युट्युबरले घेरिएकी एलिनालाई प्रश्न- ‘श्रीमानसँग सम्बन्ध बिग्रिएको हो?’

युट्युबरले घेरिएकी एलिनालाई प्रश्न- ‘श्रीमानसँग सम्बन्ध बिग्रिएको हो?’

काठमाडौं : गत वैशाखमा बिवाह बन्धनमा बाँधिएकी एलिना चौहान अहिले नेपालमै छिन्। बिहेको केही महिना श्रीमान् विष्णु सापकोटासँग अष्ट्रेलियामै बसेकी उनी तीजको छेको पारेर नेपाल आएपछि फर्किएकी छैनन्।

उनीहरूबीच सामाजिक सञ्जालमा कतै पनि लाइक र कमेन्टको आदानप्रदान भएको देखिँदैन। विष्णु आफ्नै फर्निचर पसलमा बसेर टिकटक बनाइरहेका हुन्छन्। एलिनाले पनि नेपालमा रहेर खासै गीत गाइरहेकी छैनन्।

केही समयअघि ओशो ध्यानमा समेत देखिएपछि भने उनको सम्बन्ध बिग्रिएको त हैन भन्ने हल्ला राम्रैसँग चल्यो।

आइतबार ‘अब हाँस्छ अमेरिका, अब सुन्छ अमेरिका र अब नाच्छ अमेरिका’ नामक कार्यक्रमको बत्तिसपुलतीस्थित बाजेको सेकुवामा पत्रकार सम्मेलनमा आइपुगेकी एलिनालाई युट्युबरले घेरिहाले।

नचाहेर पनि त्यहाँ उनले नचाहेका केही तीता प्रश्नको सामना गर्नैपर्यो। कार्यक्रममा एक युट्युबरले उनलाई सोधिहाले ‘तपाईं किन श्रीमान्सँग हुनुहुन्न?’

उनले भनिन्, ‘उहाँको विजनेश अष्ट्रेलियामा छ, मेरो नेपालमा छ। आ–आफ्नो विजनेश गरिरहेका छाँै हामीहरूले। कमाउने समय सधैँ आउँदैन। पहिला–पहिला मेरै ममी बाबा १८-१९ वर्षसम्म टाढा रहनुभयो। अहिले सँगै हुनुहुन्छ। २–४ महिना टाढा भइयो भन्दैमा त्यति धेरै न्युज बनाउनेपर्ने, सोच्नुपर्ने छैन।’

युट्युबरले उनी ओशो गएपछि सम्बन्ध बिग्र्रिएको हल्ला चलेको बारेमा पनि सोधिहाले। जवाफमा उनले आफ्नो मनको शान्तिको लागि त्यहाँ गएको स्पष्ट पार्दै श्रीमान्सँग कुनै खटपट नभएको दाबी गरिन्।

उनले थपिन्, ‘म आफ्नो खुशीको लागि ओशो गएको हो। दुनियाँले के भन्छन् मलाई थाहा छैन। सबैको मुख बन्द गर्न पनि म सक्दिनँ।’

विवाहपछि फ्यान घट्ने र काम पनि कम भएको युट्युबरको दाबी उनले ठाडै अस्वीकार गरिन्।

‘बिहेपछि फ्यान घट्ने, बढ्ने भन्ने हुँदैन। हाम्रो त स्वरलाई माया गर्ने हो नि! यसमा कुनै पनि फरक नै पर्दैन। कति जना बिहे नगरी बस्नुभएको छ। उहाँहरु टप टपमा पुग्नुपर्ने हो नि त!’

उनी अमेरिकामा आयोजना हुने ‘अब हाँस्छ अमेरिका, अब नाच्छ अमेरिका र अब सुन्छ अमेरिका’ नामक सांगीतिक कार्यक्रमका लागि केही समयपछि त्यसतर्फ जाँदैछिन्। उनको समूहमा बद्री पंगेनी, कला लम्साल, प्रताप दासजस्ता कलाकार छन्।

पुष ८, २०८१ सोमबार ०९:४४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।