रवि लामिछानेविरुद्धको पूरक अभियोग पत्रमा दाबी : कृत्रिम पात्र खडा गरेर ऋण, अभियोग छल्न झुट बोले

रवि लामिछानेविरुद्धको पूरक अभियोग पत्रमा दाबी : कृत्रिम पात्र खडा गरेर ऋण, अभियोग छल्न झुट बोले

काठमाडौँ­: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई प्रतिवादी बनाउँदै आइतबार दायर भएको पूरक अभियोग पत्रमा उनले  कृत्रिम पात्र खडा गरेर सूर्यदर्शन सहकारीमा ३ करोड ३७ लाख ठगी गरेको आरोप र बयानमा झुट बोलेको दाबी गरिएको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले कास्कीले आइतबार  जिल्ला अदालत समक्ष मुद्दा दर्ता गरेको हो। अभियोग पत्रमा उनीमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग छन्।

पूरक अभियोग पत्रमा रविसहित जीवी राई,  कैलाश कुमार दर्लामी, धिरज कुमार दास, कुमार रम्तेल, हेमन्त अधिकारी, प्रमोद भट्टराई, थान बहादुर बुढामगर, भूपेन्द्र राई, अनुज नकर्मी, शिव बहादुर गुरुङ, भविश्वर अर्याल, आइश्मा गुरुङ,  कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठले एक आपसमा सरसल्लाह गरी सहकारीको रकम दुरुपयोग गरेको उल्लेख छ।

सुरुवाती र  पूरक जाहेरी समेत लिएको प्रहरीले  उनीहरूले एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ हिनामिना गरेको अभियोग लगाएको छ। व्यक्तिगत लगानी समेत नगरी सहकारी संस्थाको रकम अपचलन गरेको, हिनामिना भएको बचत रकम लगानी गरी आर्थिक लाभ लिएको पूरक अभियोग पत्रमा उल्लेख छ।

जताततै झुटै झुट

पूरक अभियोजन पत्रमा लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोडको ऋण खडा गरेको गोश्वारा भौचर बरामद भएको र यो नखुलोस् भन्न कृत्रिम पात्र खडा गरेको उल्लेख छ । अभियोग पत्रमा केही व्यक्तिको खातालाई भिआइपी अकाउन्ट भनी विवरण उल्लेख गरेको देखिएको छ।

रवि सहितका समूहले सहकारी ठगीबाट आएको रकम नभए पनि चेक वित्तीय संस्थामा जम्मा गरेको र सरकारी निकायमा झुटा विवरण  पेस गरेको अभियोग पत्रमा उल्लेख छ । सहकारीको ऐन नियम कुनै पनि पालना नगरी आफू खुसी गरेकाले पनि आपराधिक मनसाय समेत  देखिएको उल्लेख छ।

श्रीमतीको खातामा समेत सहकारीको रकम

 लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदा आफ्नो खातामा मात्रै हैन सहकारीको पैसा श्रीमती निकिता पौडेलको खातामा समेत राखेको देखिन्छ। प्रतिवेदनमा उल्लेख भए अनुसार रवि लामिछाने ३० लाख ८६ हजार ७ सय ७१ रुपैयाँ अनि उनको श्रीमती निकिता पौडेलले चलाउँदै आएको गोपीकृष्ण मुभिजको  खातामा ८१ लाख २५ हजार जम्मा गरेको देखिएको छ।

आफ्नो खातामा मात्रै हैन सहकारीको रकम अन्य खातामा समेत जम्मा गरेको देखिएको छ। जीवी ग्रुप अफ कम्पनीज् प्रालिबाट बरामद भएको विवरण अनुसार सात वटा संस्थाको खातामा ६० करोड ८० लाख ७४  हजार १ सय ६५ रुपैयाँ देखाइ स्वेट शेयर लिएको देखिएको हो।

सहकारीको ६७ करोड ५६ लाख ४६ हजार ५ सय ६० रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा ल्याइ दुरुपयोग गरेको उल्लेख गरेको  छ। रविले स्वेट शेयर बापत ७५ लाख लिएको भन्ने बयान नै झुटो दिएको अभियोग पत्रमा उल्लेख छ। कम्पनीमा तलब बापत शेयर दिने कानुनै नभएको अवस्थामा कसरी उनले शेयर लिए भन्ने प्रश्न उठेको पूरक अभियोग पत्रमा उल्लेख छ। 

