एकैवर्ष ३४ लाखको अलैंची उत्पादन गरेका पूर्ववडाध्यक्ष खनाल, भन्छन्- राजनीति गर्नेले केही न केही काम गर्नुपर्छ

एकैवर्ष ३४ लाखको अलैंची उत्पादन गरेका पूर्ववडाध्यक्ष खनाल, भन्छन्- राजनीति गर्नेले केही न केही काम गर्नुपर्छ

इलाम : नेपालमा केही गर्न सकिएन। राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ। तर, गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ। पछिल्लो समय कृषि पेशा छाड्नेको सङ्ख्या त बढ्दै गएको छ। तर, कृषि पेशा गरेर मनग्गे कमाउने किसान गाउँमा नै रमाइरहेका छन्।
 
कृषि पेशाबाट नै गर्न सके स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहणको पात्र बन्नुभएको छ इलामको सन्दकपुर गाउँपालिका-२ का गिरीराज खनाल। उनले यसै वर्ष ३४ लाखभन्दा बढीको अलैंची उत्पादन गरेका छन्। उनी पूर्व वडाध्यक्षसमेत हुन्। 

सन्दकपुर-२ माइमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन अलैंची उत्पादन गरेको बताए। अलैंचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात् प्रतिमन एक लाख १५ हजार छ। तीस मन अलैंचीको प्रतिमन एक लाख १५ हजारको मूल्यले पनि ३४ लाख ५० हजार पर्न जान्छ। यो उनको एकै वर्षको आम्दानी हो।
 
गाउँगाउँमा पुगेका व्यापारीले महँगो मूल्य लगाउने गरेका छन्। बजारमा व्यापारीले अलैंची प्रतिमन एक लाख १० हजारमा खरिद गर्ने गरेका छन्। खनालले लामो समयदेखि अलैंचीखेती गर्दै आएका छन्। बीचमा किसानले लगाएको अलैंची मासिँदा पनि आफूले सो खेती नछाडेको उनले बताए। बीचमा दानाबाट समेत अलैंची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसानसमक्ष बिरुवा पुर्याएको खनालले बताए। 

धेरै मेहनत नलाग्ने अलैंची खेतीबाट मनग्गे आम्दानी लिन सकिन्छ। सुरुमा बिरुवा रोप्दा बारी फडानी गर्न र बिरुवा लगाउन धेरै खर्च हुने भए पनि त्यसपछि अलैंची उत्पादन भएपछि टिप्न र छोडाउन बढी खर्च हुने गरेको किसान खनालको भनाइ छ। बीचमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ। यस कार्यमा खास खर्च नलाग्ने उनले बताए। 

हाल खनालले ३३ रोपनी र २४ रोपनीका दुई प्लटमा अलैंची खेती गरेका छन्। हिउँदको समयमा तुषारो पर्ने भएकाले यसबाट जोगाउन ‘ग्रीन नेट’ लगाउने गरिन्छ। आगामी वर्षदेखि उत्पादन बढ्ने उनले बताए। अलैंची लगाएको तीन वर्षदेखि उत्पादन सुरू हुन्छ। गएको वर्ष लगाएको नयाँ बिरुवाबाट पनि उत्पादन बढ्ने उनले बताए। 

राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने खनाल बताउँछन्। राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नुपर्ने भएकाले आफूले कृषि पेशा गर्ने गरेको उनी बताउँछन्। खनाल जस्तै जिल्लाका अन्य किसानले समेत यस वर्ष अलैंचीबाट मनग्गे आम्दानी गरेका छन् । 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि चार अर्ब १५ करोड बराबरको अलैंची निकासी भइरहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैंची मेची भन्सारबाट निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कम हो। आव २०८०/८१ मा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैंची निर्यात भएको तथ्याङ्कमा उल्लेख छ। 

अलैंची औषधीय गुण भएको नगदेबाली हो। यसबाट विशेष गरेर औषधिजन्य वस्तु निर्माण हुने गरेका छन्। गर्मीमा अलैंचीलाई शीतलता प्रदानका लागि प्रयोग गर्ने गरिन्छ। मसलाका रूपमा पनि अलैंचीलाई प्रयोग गर्ने गरिन्छ। गाउँघरमा विशेष गरेर मासु पकाउँदा अलैंचीलाई जिरासँग मिसाएर पकाइने गरिन्छ। सर्वत पानीमा समेत यसलाई प्रयोग गरिन्छ। तर, नेपालबाट विदेश निर्यात हुने अलैंचीबाट अत्तर (पर्फ्युम)समेत निर्माण हुने गरेको छ।  

भारतको बाटो भएर विदेश निर्यात हुने अलैंची धेरै मात्रामा चाहिँ औषधिका रूपमा प्रयोग हुने गरेको छ। नेपालमा अलैंची प्रशोधन नहुँदा पनि समस्या भइरहेको छ। झापामा एउटा प्रशोधन केन्द्र भए पनि यो पर्याप्त नभएको व्यवसायीको भनाइ छ। 

पुष ७, २०८१ आइतबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।