पनामा नहर पुन: अमेरिकाले नियन्त्रणमा लिनसक्ने ट्रम्पको चेतावनी
एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर पुन: अमेरिकाले नियन्त्रणमा लिन सक्ने चेतावनी दिएका छन्।
आइतबार एरिजोनामा आफ्ना समर्थकहरूमाझ बोल्दै ट्रम्पले पनामाबाट गुज्रने अमेरिकी जहाजको शुल्क घटाउनुपर्ने अन्यथा यसको नियन्त्रण अमेरिकाले लिने चेतावनी दिएका हुन्।
उनले पानामाले अमेरिकी जहाजबाट चर्को शुल्क लिएको आरोप लगाए।
उनले आइतबार एरिजोनामा आफ्ना समर्थकहरूलाई भने, ‘पानामाले लिएको शुल्क अनुचित छ। अब यो बन्द हुनेछ।’
डोनाल्ड ट्रम्पको कार्यकाल अर्को महिनादेखि सुरु हुँदैछ। यसै सन्दर्भमा उनले पदभार ग्रहण गरेपछि यस विषयमा के गर्ने बताए।
ट्रम्पको बयान पछि पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले नहर वरपरको क्षेत्र र ‘प्रत्येक वर्ग मिटर’ आफूहरूको भएको स्मरण गराउँदै अमेरिकासँग सार्वभौमसत्ता र स्वतन्त्रतामा सम्झौता गर्न नसकिने बताए।
पनामा नहर
ट्रम्पले कन्जरभेटिभ एक्टिभिष्ट समूह ‘टर्निङ प्वाइन्ट युएसए’का समर्थकहरूका अगाडि पनामाका सम्बन्धमा यो बयान दिएका हुन्। यो समूहले २०२४ को चुनावी अभियानमा ट्रम्पलाई समर्थन गरेको थियो।
पनामा नहर सन् १९०० को प्रारम्भमा बनाइएको थियो भने अमेरिकाले सन् १९७७ सम्म यो नहरलाई नियन्त्रणमा राखेको थियो।
सन्धिपछि यो क्षेत्र बिस्तारै पनामाको नियन्त्रणमा आयो। संयुक्त नियन्त्रणको केही समयपछि सन् १९९९ मा पनामाको नियन्त्रणमा आयो। यहाँबाट हरेक वर्ष १४ हजार कार्गो जहाज यो नहरको प्रयोग गर्छन्।
पुष ८, २०८१ सोमबार ०९:०४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।