अभियोग पत्रमा लामिछानेको संलग्नता देखाउने प्रमुख आधार उनले हस्ताक्षर गरेका  चेकको रकम कहाँ कहाँ गयो भन्ने विवरण पनि हो। पत्रमा उल्लेख भए अनुसार लामिछानेको हस्ताक्षरबाट नेचर हर्ब, नेचर नेष्ट  र जीवी ग्रुपमा रकम प्रवाह गरी रकम अपचलन गरेको उल्लेख छ।

सहकारीको रकम हिनामिना गर्न किर्ते कागजात तयार गरिएको, ऋण लिखतहरू गोश्वारा भौचरहरू तयार गर्दा वास्तविक वतन नखुलाई काल्पनिक ठेगाना लेखि  सङ्गठित अपराध गरेको उल्लेख छ।

अभियोगमा लामिछानेले व्यक्तिगत दायित्व एक करोड ७५ लाख र गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको ५ करोड ६१ लाखरुपैँया मध्येको एक करोड ६२ लाख ६५ हजार  रुपैयाँ गरी ३ करोड  ३७ लाख ६५ हजार बिगो कायम गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रालिमा आएको रकम अवैध हो भन्ने लागेन : रवि लामिछाने

मिति २०७७  असार ३१ गते सहकारीमा नाम थर रवि लामिछाने, ठेगाना पोखरा ८ सृजनाचोक लेखेर रु.१,००,००,०००.०० (एक करोड) ऋण देखाइएको भन्ने कुरा यसै वित्तीय विश्लेषण र संसदीय समितिमा बयान दिन जाँदाको क्रममा आधिकारिक रूपमा थाहा पाएको हुँ।  सहकारीबाट रकम लिने कार्यमा म कुनै पनि किसिमबाट संलग्न रहेको छैन ।

सहकारीको रकम मैले उपभोग समेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन।  सहकारी संस्थाबाट मैले ऋण लिएको भए ऋण तथा ब्याज तिर्नको लागि पत्र तथा ताकेता आउनुपर्ने थियो।

 गैर कानुनी ढङ्गबाट ऋण लिइएको मलाई जानकारी छैन। मलाई जानकारी भएको खण्डमा यिनीहरूको कर्तुत बाहिर आउने डर समेत राखी योजनाबद्ध र गोप्य रूपमा गैर कानुनी तरिकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत क्यापिटलाइज्ड गरिएको रहेछ भन्ने उल्लेख गरेको थिएँ ।

 रवि लामिछानेको नाउँमा सहकारीको कम्प्युटर लेखा प्रणाली सिस्टममा अभिलेखीकरण गरिएको रवि लामिछानेको नाम उल्लेख भई खोलिएको बचत र ऋण खाता मेरो उपस्थिति, मन्जुरी र जानकारीमा खोलेको अवस्था खोलिएको हैन।

उक्त खाता खोल्दा कम्प्युटर प्रणालीमा पूर्ण विवरण समेत भरेको नपाइएको हुँदा सो खाता म रवि लामिछानेको हुने कुरै भएन, म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन।

 उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्ताबेज गोर्खा मिडियामा प्राप्त छैन/थिएन।  गोर्खा मिडियामा प्रबन्ध निर्देशकको आधिकारिक जिम्मेवारी मिति २०७७ साल   पुस  २५ को निर्णय बमोजिम मिति २०७७ पुस ३० गते नियुक्ति पत्र सहित दिइएको थियो।

गोर्खा मिडिया नेटवर्कको कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राई समेतले मलाई टेलिभिजनमा लैजाँदै गर्दा १५९% स्वेट शेयर, आकर्षक एडभान्स र तलब सहितको सेवा सुविधा दिने भनी विश्वास दिलाई सहमति र सम्झौता समेत गरी लैजानु भएको कारण कम्पनीको सञ्चालकहरू गितेन्द्र बाबु राई र छविलाल जोशीले शेयर बाँडफाँडको कार्य गर्दै रहँदा सहमति र सम्झौता अनुसार मलाई मिति २०७७ साल चैत्र महिना देखि १५% शेयर सदस्यमा समेत राखेका हुन्।

