‘डेढ वर्षपछि देउवालाई सत्ता हस्तान्तरण गर्छु’ भनेरै बित्यो ओलीको चार महिना, उद्घाटन र भाषणमै जान्छ हप्ता दिन

‘डेढ वर्षपछि देउवालाई सत्ता हस्तान्तरण गर्छु’ भनेरै बित्यो ओलीको चार महिना, उद्घाटन र भाषणमै जान्छ हप्ता दिन

काठमाडौं : गएको असार ३० मा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भए। संसद्को पहिलो ठूलो दल कांग्रेसको समर्थनमा झन्डै दुईतिहाई नजिकको शक्तिशाली सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले सुशासन, दिगो विकास, स्थायित्व, संविधान संसोधनसहितको 'सुखी नेपाल, समृद्ध नेपाली'को अभिभारा लिएको बताउँदै आएका छन्। तर, ब्यबहारमा हेर्दा प्रधानमन्त्री नियुक्त भएको चार महिना बितिसक्दा पनि भाषण गर्नुबाहेक अन्य केही उपलब्धि देखिंदैन। 

ओलीले हरेक पटक भाषण गर्न मञ्चमा उभिएर भन्ने वाक्य हो- सरकार ढल्दैन, कांग्रेस-एमाले गठबन्धन ०८४ सम्मै जान्छ, डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्छु आदि-इत्यादि। यसबीचमा प्रधानमन्त्री ओलीले आफ्नो समय खर्चेका मध्ये प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, रास्वपा सभापति रवि लामिछाने र मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्व खरो रूपमा आलोचना गर्नमा पनि हो। 

कात्तिक ७ मा आफ्ना एक दिनको अवधिमा भएका प्रगति विवरणको फेहरिस्त प्रस्तुत गरेका प्रधानमन्त्री ओलीले सबै मन्त्रालयले २७४ वटामध्ये १८५ कामहरू सम्पन्न गरेको सुनाए। त्यस क्रममा उनले सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरे। जुन आफैंमा हास्यास्पद थियो। किनभने भदौमा आएको बाढी-पहिरोबाट देश दुखिरहेको बेला उनी अमेरिकामा थिए। अमेरिकाबाट फर्किंदा पनि सरकारले सकेको गरेको तर, मौसम पूर्वजानकारी दिएर नआउने भएकाले त्यसअनुसार सरकारले काम गर्न नसकेको भन्दै गैरजिम्मेवारीपूर्ण प्रतिक्रिया दिएका थिए। त्यसका अलावा सय दिनमा सुशासन र भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा राखेर काम गरिरहेको उनको दाबी थियो।

उनले सय दिनको फेहरिस्त सुनाउँदै भनेका थिए, ‘आज हामीले सत्ता सम्हालेको एक सय दिन पूरा भएको छ। तर, म यहाँ तपाईंहरूलाई तथ्याङ्कको लामो सूची सुनाउँदै छैन। किनकि अङ्कहरू आफैंमा के हुन् र? वास्तवमै महत्त्वपूर्ण कुरा भनेको ती अङ्कहरूले छोएका जीवन, हल्का बनाएका पीडा र देखाएका सुन्दर भविष्य हुन्।’ 

प्रधानमन्त्री ओलीले त सत्ता गठबन्धन बनाउँदा नै देशमा सुशासन कायम गर्ने र संविधान संशोधन गर्ने एजेन्डासहित दुई ठूला दल कांग्रेस र एमाले मिलेको दाबी गरेका थिए। संविधान संशोधन मुल एजेण्डामाथि भने छलफल हुनै छाडेको छ। त्यसबारे सत्ता गठबन्धनभित्रै आलोचना हुन थालेको छ। कांग्रेस नेता डा शेखर कोइराला संविधान शंसोधन गर्ने विषय जटिल र लामो प्रक्रिया भएको हुँदा तत्काल यसको प्रक्रिया थाल्नुपर्ने बताउँदै आइरहेका छन्। सरकारको गतिविधि ठीक नभएको भन्दै प्रत्येकजसो सार्वजनिक कार्यक्रममा उनले असन्तुष्टि जनाइरहेकै छन्। अझ प्रमुख प्रतिपक्ष दल माओवादीले त सडकबाटै विरोध सभा गरेर सरकारको कामकारबाहीबारे पटक-पटक प्रश्न उठाइरहेको छ। 

फेरिपनि प्रधानमन्त्री भाषणप्रेमी ओली दिनदिनै उद्घाटन र भाषणमा व्यस्त हुने गरेका छन्। पछिल्ला दिनहरूमा भाषण र उद्घाटनमा गैर विपक्षीलाई खरो शब्दमा आलोचना गर्नमै समय कटाएका प्रधानमन्त्री ओलीका हप्ता दिनका गतिविधिबारे फेहरिस्त पनि उस्तै छ। 

मंसिर ३० मा उनले ज्यापू समाजको कार्यक्रमलाई सम्बोधन गरे। त्यही दिन ओलीले एमालेको संगठन विभागद्वारा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरे। उक्त कार्यक्रममा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधूप नगर्न नेता-कार्यकर्तालाई निर्देशन दिए।

ओलीले भनेका थिए, ‘पूर्वराष्ट्रपतिकहाँ गएर (पार्टीमा) आइदिनुपर्यो भन्ने कुराको कुनै तुक छैन। उहाँ (विद्या भण्डारी) सर्वोच्च भइसकेको व्यक्ति हो, आवश्यक पर्दा हाम्रै सल्लाहमा आउनुहुन्छ। भेटेर गल लगाइरहनु पर्दैन।’

