सुदूरपश्चिमसँग हारमा ह्याट्रिक रोकेर एनपिएलको पहिलो विजेता बन्यो जनकपुर, दोस्रो हारमै सुपको उपाधि गायब
काठमाडौँ : नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमसँग भएको दुई भेटमा दुबैमा हार ब्योहोरे पनि अन्तमा लिगको पहिलो सिजनको विजेता बन्यो जनकपुर बोल्ट्स।
प्रारम्भदेखि नै लिगमा सहभागी आठ टिममध्ये बलियो देखिएको जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै पराजित भएर कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नु परेको थियो। कर्णाली याक्सलाई पराजित गरेर फाइनल पुगेको टिमले शनिवार सुदूरपश्चिमले दिएको एक सय ८५ को चुनौती पार गर्दै पहिलो सिजनको विजेता बन्यो।
समूह चरणका सात खेलमध्ये पाँचौँ खेलमा जनकपुरले जम्मा २ खेल मात्र हारेको थियो। आठ खेलमध्ये पाँचौँ खेलमा सुदूरपश्चिम रोयल्ससँग थियो।
त्यस अगाडि उसले विराटनगर किङस्लाई ८ विकेटले हराएको थियो। कर्णाली याक्सलाई आठ विकेट, पोखरा एभेन्जर्सलाई सात विकेट र लुम्बिनी लायन्ससँग रोचक रूपमा एक रनले जितेको थियो जनकपुरले।
पाँचौँ खेलमा भने टिम सुदूरपश्चिम रोयल्ससँग ७२ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
छैटौँ खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको टिमले समूह चरणको अन्तिम खेल चितवन राइनोज्सँग ३२ रनले गुमाए पनि दोस्रो टिमका रूपमा प्लेअफमा पुग्यो।
पहिलो प्लेअफ सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्दा आठ विकेटले खेल गुमाएर कर्णाली याक्ससँग दोस्रो प्लेअफ खेलेको टिमले दुई विकेटले जितेर पुन सुदूरपश्चिमसँगै फाइनलमा भेट पक्का गरेको थियो।
फाइनलमा टस जितेको सुदूरपश्चिमका क्याप्टेन दीपेन्द्रसिंह ऐरीले एक सय ६० रन बनाउने लक्ष्य रहेको बताएर ब्याटिङ रोजे।
टस हारेर बलिङको जिम्मा पाएको जनकपुर बोल्टसका बलरहरू प्रारम्भमा जम्न सकेनन्। सुदूरपश्चिमका ब्याटरहरु हाबी भए। निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल बनाएर जितका लागि एक सय ८५ को लक्ष्य दियो जनकपुरलाई।
सुदूरपश्चिमका लागि सेफ अलि जेबले ४३ बलमा ८ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६९ रन जोडेका थिए। टी-२० फर्म्याटमा एक सय ८५ को लक्ष्य बलियो मानिन्छ।
तर जनपुरका खेलाडी सुदूरपश्चिमका खेलाडीसँग ह्याट्रिक हारका लागि तयार थिएनन्। कठिन मानिएको लक्ष्य पुरा गरिछाड्यो।
फाइनलमा ५ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सलाई उपाधि विजेता हुनबाट रोक्दै पहिलो ट्रफी आफ्नो टिममा ल्याए नै १ करोड १० लाख रुपैयाँ समेत जिते।
सुदूरपश्चिमको लक्ष्य पुरा गर्न जनकपुरले निर्धारित २० ओवरै खेल्नु पनि परेन। १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्यो।
जनकपुरको जितमा मिलान्थाले सर्वाधिक ८७ रन जोडेर टिमको जित सहज बनाएका थिए।
मिलान्थाले ४९ बलमा ९ चौका र ४ छक्का हानेर ८७ रन बनाएका थिए।
पहिला बलिङ गर्दा जनकपुर बोल्ट्सका खेलाडीहरूले धेरै क्याच मिस गरेका थिए। त्यो समस्या सुदूरपश्चिममा पनि देखिएको थियो। क्याप्टेन ऐरीले नै मिलान्थाको क्याच मिस गरेका थिए।
क्याच मिस नभएको भए खेलको नतिजा पल्टिन पनि सक्थ्यो। किनकि त्यो बेलामा मिलान्था ६५ रनमा थिए।
खेलको अन्तिमतिर सुदूरपश्चिमका बलर जनकपुरका ब्याटरमाथि हाबी भए पनि बाँकी बल अनि जितका लागि आवश्यक रनको मात्रा निकै कम थियो। र लक्ष्य सहजै पुरा पनि भयो।
अन्तमा लय बिग्रँदा उपाधि गुम्यो
फाइनलसम्म पुग्दा सुदूरपश्चिमले जम्मा एक खेल मात्रै गुमाएको थियो। लिग चरणको चौथो खेलमा चितवन राइनोज्सँग ३३ रनले पराजित भएको थियो।
विराटनगरसँगको पहिलो खेल ९० रनको अन्तरले शान्दाररुपमा जितेको थियो। काठमाडौँ गुर्खाज्लाई ७३ रनले हराएको सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो।
जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको टिमले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएर क्वालिफायर पक्का गरेको थियो। अन्तिम खेलमा उसले कर्णाली याक्सलाई ६ विकेटले हराएको थियो।
क्वालिफायरमा जनकपुर बोल्ट्सलाई सहजै आठ विकेटले हराएर फाइनलमा पुगेको सुदूरपश्चिमले जितलाई निरन्तरता दिन सकेन र पहिलो उपाधिको विजेताको रेकर्ड राख्न सकेन। ऐरीले ट्रफी बोक्न पाएनन्। कारको चाबीमै चित्न बुझाउनुपर्यो।
पुष ६, २०८१ शनिबार १८:४३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।