रसुवागढी जलविद्युत् आयोजनाबाट ५२ मेगावाट विद्युत् उत्पादन सुरू

रसुवागढी जलविद्युत् आयोजनाबाट ५२ मेगावाट विद्युत् उत्पादन सुरू

रसुवा : उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ।

गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ।

उक्त विद्युत् गृहमा जडित ३३/३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादन हुने जनाइएको छ।

हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए।

तीनवटै युनिट चालु गराइसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उनले बताए।

रु १८ अर्ब ६९ करोड २० लाखको लागतमा निर्माण भएको आयोजनाले  वार्षिक रूपमा रु ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर रु तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्नेछ।

रसुवागढी मुनि भोटेकोशीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरूङको सहायताले टिमुरे गाउँको दुहार तातोपानी पारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको छ।

चिलिमे जलविद्युत् कम्पनीको भगिनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो।

यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको शेयर लगानीमा आयोजना निर्माण सम्पन्न भएको हो।

पुष ८, २०८१ सोमबार १०:०९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।