मंसिर २९ मा ओलीले काभ्रेको धुलिखेलमा काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गरे। सम्बोधनमा ओलीले शिक्षा प्रमाणपत्र मात्र दिने खालको होइन, सिर्जना गर्ने खालको हुनुपर्छ भन्दै आत्मनिर्भर र रोजगारी दिने शिक्षा हुनुपर्ने बताए। 

मंसिर २८ मा प्रधानमन्त्री ओलीले बूढानीलकण्ठ नगरपालिकाका १, २ र ७ वडाको प्रशासनिक भवन उद्घाटन गरे। त्यही दिन कपनमा ह्यान्डबल बहुद्देश्यीय खेल मैदानको उद्घाटन गरे। त्यही दिनै ओलीले नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गरे। त्यतिले मात्र नपुगेर, त्यही दिन प्रधानमन्त्री ओलीले नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौं फोरमलाई सम्बोधन गरे। 

मंसिर २७ मा अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धित विवाद समाधान सम्मेलनको उद्घाटन गरे। त्यही दिन त्रिभुवन विश्वविद्यालयको साधारणसभालाई सम्बोधन गरे। 

प्रधानमन्त्री ओली मंसिर २६ मा तेह्रथुम पुगेर आफूले अध्ययन गरेको प्रणामी माविको विद्यालयको नयाँ भवनको उद्घाटन गरे। जुन भवन दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउन्डेसनले भवन बनाइदिएको हो। त्यस विद्यालयमा गत वर्षको एसईईमा राम्रो नतिजा नआएको सुनेर आफूमा खिन्नता आएको ओलीले बताए।

तर, ओली खिन्नता प्रकट गर्ने ठाउँमा होइन, नतिजा नराम्रो आउनुको कारण खोज्ने र समाधान गर्ने ठाउँमा पटकपटक पुगिसकेका छन्। अहिले पनि देशको कार्यकारी छन्। तर, उनी आफू पढेको स्कुलको नतिजा राम्रो नआएकाले मन खिन्न भएको भाषण गरेर फर्किए।  

मंसिर २४ मा प्रधानमन्त्री ओलीले गृहजिल्ला झापामा विभिन्न कार्यक्रमलाई सम्बोधन गरे। झापाको बेलडाँगीमा खानेपानीको उद्घाटन गरे। महारानी झोडामा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरे। झापाको गौरादहमा ताजपुरिया समाज कल्याण परिषद्को स्थापना दिवसमा सहभागी भएर सम्बोधन गरे। त्यही दिन एमालेको जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गरे। अनि सबैभन्दा बढी चर्चामा रहेको दमकको व्यापारिक कम्प्लेक्सको उद्घाटन गरे। 

मंसिर २३ मा प्रधानमन्त्रीले झापाको मानव सेवा आश्रम भवनको उद्घाटन गरे। 

पछिल्ला दिनको हालत पनि उस्तै!
प्रधानमन्त्री ओली पुस २ मा ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा प्रमुख अतिथि बने। उनले त्यहाँ ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभइ रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड वा तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा त्यहाँ नगर प्रहरीले गरिबको गाँस-बास खोसेको भन्दै असन्तुष्टि पोखे। 

त्यसको भोलिपल्ट नेपाल उत्पीडित जातीय मुक्ति समाजको स्थापना दिवस समारोहमा ओली सहभागी भए। उक्त कार्यक्रममा ओलीले राजनीतिक टिप्पणी बढी गरे। राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको प्रधानमन्त्रीले दाबी गरे। 

उनले अघिल्लो सरकारतर्फ लक्षित गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भनेझैँ मुलुकका एमाले र कांग्रेसजस्ता पार्टी हुँदाहुँदै कस-कसका केके नाच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरूले नयाँ सरकार बनाएको दोहोर्याए। अनि मानिस जातीय विभेदको विरुद्वमा सरकारले ऐन-कानूनहरू बनाउने बताए। 

पुष ४ मा प्रधानमन्त्रीले ओलीले इन्डोस्कोपी गराए। बिहीबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पतालमा ओलीको इन्डोस्कोपी गरे। तर, इन्डोस्कोपी परीक्षणमा कुनै समस्या देखिएको छैन। त्यस दिन मन्त्रिपरिषद बैठक पनि स्थगित भयो भने अन्य सबै कार्यक्रम उनी बिरामी भएकै कारण स्थगित भए। 

शनिबार नेपाल प्रिमियर लिग एनपिएलको पहिलो सिजनको विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई ट्रफी तथा मेडल दिन प्रधानमन्त्री केपी ओली मैदानमा उपस्थित भएनन्। खेल अगाडि नै एनपिएलको आयोजकले सार्वजनिक गरेको भिडियो सन्देशमा पहिला नै इटहरीमा तय भएको कार्यक्रममा जानु परेकाले खेल हेर्न मैदानमा उपस्थित हुन नसके पनि मोबाइल या टिभी जेमा सम्भव हुन्छ खेल हेर्ने बताएका थिए ओलीले। त्यस कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेसिजले मुख छाड्न र गाली गर्न सिकाउँदैन भनेर फर्किए। 

पुष ७, २०८१ आइतबार ११:३३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।