स्थानीय तह उप-निर्वाचनको हारको कारण खोज्न राप्रपाले बनायो समिति
काठमाडौँ : स्थानीय तह उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरू पराजित हुनुको कारणबारे अध्ययन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले समिति गठन गरेको छ।
राप्रपाको शनिवार बसेको कार्यसम्पादन समिति बैठकले स्थानीय तहको उपनिर्वाचनमा भएको कमजोरी र त्यसको प्रभावबारे अध्ययन गर्न सङ्गठन विभागका प्रमुख तथा वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।
सो समितिमा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रमबहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य छन्।
बैठकमा मङ्सिर १६ मा भएको स्थानीय तहको उपनिर्वाचनबारे गम्भीर समीक्षा समेत भएको थियो।
'हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको राप्रपाले गम्भीरतापूर्वक समीक्षा गरेको छ। निर्वाचनको परिणाम राप्रपाको पक्षमा हुन नसके पनि अधिकांश स्थानमा मतमा सुधार भएको छ,' राप्रपाको निर्णयमा भनिएको छ 'यद्यपि परिणाम विजयका लागि पर्याप्त हुन सकेन। प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार गर्ने, पार्टी निर्माणको अवसरको रूपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउने निर्णय गरिएको छ।'
पुष ६, २०८१ शनिबार २०:३२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।