संविधान संशोधनको प्रक्रियाबारे गगन भन्छन् 'पहिला कांग्रेस-एमालेबीच समझदारी अनि माओवादी-मधेशवादीसँग संवाद'

संविधान संशोधनको प्रक्रियाबारे गगन भन्छन् 'पहिला कांग्रेस-एमालेबीच समझदारी अनि माओवादी-मधेशवादीसँग संवाद'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि चाँडै संयन्त्र बनाउने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सय दिने अभियान कार्यक्रममा बोल्दै उनले सरकारमा रहेका दुई ठूला राजनीतिक दलहरू कांग्रेस र एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरू गर्ने बताए। 

‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ। अब केही दिनभित्रमा नेपाली कांग्रेस र एमालेले एउटा संयन्त्र बनाउँछ। त्यो संयन्त्र बनाएर यसलाई पनि हामी सम्हाल्छौं। यसलाई सम्हालेर कांग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्यूनतम् संविधानमा चलाउनुपर्ने, चलाउन सक्ने विषयमा समझदारी कायम गर्छौं र त्यसपछि अरू राजनीतिक दलहरूसँग संवाद गर्छौं, उनले भने। 

उनले कांग्रेसले र एमाले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेशवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने जानकारी दिए। 

‘संविधान भनेको कांग्रेस एमालेले चाहेर मात्रै संशोधन हुने कुरा होइन। हामी माओवादी, मधेशका अरू दलहरुसँग संवाद गर्छौं। दलहरुको बीचमा समझदारी बनाउँछौं र न्यूनतम कुराहरु संशोधन गर्छौं। एउटा राजनीति दलले निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेला पनि अर्को एउटा सानो दलसँग टाँसिन जानुपर्ने जुन एउटा बाध्यता छ त्यसबाट संविधानलाई बाहिर निकाल्न पर्नेछ, उनले भने। 

उनले २०८४ को चुनावको कुरा गर्दैगर्दा ०८१/८२/८३ को जिम्मेवारीबाट भाग्न नपाइने बताए। कांग्रेसले तीन वर्षमा ०८४ मा यो-यो गर्यौं भन्ने हैसियत बनाएर जानुपर्ने भन्दै सरकारको धेरै फेरबदल र चकचक गर्ने च्याप्टर बन्द गर्नुपर्ने उनको तर्क छ। 

उनले भने, ‘२०७९ सालको चुनावमा एमाले पनि गयो, कांग्रेस पनि गयो, माओवादी गयो। मिलेर चुनाव लड्यो। यि सबै कुराको बिचमासबै चुनावमा जाँदै गर्दा कसैले पनि जिम्मा लिएनौं। सबैले पाँच वर्ष बर्बाद द भयो, अब म राम्रो गर्छु भन्यौं , पाँच वर्षको जिम्मा लिने कोही भएन। तर ०८४ को चुनावमा त्यस्तो गर्न पाइँदैन। जिम्मा लिनुपर्छ। कसले लिने भन्दा हाम्रो पार्टीले जिम्मा लिएर जानुपर्छ। सरकारको धेरै फेरबदल, यताउता गर्ने, धेरै चकचक गर्ने, यस्तो च्याप्टर बन्द गर्नुपर्छ।’

उनले देशभरीको चुनावहरु हेर्दा एकदमै धेरै मङ्गो भएको भन्दै यसलाई छलफलको विषय बनाउन आवश्यक रहेको बताए।  

पुष ७, २०८१ आइतबार १२:५८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।