दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज पाकिस्तानद्वारा क्लिन स्वीप
एजेन्सी : दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज पाकिस्तानले क्लिन स्वीप गरेको छ।
दक्षिण अफ्रिका भ्रमणमा रहेको पाकिस्तानी टोलीले तेस्रो खेल ३६ रनले आफ्नो पक्षमा पारेसँगै सिरिज नै क्लिन स्वीप गरेको हो।
जोहान्सबर्गमा टस हारेर पहिला ब्याटिङमा तानिएको पाकिस्तानले निर्धारित ४७ ओभरमा तीन सय आठ रन बनायो। वर्षाका कारण पटक–पटक अवरुद्ध भएपछि खेललाई ४७ ओभरमा झारिएको थियो।
पाकिस्तानका लागि सैय अयुवले एक सय १ रनको शतकीय पारी खेल्दा बाबर आजम र कप्तान मोहम्मद रिजवानले क्रमशः ५२ र ५ रनको अर्धशतकीय पारी खेले।
सलमान आगाले ४८ र तैय्यब ताहिरले २८ रन जोड्दा अब्दुल्लाह साफिकी, कमरान गुलाम र साहीन शाह अफरिदी पहिलो बलमै आउट हुन पुगे।
दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन तथा मार्को जानसन र बिजोर्न फच्र्यूनले समान दुई–दुई विकेट लिँदा क्वेना मापाखा र कोर्बिन बोस्चले समान एक–एक विकेट लिए।
जवाफी लक्ष्यसहित मैदानमा उत्रिएको दक्षिण अफ्रिका ४२ ओभरमा अलआउट हुँदै दुई सय ७१ रनमा समेटियो।
उसका लागि हेनरिच क्लासेन ८१ रनको अर्धशतकीय पारी बनाउँदा कोर्बिन बोस्च ४०, रसी भान डेर डुसेन ३५, टोनी दी जोर्जी २६, मार्को जेन्सन २६, एडन मार्कम १९ रनमा आउट भए।
पाकिस्तानका सुफियान मुकीमले चार विकेट लिँदा साहीन साह अफरिदी र नसीम साहले समान दुई–दुई विकेट लिए। मोहम्मद हसनैन र सैय आयुबले समान एक–एक विकेट लिए।
यसअघि भएको पहिलो र दोस्रो एकदिवसीय खेल पाकिस्तानले क्रमशः तीन विकेट र ८१ रनले जितेको थियो।
अब यी दुई टोलीबीच दुई खेलको टेस्ट सिरिज हुनेछ।
पुष ८, २०८१ सोमबार ११:३७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।