च्याम्पियन्स ट्रफी : भारत-पाकिस्तान खेल फेब्रुअरी २३ मा दुबईमा हुने

च्याम्पियन्स ट्रफी : भारत-पाकिस्तान खेल फेब्रुअरी २३ मा दुबईमा हुने

एजेन्सी : च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीचको खेल २३ फेब्रुअरीमा हुने भएको छ। यो खेल युएईको दुबई इन्टरनेशनल स्टेडियममा हुनेछ।

पाकिस्तान क्रिकेट बोर्डले संयुक्त अरब इमिरेट्स (युएई)को दुबई सहरलाई च्याम्पियन्स ट्रफी २०२५ मा भारतका खेलहरू आयोजना गर्न तटस्थ स्थानको रूपमा चयन गरेको छ।

शनिबार राति पीसीबी अध्यक्ष मोहसिन नक्वी र यूएईका मन्त्री शेख नह्यान अल मुबारकबीच भेटवार्ता भएको थियो।

प्रतियोगिताको पहिलो खेल फेब्रुअरी १९ मा आयोजक पाकिस्तान र न्यूजिल्याण्डबीच कराँचीमा हुनेछ। फाइनल मार्च ९ मा लाहोरमा हुनेछ।

भारतको पहिलो खेल २० फेब्रुअरीमा बंगलादेशसँग दुबईमा हुनेछ। यदि टीम इन्डिया नकआउटका लागि छनोट भयो भने सेमिफाइनल र फाइनल पनि दुबईमा हुनेछ।

सेमिफाइनल (४ र ५ मार्च) र फाइनल दुवैका लागि रिजर्भ डे पनि राखिएको छ। १५ मध्ये ५ खेल युएईमा हुनेछन्। भारतले समूह चरणका तीनवटै खेल युएईमा खेल्नेछ।

आईसीसीको डिसेम्बर १९ मा बिहीबारको बैठकमा भारतले च्याम्पियन्स ट्रफीका खेल पाकिस्तानको सट्टा तटस्थ स्थानमा खेल्ने निर्णय गरेको थियो।

साथै, सन् २०२७ सम्म भारतमा हुने सबै प्रतियोगिताका लागि पाकिस्तानी टोली भारत आउने छैन। यसका खेलहरू तटस्थ स्थानहरूमा पनि हुनेछन्।

२०२५ महिला एकदिवसीय विश्वकप भारतमा, २०२६ मा टी२० विश्वकप भारत र श्रीलंकामा आयोजना हुँदैछ।

पुष ८, २०८१ सोमबार १२:०५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।