दशौं राष्ट्रिय खेलकुदको मिति सरेर चैत २३ मा पुग्यो, समयमै पूर्वाधार तयार हुने दाबी
सुर्खेत : राष्ट्रिय खेलकुद परिषदले मंसिर २ देखि ९ सम्म कर्णालीमा गर्ने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आवश्यक तयारी नपुगेको भन्दै मिति सारेको छ।
मंसिर २१ मा बसेको परिषदको बैठकले निर्धारित समयमा स्थगित गर्दै उक्त प्रतियोगिता यही चैत २३ देखि ३० सम्म गर्ने निर्णय गरेको छ।
०७९ असोज २८ देखि पोखरामा भएको नवौं प्रतियोगिताबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दशौं प्रतियोगिता आयोजना गर्ने गरी झण्डा हस्तान्तरण गरिएको थियो।
त्यही अनुसार कर्णाली प्रदेशले गौरवको आयोजनाका रुपमा सुर्खेत रंगशालाको कामलाई तीब्रता दिइएको थियो। खेल पूर्वाधारका हिसाबले कर्णाली प्रदेश कमजोर थियो। तर, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएपछि सुर्खेत रंगशालासहित अन्य जिल्लामासमेत खेलकुदका पूर्वाधार बनिरहेका छन्।
०७८ मंसिर २० मा शिलान्यास गरिएको रंगशाला एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रूपैयाँमा (भ्याटसहित) ठेक्का आह्वान भएको थियो। त्यसपछि २७ मा नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित ‘एमएसिजिएसएल जोइन्ट भेन्चर’ले प्रदेश सरकारसँग ठेक्का सम्झौता गरी रंगशाला निर्माणको जिम्मा पाएको थियो। सम्झौतामा ०८१ वैशाख ११ भित्र आयोजना सम्पन्न गर्ने उल्लेख थियो।
तर, समयमै काम सकिएन। त्यसपछि पहिलो पटक असोजसम्म र दोस्रोपटक माघसम्म म्याद थप गरिएको छ। हालसम्म रंगशालाको ९९.८० प्रतिशत काम सम्पन्न भइसकेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए।
‘सुर्खेतको प्रदेश रंगशालाको काम लगभग सम्पन्न भइसकेको छ। केही मैदानमा एथ्लेटिक्स ट्रयाक बनाउन बाँकी छ। प्रतियोगिता मितिभन्दा अगाडि नै रंगशाला पूर्ण रूपमा तयार हुन्छ,’ उनले भने, ‘अन्य जिल्लाहरूमा खेलकुद पूर्वाधारको काम सम्पन्न भइसकेका छन्।’
कर्णालीले दुई अंकको स्वर्ण पदक जित्ने लक्ष्यका साथ प्रदेशका दशवटै जिल्लामा खेल पूर्वाधार मर्मत र नयाँ निर्माणका काम सम्पन्न गरिसकेको उपाध्यक्ष हमालले बताए। उनका अनुसार प्रदेशभर २४ वटासम्म खेल खेलाउने तयारी परिषदले गरेको छ।
‘एथ्लेटिक्स ट्रयाक तयार भएपछि मार्किङ गर्न अर्को जनशक्ति बोलाउनुपर्ने भएकोले त्यो बाँकी छ,’ खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले भने, ‘प्रदेश रंगशालामा १२ वटा खेल खेलाउन सकिन्छ।’
सदस्यसचिव सञ्ज्यालका अनुसार प्रदेश रंगशालामा दुई वटा कभर्डहल, एथ्लेटिक्स ट्रयाक, फुटबल मैदान, दुइवटा आउटडोर भलिबल कोर्ट, बास्केटबल र ह्यान्डबलका लागि कोर्ट, स्विमिङ पुल, सटरसहितको कम्पाउन्ड र पार्किङ छ। त्यस्तै, क्रिकेट मैदान, इन्डोर क्रिकेट हल, कबड्डी, खोखो मैदान छ।
फिफाको मापदण्डअनुसार एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान छ। मैदानमा १० हजार दर्शक बस्ने प्याराफिटको छाना लगाइएको छ। मैदानमा पानी परेको खण्डमा २०/२५ मिनेटभित्र सुक्ने गरी अत्याधुनिक प्रविधि जडान गरिएको छ। एक हजार पाँच सय दर्शक क्षमताको इन्डोर भलिबल कभर्डहल निर्माणको काम पनि केही समयभित्र सकिने खेलकुद विकास परिषदले जनाएको छ।
रंगशालाभित्र खेलाडीका लागि चेन्जिङ कक्ष, वेटिङ कक्ष, आराम कक्ष, फिजियो कक्ष र मेडिकल कक्षसमेत छ। एथलेटिक्सका लागि चार सय मिटर ट्रयाक बनाएर आईएएफ मापदण्डबाट प्रमाणित गराइने खेलकुद परिषदको योजना छ। जसमा हाइजम्प, लङजम्प लगायत सम्पूर्ण विधाका प्रतियोगिता गर्न सकिने खेलकुद विकास परिषदका सदस्यसचिव सञ्ज्यालले बताए।
उनका अनुसार हुम्लामा हक्की मैदान, मुगुको रारामा कबड्डी मैदान, सुर्खेतको कालिञ्चोकमा क्रिकेट र रग्बी मैदान, वीरेन्द्रनगरकै चन्द्रगंगा माध्यमिक विद्यालय र गुरुङ चोकमा खेलमैदान, जुम्लामा रहेको खेल मैदानको प्याराफिट, वीरेन्द्रनगर-५ स्थित चिसापानीमा फुटबल मैदान, कालीकोट, दैलेख र रुकुमपश्चिममा कभर्डहल निर्माण तथा मैदान रहेका छन्।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै वीरेन्द्रनगरमा सडक पूर्वाधारको स्तरोन्नतिसमेत भइरहेका छन्। निर्माणाधीन रंगशाला आसपासका सडकलाई फुटपाथसहित चौडा बनाउन थालिएको छ।
वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले रंगशाला आसपासका सडक मर्मत र कालोपत्र गर्नका लागि एक करोड रकम विनियोजन गरेर काम भइरहेको बताइन्।
दशौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरका सडकलाई आगामी चैतसम्म खाल्डारहित बनाउन लागिएको प्रमुख ढकालको भनाई छ।
पुष ८, २०८१ सोमबार १९:५२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।