पाँच महिनामा १३ अर्ब चार करोडको विद्युत् भारत निर्यात

पाँच महिनामा १३ अर्ब चार करोडको विद्युत् भारत निर्यात

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा १३ अर्ब चार करोड बराबरको विद्युत् भारत निर्यात गरेको छ। प्राधिकरणले चालु आवको साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ। चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा छ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारू) मा हुने गरेको छ। त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी भारू आठ अर्ब १५ करोड आम्दानी गरेको छ।

साउनमा सबैभन्दा बढी चार अर्ब १५ करोड रूपैयाँको विद्युत् निर्यात भएको थियो भने मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रूपैयाँको मात्र निर्यात भएको छ। भदौमा तीन अर्ब ६८ करोड, असोजमा तीन अर्ब सात करोड र कात्तिकमा एक अर्ब ८७ करोड रूपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढीपहिरोका कारण मुख्य रूपमा चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको जानकारी दिए। माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनाहरूमा विद्युत् निर्यात घटेको र सुक्खायाम सुरु भएसँगै जलविद्युत् आयोजनाको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नुपरेको उनले बताए। 

अहिले विद्युत् निर्यात बन्द भएको छ भने आयात सुरु गरिएको छ। नदी तथा खेलानालामा पानीको बहाव बढ्न सुरू भएपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत् निर्यात पुनः सुरू हुनेछ। यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बङ्गलादेश निर्यात पनि सुरू भइसकेको छ।

चालु आवमा करिब ३० अर्ब रूपैयाँको विद्युत् निर्यातको लक्ष्य राखिएको छ। बाढीपहिरोका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको छ। 

बाढीपहिरोले माथिल्लो तामाकोशीसहित अन्य साना जलविद्युत् आयोजना र काबेली करिडोर प्रसारण लाइनमा क्षति पुर्याएको थियो। माईखोलामा आएको बाढीले काबेली करिडोरमा क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाका करिब दुई सय मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो। यसका कारण कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित भएको थियो।

माथिल्लो तामाकोशी यही पुस १० भित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ। हिउँद सुरू भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन कम हुनेछ। 

उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जाने छ। प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा विभिन्न २८ आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो। त्यस अवधिमा १७ अर्ब ६ करोड रूपैयाँको विद्युत् निर्यात गरिएको थियो। गत आवमा आयातभन्दा १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो।

पुष ७, २०८१ आइतबार ०८:३८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।