रविविरूद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड बिगो दाबी, पत्नी निकिता पनि प्रतिवादी

रविविरूद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड बिगो दाबी, पत्नी निकिता पनि प्रतिवादी

काठमाडौं : सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ। 

निकितासहित ५ जनालाई प्रतिवादी बनाएर सम्पत्ति जफत गर्ने प्रयोजनको लागि आज कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। 

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ।

उनले कास्की जिल्ला अदालतमा रविविरूद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अदालतमा अभियोग पत्र दर्ता बताइन्।  

सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ जरिबानासहित बिगो दाबी गरिएको छ। 

रविसहित पूर्वडिआइजी छविलाल जोशी, रामप्रसाद खनाल र कर्मचारी लीला पछाईविरुद्ध सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र संगठित अपराधको कसुर अभियोग पत्र दर्ता भएको छ।

१९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको अभियोग दर्ता हुँदा अन्यका हकमा सहकारी ठगीको अभियोग दर्ता भएको छ।

पोखराको सूयदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रवि गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए।

उनीमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ।  

पुष ७, २०८१ आइतबार १४:१९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।