प्रविनाको प्रसव पीडा र खुसी : अल्ट्रासाउन्ड गर्दा बच्चा जीवित देखिएन, दोस्रो सन्तानबारे सोच्नै सकिन
साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भोयरोमेन्ट (सावती) मा १५ वर्ष देखि कार्यरत छिन्, प्रविना महर्जन। अफिस सेक्रेटरी मार्फत रिसेप्सनमा काम गर्न थालेकी उनले अहिले भने विभिन्न इभेन्ट म्यानेज गर्ने तथा संस्थाको डकुमेन्टेसन हेर्ने गर्छिन्।
यहाँ जोडिनु भन्दा अगाडि कम्प्युटर प्रशिक्षणदेखि ट्राभल एजेन्टसम्मको काम गरिन् उनले। काठमाडौँको किसान परिवारमा जन्मिएकी उनको बाल्यकाल खेतसँगै स्कुलमा बित्यो। ‘छोरी’ भएको कारणले गर्दा घरमा सबै परिवारको विश्वास जित्नुपर्ने अवस्था पनि थियो। उनले पढाइलाई निरन्तरता दिन सफल भइन्।
विवाहपछि पढाइ र कामलाई निरन्तरता दिन पनि उनले त्यति धेरै सङ्घर्ष गर्न परेन। उनी अहिले एक सन्तानकी आमा हुन्। उनै प्रविनाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :
OOO
मैले मेरो श्रीमानलाई अनलाइनमा भेटेकी हुँ। दुवैको बिचार मिलेपछि हामीले हाम्रो प्रेम सम्बन्धलाई अगाडि बढायौँ। घरमा हामी तीन जना दिदीबहिनी, एक भाइ। म सब भन्दा जेठी हुँ। त्यसले मेरो बिहेको कुरा अलि अगाडि नै आयो।
अनि मैले ‘आफैले खोजिसके तपाईँहरूले खोज्नु पर्दैन’ भनेँ। त्यसपछि त को हो, के गर्छ, कस्तो छ सम्मको कुरा भयो। अनि दुवैको परिवारलाई थाहा दिएपछि हाम्रो बिहे भइनै हाल्यो। मैले ग्र्याजुएसन पनि बिहे पछि नै गरेकी हुँ।
सासू-ससुराहरु पनि एकदम खुला बिचारको हुनुहुन्छ। श्रीमानले पनि साथ दिनुभयो। त्यति भएपछि सहज हुने रहेछ। अनि मेरो आफ्नै स्वभाव पनि घरमा सबैसँग बोल्न पर्ने, सबै कुरा भन्न पर्ने खालको भयो। त्यसले गर्दा म यो काममा हुन्छु, यस्तो गर्दै छु भनेर अगाडि नै घरमा जानकारी दिएपछि उहाँहरूले बुझिदिनु भयो। सबै मिल्दै जाने रहेछ।
दुवै पढेलेखेको, बुझेर नै विवाह गरेको भएर हामीले सन्तानको बारेमा धेरै सोचिराख्नु परेन। चार वर्ष पछि हाम्रो सन्तान भएको हो। घरमा त कसैले केही नभने पनि कहिँकतैबाट अब त सन्तानको तयारी गर, भन्ने कुरा कानमा आइनै हाल्थ्यो।
तर जति नै पढेको भए पनि मैले केही कुराहरू चैँ ख्याल गरिन जस्तो लाग्छ। गर्भ निरोधकको औषधि खाइदिएँ। त्यो खान नहुने रहेछ। हामी महिलाले औषधी लिनु भन्दा बरु श्रीमानलाई नै गर्भ निरोधकको साधन प्रयोग गर्न दिनु पर्ने रहेछ। अगाडी थाहा भएन। पछि त्यसको साइइफेक्ट देख्न थाल्यो। मलाई त १५/१५ दिनको फरकमा महिनावारि हुन्थ्यो।
