रवि लामिछानेकै सिफारिसमा रास्वपाको कार्यवाहक सभापति बने डीपी अर्याल
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको छ।
आज बसेको पार्टी सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपामा डा. स्वर्णिम वाग्ले र अर्याल उपसभापति छन्। तर, रास्वपा सभापति रवि लामिछानेकै सिफारिसमा अर्याललाई कार्यवाहक तोकिएको झाले बताए।
'जिम्मेवारी दिनका लागि रवि लामिछानेज्यूबाट सिफारिस गरिएको र सचिवालय बैठकले पारित गरेको हो। कास्की अदालत परिसरमा स्रेस्तेदारको उपस्थितिमै उहाँले सिफारिस गर्नुभयो र कानुनी प्रक्रिया मिलाएर उहाँ (अर्याल)लाई जिम्मेवारी दिइएको हो, उनले भने।
उनका अनुसार आजको भर्चुअल बैठकको सर्वसम्मतिले अर्यालको नाम पारित गरेको हो।
रविविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो। आइतबार नै सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न कास्की प्रहरीले सङ्घीय संसद् सचिवालयलाई पत्र पठाइसकेको छ।
पुष ८, २०८१ सोमबार १७:४५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।