास्थलमा अनुसन्धान सुरू गरेको छ।
छिमेकीले शनिबार साँझ तीनै जना बाबुछोरालाई सँगै खाना खाएको देखे पनि आइतबार दिनभरी र आज पनि कोठा खुलेको नदेखेपछि प्रहरीलाई खबर गरिएको जनाइएको छ।
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ मा बिदा लिएर बालकोटस्थित छोराहरू बस्दै आएको कोठामा आएको बुझिएको छ।
दुई भाइ छोरामध्ये जेठा छोरा मिलन स्नातक तह उत्तीर्ण गरेर लोकसेवाको तयारी गर्दै गरेका र कान्छो छोरा प्रवीण भने विज्ञान संकायमा स्नातक अध्ययनरत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
एसपी बुढाथोकीले शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको र सम्पर्कविहीन रहेका मिलन सम्पर्कमा आएपछि घटनाको वास्तविकता खुल्ने बताए।
पुष ८, २०८१ सोमबार २०:४६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।