मेरो बिहे भएको दुई वर्ष पछि नै गर्भ रहेको थियो। त्यसबेला मलाई बेस्कन खोकी पनि लागेको थियो। खोकीको औषधी खानु भनेर डाक्टरले लेखेर दिनु भएको थियो। त्यो औषधी नभएर त्यस्तै खालको हो भनेर मलाई दिइयो। त्यसबेला मैले पनि त्यति धेरै सोचिन। १२ हप्तामा गर्भ खेर गयो।
परामर्श बिना गर्भ निरोधक औषधी लिन नहुने रहेछ। तर किन खेर गयो भनेर ठ्याक्कै डाक्टरले भन्न सकेनन्। पहिलो अल्ट्रासाउन्ड गर्नु भन्दा अगाडि मुटुको धड्कन जाँच गर्दा कम भयो भनेर तुरुन्त अल्ट्रासाउन्ड गरेको। त्यो बेला बच्चा जीवित नै देखिएन।
त्यो बेला मलाई भन्दा बढी त मेरो श्रीमानलाई आघात पुगेको थियो। मलाई शारीरिक रूपमा केही पनि भएको थिएन। क्युरेट गरेर त्यो भ्रूण फाल्नु पर्ने भयो। मलाई डाक्टरले प्रसूति गृहमा पठाउनु भयो। प्रसूति गृहको क्युरेट गर्ने ठाउँ देखेर मलाई त डर लागेको थियो। क्युरेट गर्न भनेर ठिक्क परेको मलाई फेरी त्यहाँ नहुने भनेर पठाइयो।
अनि अर्कै ठाउँमा जाँदा त्यहाँ त किन ढिला आउनु भएको भनेर गाली पनि खाइयो। क्यारेटपछि एक हप्ता पुरै बेडरेस्ट गरेँ। हामी डाक्टरको परामर्शमा रह्यौँ।
पहिलो गर्भपात भएपछि मैले अर्को सन्तानको बारेमा सोच्न पनि सकिनँ। फेरि पहिला गर्भपात भएपछि अर्को पटक त गर्भ रहनै पनि गाह्रो हुने रहेछ।
मानसिक रूपमा म निकै विक्षिप्त भएकी थिएँ। त्यसबेला मैले धेरै किताब पनि पढेँ। एउटा वेब साइटमा बच्चा र आमाको बारेमा नयाँ नयाँ कुरा आउँथ्यो। सधैँ त्यो पनि पढ्थेँ।
मेरो गर्भपातमा धेरै रगत गएन। त्यै भएर म धेरै कमजोर हुन नपरेको जस्तो लाग्छ। एक हप्तामा उठेर काममा लागिसकेकी थिएँ। आफै मानसिक रूपमा बलियो हुन मलाई डेढ वर्ष जति लाग्यो। हामी तयार भए पनि गर्भ रहन भने अझै छ महिना जति लाग्यो। मलाई गर्भपात भएपछि अर्को सन्तानको बारेमा सोच्ने आँट नै आएको थिएन।
दोस्रो गर्भ रहेपछिको नौ महिना त एकदम रमाइलो रह्यो। सबैको ध्यान म माथि नै भयो। त्यो नौ महिना सम्झिँदा चैँ फेरी गर्भवती हुन मन लाग्छ। तर त्यसपछिको लागि भने ओहो ! नाइँनाइँ भन्ने हुन्छ।
डाक्टरको समय मिलाएर हामी तयार भयौँ। धन्न अगाडिको कारणले केही अप्ठ्यारो भएन। तर हामीले त त्यसपछि पूजापाठ पनि गर्यौँ। मन्दिर पनि गयौँ। अब ध्यान दिनु पर्छ भन्ने भयो नि।
म त्यति अग्लो छैन। मोटाएर ८१ केजी भएकी थिएँ। सबै साथीहरूले मेरो खुट्टाहरू खम्बा जस्तो लाग्छ भन्थे। धेरै मोटाएको कारण सबले नर्मल हुँदैन कि भन्नु भएको थियो।
