छ महिनाको अन्तरालमा आउँदा पनि दयाले अभिनय शैली सुधारेनन् होला!
काठमाडौं : यो वर्ष अभिनेता दयाहाङ राईको फिल्म खासै प्रदर्शनमा आएका छैनन्। अघिल्लो वर्षको जस्तो धमाधम हप्तैपिच्छे उनका फिल्मले हल ओगट्न पाएनन्। अघिल्लो वर्षको कुरा गर्ने हो भने, वैशाख १ बाट फिल्म ‘जारी’,‘बिहे पास’ हुँदै ‘डिग्री माइला’सम्म आइपुग्दा ८ वटा भन्दा बढि फिल्म प्रदर्शनमा आए। हलमा उनको फिल्मको मात्रै राज थियो। सिनेमा घर नै दयामय बनेको थियो।
एकै साथमा प्रदर्शनमा आएका फिल्म ‘जारी’ र ‘बिहे पास’मा जारीले कमायो भने अर्को फिल्मले हलमा पानीसमेत भन्न पाएन। त्यसपछि केही फिल्मले व्यापार ठिकठाकै गरे। कतिपय फिल्मको प्रमोशनमा दया आउनसमेत भ्याएनन्। जस्तो खिचियो, त्यस्तै गेटअपमा हलमा हुने प्रमोसनल कार्यक्रममा आइपुग्थे।
यस पटक भने उनले आफूलाई गज्जबैले रिजर्भमा राखे। एकै खाल्को फिल्म खेलेको आरोपबाट ग्रसित बनेका दया झण्डै ६ महिनापछि दर्शकसामु आएका छन्।
पैसाका लागि मात्रै फिल्म खेल्न थालेको भन्ने आरोपलाई चिर्दै दयाले पछिल्लो समय ‘कार्साङ’मा अभिनय गरे। यही पुष २६ बाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा दयालाई झाँक्रीको भूमिका दिइएको छ।
कमेडियन हुँदै हिरो बनेका जितु नेपालले आफूलाई ‘ज्वाइँ साब’मा पुरै बदले। कमेडियनको छायाँसमेत पर्न दिएनन्। त्यसैगरी ‘कार्साङ’को ट्रेलरमा दया पनि बद्लिएका छन्। ट्रेलरमा मात्रै हैन, पूरै फिल्ममा पनि उनलाई बद्लिएको देख्न पाइयोस्। दयाले पुरानो शैली परिवर्तन नगरे त दर्शक मनोटोनस भइहाल्छन् नि, राजेश हमालको अभिनयबाट जस्तै।
पुष ८, २०८१ सोमबार १८:०८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।