सहकारी ठगीको बहसमा सार्वजनिक लेखा समितीमा छिर्यो श्रीमान्-श्रीमतीको प्रशंग
काठमाडौँ : सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सहकारी ठगीमा फरार सूचीमा परेपछि अहिले ऋषिकेश नैतिक प्रश्नको घेरामा छन्। सरकारी निकायहरूमा हुनसक्ने बदमासीको नियमन गर्ने क्षेत्राधिकार पाएको लेखा समितिकै सभापतिको परिवार सहकारी ठगी जस्तो गम्भीर अपराधमा मुछिएपछि निरन्तर प्रश्नहरू पनि उठिरहेका छन्।
संसदीय परम्परा अनुसार पनि सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दलले पाउने गरेका थिए। एमालेले प्रमुख प्रतिपक्षी दलको सांसदकै हैसियतमा लेखा समिति पाएको थियो। समीकरण बदलिएर एमाले सत्ताधारी अनि माओवादी केन्द्र प्रतिपक्षी भएपछि सार्वजनिक लेखा समितिको नेतृत्व माग्दै आएको छ।
पोखरेलकी श्रीमती अञ्जला मोरङको उमागौरी सहकारी ठगीमा जोडिएकी छिन्। उनी प्रतिवादी भएर मोरङ जिल्ला अदालतमा मुद्दा समेत दर्ता भइसकेको छ।
सभापति पोखरेलको श्रीमती नै सहकारी ठगीमा जोडिएपछि त यसैलाई आधार बनाएर समितिमा रहेका माओवादी केन्द्रका सांसदहरूले पोखरेललाई मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन्। कांग्रेस मध्यमार्गी देखिन्छ यो घटनामा। एमालेका सांसदहरू पोखरेलको बचाउमा उत्रिरहेका छन् निरन्तर।
लामो समयपछि सोमबार बसेको समितिको बैठकमा पनि यही दृश्य दोहोरियो। माओवादी सांसद अमनलाल मोदीले समिति सभापति ऋषिकेश पोखरेललाई मार्ग प्रशस्त गर्न आग्रह गरे। योगेश भट्टराई, गोकुल बास्कोटा लगायतका एमाले सांसदहरू भने प्रतिरक्षामा उत्रिए।
भट्टराईले अभियुक्त कोइरालाले न्यायिक निरुपणलाई सघाउनुपर्ने धारणा राख्दै समिति सभापतिबारे कुरा उठेको अनि उनको श्रीमती एउटा सहकारीमा जोडिएको भन्दै उनी अदालतमा जानुपर्ने र जानेमा विश्वास रहेको दाबी गरेका थिए।
भट्टराईले लेखा समितिको सभापतिको चयन कांग्रेस, एमाले अनि माओवादी केन्द्रको शीर्ष नेताहरुबीचको सहमतिको आधारमा चयन भएकाले सभापति बदल्न पनि त्यही सहमति हुनुपर्ने कुतर्क गरेका थिए।
‘केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको सहमति विना लेखा समिति सभापति बदलिँदैन’, एमाले सचिव समेत रहेका भट्टराईले बैठकमा भने।
अर्का एमाले सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समिती सभापति बदल्ने विषय राष्ट्रिय सभाको अध्यक्षको पदसँग लगेर जोडे। एमाले र माओवादीको सहमतिमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका थिए।
‘सार्वजनिक लेखा समितिको सभापति फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष पनि फेरौँ’, बास्कोटाले समितिको बैठकमा भने।
बैठकमा सहभागी कांग्रेसका सांसद राजेन्द्र केसीले भने कुनै अपराधमा श्रीमती जोडिँदा त्यसमा श्रीमान् जोडिन्छन् या जोडिन्न भन्ने प्रश्न उठाएका थिए।
‘श्रीमतीले गल्ती गर्दा भोलि श्रीमान् फस्ने हुन् कि हैन, कानुनले के भन्छ? मलाई चिन्ता छ,’ सांसद केसीले बैठकमा भने।
उनले सभापतिको श्रीमती विरुद्ध पक्राउ पुर्जी जारी भएकै आधारमा सभापतिलाई मुछ्नु राम्रो नहुने तर्क गरेका थिए।
श्रीमान्-श्रीमतीको प्रसंग
कांग्रेसका सांसदहरूले श्रीमान् र श्रीमतीको प्रसंग उठाउनुमा केवल सार्वजनिक लेखा समितिको सभापति मात्र जोडिएका छैनन्, यसमा कांग्रेसका उपसभापति धनराज गुरुङ समेत जोडिएका छन्।
गुरुङको पूर्व श्रीमती ज्योती गुरुङ मितेरी बचत तथा ऋण सहकारीको १४ करोड ८१ लाख हिनामिनामा संलग्न रहेको आरोप छ। धनराज आफैंले सो सहकारीको केही ऋण चुक्ता गरेको खुलेपछि ज्योति र धनराजबीचको सम्बन्धविच्छेद नक्कली भएको शंका बढाएको थियो।
यसबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ज्योती फरार छिन्। ब्यूरोले धनराजसँग बयान लिइसकेको छ।
उमागौरी सहकारीको प्रकरण के हो ?
कोइराला मोरङमा रहेको उमागौरी कृषि सहकारी संस्थामा रहेको रकम अपचलनमा जोडिएपछि आफू संलग्न नरहेको दाबी गर्दै आएकी थिइन्। प्रारम्भमा प्रहरीले अनुसन्धान सुरु गर्दा पनि उनलाई पक्राउ गरेन। जब मंसिर २७ गते जिल्ला अदालत मोरगंमा अभियोग पत्र दर्ता भयो उनी पनि प्रतिवादी कायम भइन्।
२६ जना प्रतिवादीमध्ये १२ नम्बरमा उनलाई फरार प्रतिवादी कायम गरियो। यो घटनामा सहकारीका एक जना सदस्य रोशन राजवंशी मात्रै पक्राउ परेका छन्। अभियोग पत्रमा कोइरालासहित २६ जनाले सहकारीको २२ करोड ४८ लाख रकम हिनामिना गरेको दाबी उल्लेख छ। उनलाई अभियोग पत्रमा बिगो भराएर, बिगो बमोजिमको जरिवानासहित आठ वर्ष कैद सजायको मागदाबी लिइएको छ।
पुष ८, २०८१ सोमबार १९:१२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।