माओवादीले सहकारी ठगीको जालोमा अल्झिएका लेखा समिति सभापतिको राजीनामा माग्यो, योगेशले पनि सघाए

माओवादीले सहकारी ठगीको जालोमा अल्झिएका लेखा समिति सभापतिको राजीनामा माग्यो, योगेशले पनि सघाए

काठमाडौं : आज बसेको सार्वजनिक लेखा समितिकाे बैठकमा माओवादी केन्द्रले समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग्यो। माओवादीका सांसद अमनलाल मोदीले सहकारी ठगीमा समिति सभापतिमाथि प्रश्न उठेको भन्दै मार्गप्रशस्त गर्न आग्रह गरे। 

'सहकारीको कुरामा तपाईंको परिवारसँग जोडिएको छ। तपाईं माथि प्रश्न उठेको छ। समितिकै सभापतिमाथि प्रश्न उठेपछि केही न के केही बोल्नुपर्छ, जवाफ दिनुपर्छ, उनले भने। 
 
सार्वजनिक लेखा समिति चेक एण्ड ब्यालेन्समा चल्नुपर्ने उनको माग छ। लेखा समितिलाई सक्रिय र प्रभावकारी बनाउनका लागि समेत सत्ता पक्षको नेतृत्व लेखा समितिमा हुन नहुने तर्क गर्दै उनले लेखा समिति आफूहरूलाई दिनुपर्ने बताए। 

‘चेक एन्ड ब्यालेन्सको कुरा छ। लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ। तपाईं आफैं सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ। सरकारको छायाँ यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ, उनले भने। 

विगतका कतिपय गलत अभ्यासलाई देखाएर गलत अभ्यासलाई नै निरन्तरता दिन राम्रो नहुने भन्दै उनले दोहोर्याए, ‘लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिँदा राम्रो हुन्छ।’

त्यसअघि माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले पनि सभापति पोखरेलको राजीनामा मागिसकेको छ। पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पोखरेलको राजीनामा मागेका हुन्।

संसदको प्रमुख प्रतिपक्ष दल माओवादीले सभापति पोखरेलको राजीनामा माग्दै गर्दा एमालेले पनि पोखरेलकी पत्नी अन्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन्। 

एमाले सचिवसमेत रहेका योगेश भट्टराईले समिति सभापति ऋषिकेश पोखरेलप्रति लक्षित गर्दै आर्थिक लेनदेनमा आफू ठिक ठाउँमा उभिए मात्रै अरूमाथि डन्डा चलाउन सकिने बताए।

‘समितिका सभापतिको श्रीमती फरार रहेको कुरा आइरहेका छन्। अदालतमा उपस्थित हुन राम्रो हुन्छ,’ भट्टराईले समिति सभापति पोखरेललाई लक्ष्य गर्दै भने, ‘यो समिति सुशासन र चेक एण्ड ब्यालेन्सका लागि पनि बनेकोले आर्थिक रूपमा प्रष्ट हुनुपर्छ। यो स्पष्टीकरण दिने फोरम त होइन तर यसबारे प्रष्ट बनाइदिनुस्।’

पत्नी फरार भएपछि सभापति पोखरेललाई तनाव!
पुष २ मा मोरङको धनपालथान गाउँपालिका-३ मा रहेको उमागौरी सहकारी प्रकरणमा सभापति पोखरेल पत्नी अन्जला मोरङ जिल्ला अदालतले अन्जलासहित २६ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। तर, त्यसयता अन्जला फरार छिन्। 

त्यसपछि मुद्दा चलेर पनि फरार रहेका अन्जलासहित २५ जनाको हकमा मोरङ जिल्ला अदालतले उपस्थित हुन आउनू भनी ३५ दिने म्याद जारी गरिसकेको छ। 

लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन्। 

सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिएर करिब ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अन्जलासहित सञ्चालक कालोसूचीमा परेका छन्। 

सहकारी सञ्चालकहरूका अनुसार एमाले नेतासमेत रहेका पोखरेलले पत्नी अन्जलालाई करिब ६ वर्ष सञ्चालक बनाएका थिए। त्यसकारण पनि सभापति पोखरेलमाथि श्रीमतीलाई जोडेर पटक-पटक प्रश्न उठिरहेको छ। सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले गरेको विरोध प्रदर्शनमा समेत एमाले नेता पोखरेल र कांग्रेस उपसभापति धनराज गुरुङलाई सत्ताकै आडमा उन्मुक्ति दिइएको भन्दै उनीहरूमाथि पनि छानबिन हुनुपर्ने माग गरेको थियो। 

कार्यकर्ताले खोलेको सहकारीको सञ्चालकमा पोखरेलले नै पत्नीको नाम राखेका थिए। तर, सहकारी संकटमा परेपछि अन्जलाले २०७८ को माघ ५ देखि सहकारीबाट राजीनामा दिएकी थिइन्। 

करिब पाँच हजार बचतकर्ता रहेको उमागौरी सहकारी करिब डेढ वर्षदेखि बन्द छ।   

पुष ८, २०८१ सोमबार १६:२९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।