आठौँ महिनादेखि त मलाई हिँड्न पनि निकै गाह्रो हुन्थ्यो। सुत्न पनि अप्ठ्यारो भएर एकदम मिलाएर सुत्न पर्थ्यो।
बच्चा महसुस हुन थाले पछि त श्रीमानले मलाई छुन पनि डराउनु भएको थियो। उहाँ पनि निकै सजग हुनुभएको थियो। म त उत्साहित थिएँ। खुसी थिएँ। सबले अनुहार नै फेरिएको छ भन्नुहुन्थ्यो। नर्मल नै होस् भनेर म त हिँडिराखेकी थिएँ। घरको सक्ने जति काम पनि गर्थेँ। तर नर्मल हुन सकेन।
डाक्टरले समय दिएको बेला व्यथा नै लागेन। पानी बगे पनि दुखाइ खासै थिएन। अस्पताल गएपछि जँचाउँदा झन् धेरै पानी गयो। अनि पानी नभएपछि बच्चालाई गाह्रो हुन्छ भन्ने भयो। अप्रेसन गर्ने कुरा भइहाल्यो। अप्रेसन गर्ने भन्दा म त निकै डराएकी थिएँ। तर फेरि बच्चालाई गाह्रो हुन हुँदैन भन्ने पनि भयो।
सासूले घरमा टिका लगाएर, अण्डा खुवाएर पठाउनुभयो। अप्रेसनको समयमा त केही पनि खान नहुने रहेछ। त्यो दिन त्यत्तिकै बस्नुपर्ने भयो। भोलिपल्ट मात्र अप्रेसन हुने भयो। एनेस्थेसिया लगाउनु भन्दा अगाडि ढाडमा सुई दिने रहेछन्। एक पटकमा नभएर मलाई दुई पटक लगाउनुपर्यो।
अनि कटन राखिदिने रहेछ। त्यो राख्दा शरीर नै पुरै हल्लेको जस्तो भयो। एकै छिनमा तपाईँको छोरा रहेछ भनेर देखाउनु भयो। जन्मिए पछि खुट्टाको साइडमा अजिबको के महसुस गरेको थिए मैले। निस्कन पर्ने फोहोरहरू रहेछ। मलाई त्यसपछि ४८ घण्टाको निगरानीमा राखियो।
बाबुलाई चम्चाको सहायताले दूध खुवाएको कारण उसले स्तनपान राम्रैसँग गर्यो। तर मलाई चैँ १० दिन जति नमजासँग दुखेको थियो। त्यै भएर पनि अर्को सन्तानको बारेमा सोच्न पनि सकिनँ।
सुत्केरी स्याहार राम्रै भयो। मैले त्यति धेरै चाह राखेको पनि थिइन। चिउरा चपाउन सक्दिन थिएँ। जेठ महिना बाबु जन्मिएको भएर गर्मीले घाउ पाक्छ कि भन्ने डर चैँ थियो।
तर श्रीमानले हरेक दिन घाउ सफा गरिदिनुहुन्थ्यो। घाउ राम्रोसँग सुक्दै गयो। बरु कहिले कहीँ घाउ भएको ठाउँमा चरक्क भएको जस्तो चैँ हुन्छ अहिले पनि।
अहिले बाबु १३ वर्षको भयो। उ एकदम शान्त स्वभावको छ। उसको हजुरआमा र हजुरबाबाले नै पुरै हुर्काउनु भएको हो। अहिले भर्खर किशोरावस्थामा पुगेको छ।
आमा हुनु भनेको एकदम अनौठो कुरा रहेछ, आफ्नो बच्चा सधैँ सानो लाग्ने । आमा भएपछि आफै पनि धेरै जिम्मेवार हुने, परिपक्वता आउने रहेछ। बच्चा सँगसँगै आफै पनि हुर्केको जस्तो लाग्ने रहेछ। त्यै भएर म पनि उ सँगै १३ वर्षको भएँ भन्ने लाग्छ। म आफै पनि धेरै कुरा सिकिरहेको छु।
पुष ७, २०८१ आइतबार २०:१८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।