अदालतले म्याद थप्न अस्विकार गरेपछि पक्राउ परेको २४ घन्टा नबित्दै रिहा भए भुसाल

अदालतले म्याद थप्न अस्विकार गरेपछि पक्राउ परेको २४ घन्टा नबित्दै रिहा भए भुसाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अनधिकृत रूपमा हिरासतभित्र सुतिरहेको तस्बिर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल रिहा भएका छन्।

आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनी २४ घन्टा नबित्दै रिहा भएका हुन्। उनी रिहा भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले पुष्टि गरे। 

उनलाई सोमबार बिहान पोखरा लगेर प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो। तर, अदालतले म्याद थप्न अस्विकार गर्यो। 

न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप गर्न अस्वीकार गरेको हो। अब उनलाई बाहिरै राखेर अनुसन्धान गरिनेछ। 

गत शनिबार आफू रविको स्वास्थ्य अवस्था बुझ्न जाँदा उनी सुतिरहेको प्रहरीकै सिसिटिभीमा देखेपछि आफूले फोटो खिचेको भन्दै तस्बिर सार्वजनिक गरेर आफूले गल्ती गरेको स्वीकार गरेका थिए। 

तर, त्यो तस्बिर सार्वजनिक भएपछि प्रहरीको चर्को आलोचना भएको थियो। त्यसपछि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई रविको त्यस तस्बिरको विषयमा छानबिन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन दिएपछि भुसाल पक्राउ परेका हुन्।  

पुष ८, २०८१ सोमबार २०:०८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।