एमालेकै लाइनमा राप्रपा!, कार्यकर्तालाई सामाजिक सञ्जालमा ‘जथाभाबी’ लेख्न रोक
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी लेख्न नदिन एक कार्यविधि ल्याएको छ।
शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले व्यवस्थित र मर्यादित सामाजिक सञ्जाल सञ्चालन र प्रसारित सामाग्रीमा एकरूपता कायम गर्न, भ्रामक सामग्रीलाई निरुत्साहित गर्न, पार्टीको सामाजिक सञ्जाल रणनीतिको माध्यमबाट पार्टीलाई संगठित र व्यवस्थित गर्न केन्द्रीय प्रचार विभागले प्रस्तुत गरेको ‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि-०८१’ लाई अनुमोदन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
त्यस कार्यविधिमार्फत सामाजिक सञ्जालको प्रयोगबाट पार्टी र आम जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तार गर्दै पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन पार्टी सदस्यहरूका लागि मार्गदर्शन गर्नेछ।
पार्टीभित्र पछिल्लो समय जथाभाबी लेख्ने प्रवृत्ति बढेकोमा यो कार्यविधिले मनपरी लेख्ने प्रवृत्तिको अन्य हुने प्रवक्ता श्रेष्ठले बताए।
त्यसअघि एमालेले आफ्ना नेता-कार्यकर्तालाई नेतृत्वविरूद्व सामाजिक सञ्जालमा लेख्न र विरोध गर्न बन्देज लगाउँदै आएको छ। अझ गत भदौमा बसेको प्रदेश कमिटीको बैठकले आफ्ना नेता तथा कार्यकर्ताविरूद्ध फेसबुक तथा सामाजिक सञ्जालमार्फत गाली गलौज नगर्न, पार्टीको गोपनीयता भंग गरी मिडियामा सम्प्रेषण गर्ने कार्य बन्द गर्न निर्देशन नै दिएको छ।
त्यस बैठकले बनाएको १३ बुँदे आचारसंहितामा भनिएको छ,‘पार्टी नेता तथा कार्यकर्ताले ठाउँ कु ठाउँ पार्टी नेता र कार्यकर्ता लक्षित वा इंगित बोल्न हुँदैन। कोही कसैका बारेमा कुरा लाउँदै र धाउँदै हिँड्ने खेती गर्न नहुने र कुनै पनि अन्तरविरोधमा खेलेर वा हात हालेर नेता कार्यकर्ताहरूलाई मुछ्न वा विभाजित गर्ने कार्य गर्न हुँदैन।’
त्यसबाहेक गत मङ्सिरमा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको भन्दै प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको थियो।
एमालेबाहेक पनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलगायतले पनि आफ्ना नेता-कार्यालयविरूद्ध सामाजिक सञ्जालमा लेख्न प्रतिबन्ध लगाएका छन्।
पुष ७, २०८१ आइतबार ०९:५७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।