सिरियाका पूर्व राष्ट्रपति बसर अल-असदकी पत्नीले दिइन् सम्बन्धविच्छेदको निवेदन
एजेन्सी : सिरियाका पूर्व राष्ट्रपति बसर अल-असदकी पत्नी अस्मा अल-असदले सम्बन्धविच्छेदको लागि निवेदन दिएकी छन्।
इजरायली अखबार जेरुसेलम पोस्टका अनुसार सिरियामा सत्ताबाट हटाइएकी असदकी पत्नी अस्मा रुसमा बस्दा खुसी छैनन्। उनी बेलायत जाने योजनामा छिन्। अस्माले रुसी अदालतमा देश छाड्न पनि निवेदन दिएकी छिन्।
अस्माले सन् २००० डिसेम्बरमा असदसँग विवाह गरेकी थिइन्। उनीसँग बेलायत र सिरियाको दोहोरो नागरिकता छ।
अस्माको जन्म सन् १९७५ मा लन्डनमा सिरियाली आमाबाबुको घरमा भएको थियो। अस्माले लन्डनको किङ्स कलेजबाट कम्प्युटर विज्ञान र फ्रान्सेली साहित्यमा डिग्री लिएकी छन्।
अस्मा र असदका तीन सन्तान छन्। उनी आफ्ना सन्तानसँग लण्डनमा बस्ने योजनामा छिन्।
डिसेम्बर ८ मा विद्रोही लडाकुहरूले सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि बसर अल-असद देश छोडेर आफ्नो परिवारसँग रुसमा शरण लिएका थिए।
जेरुसेलम पोस्टका अनुसार बशर अल-असद र उनको परिवार मस्कोमा बस्दै आएका छन्। रुसले उनीहरूलाई शरण दिएको छ तर उनीहरू कडा प्रतिबन्धको सामना गरिरहेका छन्।
असदलाई मस्को छोड्न वा कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाइएको छ।
रिपोर्टका अनुसार रुसी अधिकारीहरूले असदको सम्पत्ति पनि जफत गरेका छन्। यसमा २७० केजी सुन, २ अर्ब डलर नगद र मस्कोमा १८ वटा अपार्टमेन्ट समावेश छन्।
टर्कीका सञ्चारमाध्यमका अनुसार असदले पनि रुस छोडेर बेलायत जाने योजना बनाएका छन्। अर्कोतर्फ रुसले असदका भाइ माहेरलाई शरण दिएको छैन।
पुष ८, २०८१ सोमबार १४:०८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।