गोर्खा मिडियामा आइएमइ सहकारीबाट डेढ करोड रकम गएको विवरण अभियोग पत्रमै,  तर प्रहरीले विस्तृत अनुसन्धानै गरेन

गोर्खा मिडियामा आइएमइ सहकारीबाट डेढ करोड रकम गएको विवरण अभियोग पत्रमै,  तर प्रहरीले विस्तृत अनुसन्धानै गरेन

काठमाडौँ : गोर्खा मिडिया अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा जीवी राईसहितको समूह संलग्न रहेको सहकारीहरूसँगै अर्को नयाँ सहकारीबाट समेत अवैध रूपमा रकम लगानी रहेको विवरण अभियोग पत्रमै समेटिएको छ। तर सो सहकारीबारे विस्तृत अनुसन्धानै गरिएन।

नयाँ सहकारी हो आइएमइ ग्रुप अन्तर्गतको आइएमइ कोअपरेटिभ लिमिटेड। यस अगाडि गोर्खा मिडियामा सुप्रिम सहकारी, सुर्यदर्शन सहकारी, सानोपाइला, स्वर्णलक्ष्मी र समानता सहकारीबाट अवैध रूपमा रकम गएको सार्वजनिक भएको थियो। त्यसैको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान सक्काएर आइतबार अभियोग पत्र दर्ता भयो।

आइतबार जिल्ला अदालत कास्कीमा दर्ता भएको अभियोग पत्रमा समेटिएको विवरणमा आइएमइ समूह अन्तर्गतको आइएमइ को-अपरेटिभ लिमिटेडबाट समेत रकम गएको विवरण अभियोग पत्रमै देखिन्छ। अभियोग पत्रको पृष्ठ नम्बर १०८ मा राखिएको विवरणमा आइएमइ कोअपरेटिभ लिमिटेडबाट गोर्खा मिडियामा एक करोड ५० लाख रकम गएको उल्लेख छ।

आफ्नो सदस्य बाहेक बाहिर लगानी र ऋण दिन नपाउने नीति विपरीत विभिन्न सरकारीबाट अवैध रूपमा रकम निकालेर दुरुपयोग गरेको सार्वजनिक भएसँगै जीवी राई फरार भएका थिए। गोर्खा मिडियामा जोडिएका अधिकांश सहकारीमा कुनै न कुनै रूपमा जीवी राई वा उनको परिवारका सदस्य जोडिएको खुलेको थियो। तर आइएमइ भने नयाँ देखियो।

अभियोग पत्रका विभिन्न स्थानमा गोर्खा मिडियामा कुन कुन सहकारीबाट रकम गयो भन्ने विवरणमा अन्य सहकारीसँगै आइएमइको नाम छ। तर सो रकम कहिले कुन खातामा गएको हो त्यो विवरण भने देखिन्न। रकम गएकै हो या विवरण मात्र फेला परेको हो त्यो पनि खुलेको छैन। कारण यसबारे अनुसन्धानै भएन।

आइएमई कोअपरेटिभ आइएमइ समूह अन्तर्गतकै हो। २०६७ सालमा स्थापना यसको १० हजार ९ सय ४१ सेयर सदस्य सङ्ख्या छन्। अहिले यसको वर्तमान अध्यक्षमा योगेश्वर शर्मा ढकाल छन्।

अभियोग पत्र नम्बर एक सय ७ मा जीवी र रवि समूहले कसरी सहकारीको रकम दुरुपयोग गरे भन्ने विस्तृत खुलाउँदै ‘प्रतिवादीहरूले आफूले कुनै पनि लगानी नगरी सहकारीको बचत रकम हिनामिना गरेर सोही रकमबाट गोर्खा मिडिया नेटवर्क प्रालि सञ्चालनमा ल्याएको’ उल्लेख छ।

अभियोग पत्रमा समेटिएको गोर्खा मिडिया नेटवर्क प्रालिको २०२२ को कम्पनी ओभरभ्युमा कम्पनीको निर्देशकदेखि कुन कुन सहकारीबाट कति रकम ल्याएको हो सो समेत उल्लेख गरेको विवरणै समेटिएको छ।

सो विवरणमा गोर्खा मिडिया अन्तर्गतको ग्यालेक्सी टेलिभिजनका लागि ६० करोड रकम जुटाउँदा त्यसमा एक करोड ५० लाख आइएमइ कोअपरेटिभको समेत देखिन्छ।

गोर्खा मिडिया प्रालिको अधिकांश कारोबार ग्लोबल आइएमइ बैङ्कबाट हुने गरेको थियो। विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएका रकमहरू अधिकांश ग्लोबल आइएमइ बैङ्कमा रहेको कम्पनीको खातामा जम्मा भएको अभियोग पत्रमा समेटिएको विवरणमै देखिन्छ।

ती विवरणमा २०२२ जुलाई १९ मा आइएमइ लिमिटेडको नाममा गोर्खा मिडियाको खातामा ९ लाख ८६ हजार रकम जम्मा भएको विवरण उल्लेख छ। सो रकम त्यही डेढ करोडमध्येको हो या अन्य त्यसबारे अनुसन्धानै नभएकाले खुलेको छैन।

पुष ८, २०८१ सोमबार ०१:२९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।