सुटिङ नै नभई पोस्टर रिलिज अनि प्रदर्शन मिति तोकिहाल्नु पर्ने ‘सोल्टिनी’टिमलाई केको हतार भएछ!
काठमाडौं : नेपालीमा एउटा उखान छ, ‘नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले’। यही उखान ठ्याक्कै मिलेको छ, फिल्म ‘सोल्टिनी’मा। यो फिल्मको सुटिङ भएको छैन। यही महिनाको तेस्रो साताबाट छायांकनमा जाने हल्ला छ। तर, निर्माण टिमले फिल्मका मुख्य कलाकार राखेर पोस्टर सार्वजनिक गरिसकेको छ।
फिल्मको रोचक कुरा के छ भने, फिल्म नबन्दै प्रदर्शन मिति पनि तोकी सकिएको छ। निर्माण टिमले आगामी दसैं छेको पारेर असोज ३ लाई प्रदर्शनका लागि मौखिक बुक गरेका छन्।
सार्वजनिक पोस्टरमा गायक तथा अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बुलाई प्रेम र वियोगको भावमा प्रस्तुत गरिएको छ। उनीहरू यो फिल्मको मुख्य कलाकार हुन्। जहाँ सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को भूमिका निभाउने पोस्टरमार्फत अनुमान लगाउन सकिन्छ। यो पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्।
फिल्ममा प्रकाश सपूत र परीक्षा लिम्बुसँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, र सुजन खतिवडाको अभिनय रहनेछ।
फिल्मको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन्। फिल्मका लेखक अर्जुन सुवेदी र कुमार भट्टराई हुन्।
तर, अहिलेसम्म यो फिल्मको जति हल्लाखल्ला सुनिएको छ, त्यति काम भएको छैन। रिलिज डेट तोक्नु नै फिल्मको महत्वपूर्ण काम हो भने यसअघि फिल्म ‘ह्रस्व दीर्घ’, ‘फिरफिरे फिरिरी’,‘झिल्को’को हालत पनि देखिएकै हो। अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको यो फिल्मको पनि चर्चाकै लागि डेट तोक्ने र सार्ने काम भइरहेको त हैन !
पुष ८, २०८१ सोमबार २०:३३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।