अहिलेको सरकारलाई असफल हुने छुट छैन : एमाले महासचिव पोखरेल

अहिलेको सरकारलाई असफल हुने छुट छैन : एमाले महासचिव पोखरेल

काठमाडौँ : एमाले महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरता समाप्त पार्न नेपाली कांग्रेससँग सहकार्य गर्नु परेको दाबी गरेका छन्। नेपाल बुद्धिजीवी परिषद्को शनिबार आयोजित छैटौँ केन्द्रीय बैठकमा उनले राजनीतिक स्थायित्वका निम्ति कांग्रेससँग गठबन्धन गर्नुपरेको बताए।

‘अब देशमा अस्थिरतालाई समाप्त पार्ने, राजनीतिक स्थायित्व कायम गर्ने तथा आवश्यकताअनुसार संविधान संशोधन गर्दै संरचनागत सुधारका लागि दुई ठुला पार्टी मिलेका हुन्। प्रमुख पार्टीले मिल्नु परेको हो,’ उनले भने।

प्रमुख दुई पार्टी मिलेर बनेको वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै पोखरेलले सरकारलाई सफल बनाउन पार्टीका वरिष्ठ नेताहरूले सक्रियतापूर्वक आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले एमालेलाई अझ सुदृढ एवं सङ्गठित बनाउन नेता तथा कार्यकर्ताको सहयोग आवश्यक भएको बताए। परिषद्का अध्यक्ष प्राडा दिनेशचन्द्र देवकोटाले अराजक गतिविधि रोक्न एमाले मात्र नभई सबै राजनीतिक दल र नागरिक समाज पनि लाग्नुपर्ने बताए।

पुष ६, २०८१ शनिबार २१:०७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।