लेखा परीक्षण प्रतिवेदनमा पनि सहकारीसँग ऋण लिएको कतै उल्लेख छैन। नयाँ कम्पनीमा कयौँ व्यक्ति, भेण्डर, वित्तीय संस्थाहरूलाई उनीहरूसँग गरिएको सम्झौता एवम् कार्यकारी अध्यक्ष तथा लगानीकर्ता गितेन्द्र बाबु राईको निर्देशनमा अनगिन्ती चेकहरू मार्फत भुक्तानी गएको थियो।

हरेक भुक्तानीको प्रक्रिया लगानीकर्ता गितेन्द्र बाबु राईले आफ्नो नियन्त्रणमा राखी तह तहमा भेरीफाई (क्लियरिङ) गरी चेक जारी वा हस्ताक्षर गराउँथे। हरेक चेकहरूसँग ती चेकहरू दिनु पर्ने कारण सहितको सपोर्टिङ डकुमेन्ट, विल भौचर हुन्थे अथवा त्यस्तो नभएको अवस्थामा कार्यकारी अध्यक्षको निर्देशनबाट पनि चेकहरू दिइने प्रचलन हुन्थ्यो।

त्यसमाथि मेरो कार्यकालमा उल्लिखित सहकारीहरूबाट कुनै ऋण लिने निर्णय भएको छैन।  सहकारीबाट रकम ल्याउने विषयमा मसँग औपचारिक वा अनौपचारिक रूपमा सञ्चालक कोही कसैले कुनै पनि तवरबाट जानकारी वा सूचना गराइएको छैन थिएन।

त्यसैले सहकारीलाई नै गोर्खा मिडियाले चेक दिँदा पनि कनै ऋणको साँवा, व्याज वा किस्ता हो भन्ने बुझ्नु पर्ने एउटा पनि आधार र कारण थिएन। कुनै सहकारीबाट ऋण तिर्न भन्ने कुनै सूचना, जानकारी, पत्र लगायतको कुनै ताकेता भएको अवस्था समेत थिएन।

 प्रस्तुत चेकहरू या त मैले माथि उल्लेख गरे जस्तै मैले विश्वासमा हस्ताक्षर गरेर छोडेको खाली चेकहरूको दुरुपयोग , या त लगानीकर्ता गितेन्द्र बाबु राईको निर्देशन बमोजिम मेरो जानकारी विना मलाई समेत झुक्यानमा पारी वा पहिला मलाई चेकमा दस्तखत गराई पछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा राख्ने कार्य गरेको चेकहरू हुन सक्छन्।

रकम कम्पनीमा कामको चाप र उपत्यका बाहिरको यात्रा गर्नु पर्दाको क्रममा कम्पनीको काम नरोकियोस् भन्ने उद्देश्यले मैले कतिपय अवस्थामा कम्पनीका सञ्चालक समेतको निर्देशनमा विश्वास गरी खाली चेकमा समेत दस्तखत गरेर छाड्ने गरेको थिए।

ती चेकहरूको दुरुपयोग गरी कम्पनीले सहकारी संस्थाको बैङ्क खाता लगायतमा चेक जम्मा गरेको भए मलाई थाहा हुने विषय थिएन। तर गोर्खा मिडियाले कुनै पनि सहकारी संस्था, व्यक्ति र कम्पनीसँग ऋण लिने भनी सम्झौता तथा बोर्ड निर्णय नगरेकाले उपरोक्त भुक्तानीहरू मेरो जानकारीमा रहेसम्म कुनै ऋणको किस्ता, साँवा वा व्याज होइनन्।

इलाका प्रहरी कार्यालय बुटवलबाट प्राप्त भएको जीवी ग्रुप अफ कम्पनीबाट बरामद भएको कागजातहरू मध्ये सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड समेतबाट गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा गएको रकमको सम्बधमा जीवी ग्रुप अफ कम्पनीज् प्राइभेट लिमिटेडमा के कस्ता विवरणहरू, के कस्ता आधारबाट राखिन्छन् भन्नेबारे मलाई जानकारी भएन।

उक्त कम्पनीको कुनै पनि आधिकारिक र अन्य बमोजिम नभएको हुँ। सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनले सरकारी निकायहरूबाट स्वीकृति लिने कर कट्टी गर्ने लगायतका चरण पार गरेको हुँदा उक्त कम्पनीमा आएका रकम अवैध हो भन्ने कुराको बारेमा तत्कालीन समयमा कुनै अविश्वास गर्ने कारण थिएन।  

पुष ७, २०८१ आइतबार १९:३७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।