कसैले चाहँदैमा सरकार नबदलिने सञ्चारमन्त्रीको दाबी

कसैले चाहँदैमा सरकार नबदलिने सञ्चारमन्त्रीको दाबी

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको स्थायित्वबारे नेपथ्यबाट चलाइएको हल्लामा कुनै सत्यता नभएको दाबी गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा गुरुङले नेपाली कांग्रेस र एमालेबीचको सहमतिमा गठन भएको सरकार २०८४ को निर्वाचनसम्म तलमाथि नभई सञ्चालन हुने दाबी गरे।

 ‘कांग्रेस र एमालेको सदनमा एक सय ६७ सिट सङ्ख्या छ। बहुमतका लागि अरू दल खोज्न परेन। राष्ट्रिय सङ्कट समाधानका लागि मिल्नुपर्छ भन्ने प्रमुख दुई दलबीचमा समान बुझाइ रहुन्जेल सरकार कसैले चाहँदैमा फेरबदल हुँदैन’, मन्त्री गुरुङले भने।

विभिन्न क्षेत्रमा बिग्रँदै र भत्कँदै गएको अवस्थालाई सरकारले नियन्त्रणमा लिई मुलुकलाई असफल हुनबाट बचाएको अवस्था रहेको उल्लेख गर्दै उनले सामाजिक क्षेत्रमा देखिएको असहिष्णुताको वातावरण हटाउनसमेत सफल भएको दाबी गरे।

मुलुकमा राजनीतिक अस्थिरताका कारण नीतिगत अस्पष्टता, लक्ष्यअनुरूप बजेट कार्यान्वयन र राजस्व सङ्कलन नहुँदा राष्ट्रिय गौरवको आयोजना समयमा पूरा हुन नसकेको भन्दै उनले व्यापार घाटा बढेको र  निर्माण सामग्री आयात ठप्प हुन गई सङ्कटपूर्ण परिस्थितिमा वर्तमान सरकार गठन गरिएको दाबी समेत गरे।

पुष ७, २०८१ आइतबार १९:४४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।