भक्तपुरमा कान्छा छोरासहित मृत भेटिए हुलाकका कर्मचारी, अघिल्लो दिन सँगै सुतेर 'भागेका' जेठा छोरातिर प्रहरीको शंका

भक्तपुरमा कान्छा छोरासहित मृत भेटिए हुलाकका कर्मचारी, अघिल्लो दिन सँगै सुतेर 'भागेका' जेठा छोरातिर प्रहरीको शंका

काठमाडौं : जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत फेला परे। ५६ वर्षीय आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित भाडाको घरमा मृत फेला परे। 

आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा आइपुगेका थिए। मिलन र प्रवीण भक्तपुरमा बसेर पढ्थे। मिलन बिए पास गरेर लोकसेवाको तयारी गर्दै थिए भने प्रवीण भिएस निकेतनमा बिएससी पढ्दै थिए।

तर, आज बिहान कुलप्रसाद र प्रवीणको शव भने छुट्टाछुट्टै भेटियो। बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। 

आचार्य बाबुछोराको शरीरमा चोट देखिएको र सँगै बसिरहेका जेठा छोरा सम्पर्कविहीन हुनुमा घटना शङ्कास्पद बनेको प्रहरीको जिकिर छ।  गएराति तीन बाबुछोरा खाना खाएर सुतेका र आज बिहान भने दुई वटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको छ। 

उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको छ। शवमा चोटपटक भेटिएको र बाहिरबाट ताला लगाएकाले उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 

'शनिबार साँझ तीनै जनाले सँगै खाना खाएको कुरा आएको छ। बाहिरबाट ताल्चा लगाइएको थियो। तर, भित्र दुई वटा छुट्टाछुट्टै कोठामा शव छ।  धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको छ, जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले भने। 

उनका अनुसार जेठो छोरा मिलन फरार छन्। त्यसैकारण पनि यो हत्या मिलनले नै गरेको आशंका भक्तपुर प्रहरीले गरेको छ। 

'सँगै सुतेका जेठा छोरा फरार छन्, हामीले उनको समेत खोजी गरिरहेका छौं, डीएसपी न्यौपानेले भने।

शवलाई भक्तपुर प्रहरीले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ। 

पुष ८, २०८१ सोमबार १८:५०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।