श्रीलङ्काका राष्ट्रपति अनुरा जनवरीमा चीन जाँदै
एजेन्सी : श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायके आगामी जनवरीमा चीन जाने भएका छन्। कोलम्बोमा खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक आयातका लागि विदेशी मुद्रा समाप्त भएको सन् २०२२ को आर्थिक मन्दीको समयमा श्रीलङ्काको द्विपक्षीय ऋणको आधाभन्दा बढी हिस्सा चीनले ओगटेको थियो।
वामपन्थी नेता दिसानायके भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धताका साथ गत सेप्टेम्बरमा सत्तामा आएका हुन्। मध्यावधि संसदीय चुनावमा आफ्नो पार्टीले भारी मतान्तरले विजय हासिल गरेपछि उनले नागरिकसामु निर्वाचनका समय गरेका आफ्ना प्रतिबद्धता पुरा गर्न छिमेकी मुलुकहरूको भ्रमण गर्दै कूटनीतिक सम्बन्धलाई कसिलो बनाउने अभियान सुरु गरेका हुन्।
‘म अर्को महिनाको मध्यतिर चीन जाँदैछु,’ उनले पत्रकारसँग भने।
उनले भारतको भ्रमण गरिसकेका छन्। भारतपछि उनी चीन जान लागेका हुन्। उनी डिसेम्बर १६ मा भारत गएका थिए।
क्षेत्रीय पावरहाउस भारत हिन्द महासागर क्षेत्रमा प्रभाव जमाउन चीनसँग कडा प्रतिस्पर्धा गरिरहेको छ। श्रीलङ्का विश्वको सबैभन्दा व्यस्त समुद्री ढुवानी मार्गका लागि महत्त्वपूर्ण मानिन्छ। यो मार्गले मध्य पूर्व र पूर्वी एसियालाई जोड्छ, यसको समुद्री सम्पत्तिलाई रणनीतिक महत्वका साथ हेरिन्छ।
नयाँ दिल्लीले श्रीलङ्कामा बेइजिङको बढ्दो पकडलाई लिएर चिन्ता व्यक्त गर्दै आएको छ, जसलाई उसले आफ्नो भूराजनीतिक प्रभावको क्षेत्रभित्र रहेको देख्छ।
पुष ६, २०८१ शनिबार २१:१६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।