डा. सन्देशको उपचार अनुभव : सामाजिक सञ्जालको भिडियो हेरेर कतिपय बिरामी ‘मेरो टाउकोमा ट्युमर छ, सिटी स्क्यान गर्नुपर्यो’ भन्दै आइपुग्छन्

डा. सन्देशको उपचार अनुभव : सामाजिक सञ्जालको भिडियो हेरेर कतिपय बिरामी ‘मेरो टाउकोमा ट्युमर छ, सिटी स्क्यान गर्नुपर्यो’ भन्दै आइपुग्छन्

डा. सन्देश पन्थी मधुमेह, थाइरोइड तथा हार्मोन (इन्डोक्राइनोलोजिष्ट तथा डाइबेटोलोजिष्ट) विशेषज्ञ हुन्। एमडीमा बंगलादेश टपर उनी आठ वर्ष यता ग्राण्डी इन्टरनेश्नल अस्पतालमा मधुमेह, थाइरोइड र हार्मोन रोग विभाग प्रमुखको रुपमा कार्यरत छन्। उनै डा. सन्देशले चिकित्सकीय पेसाको सिलसिलामा देखे-भागेका अनुभव उकेरासँग साटेका छन्।

OOO
सन्देश २०४१ मा ललितपुरको नखिपोटमा जन्मिए। उनका बुवा राष्ट्रिय बीमा संस्थानका जागिरे अनि आमाको शिक्षण पेशा। त्यसैले उनको परिवारमा पढ्ने माहौल गज्जबको बन्यो। उनी विद्यालयमा सधैंजसो प्रथम नै हुन्थे। दुई दाजुभाइमध्ये उनका भाइको पनि अध्ययन अब्बल नै रहेको उनले सुनाए।

सन्देशलाई पाँच कक्षापछि बुवाआमाले अध्ययनका लागि भारतमा पठाए। उनले भारतको उतराखण्डस्थित नैनितालमा गएर होस्टेलमा बसेर पढ्न थाले। अंग्रेजी भाषामै पढाइ हुने भएपनि हिन्दी लगायत स्थानीय भाषा बोल्न भने सुरुमा कठिन भएको उनी सम्झन्छन्।

तर, सात कक्षापछि केरला राज्यको क्यालिकटमा बस्दा भारतकै जटिल भाषा मानिने ‘मलयालम’ पनि राम्रोसँग बोल्न र लेख्न सक्ने भए उनी। 
 
उनले क्यालिकटको ‘एमइएस राजा रेसिडेन्सियल स्कुल’बाट सन् २००० मा एसएलसी गरे। प्लसटु पनि भारतमै गरे। त्यसपछि सन्देश नेपाल फर्किए। अध्ययनमा अब्बल उनलाई डाक्टरी विषय नै अध्ययन गर्ने रहर जाग्यो। उनले त्यही अनुसारको तयारी गरे।

सन्देश काठमाडौं विश्वविद्यालय अन्तर्गत काठमाडौं मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि सन् २००४ मा भर्ना भए। सन् २००९ मा उनको एमबीबीएस अध्ययन पूरा भयो। 

त्यसपछि डा. सन्देशले ‘बीएण्डबी’ अस्पतालको मेडिसिन विभागमा मेडिकल अधिकृतका रुपमा करिब एक वर्ष काम गरे। एमबीबीएसपछि उनले डा. उना पन्तसँग लगनगाँठो कसे। डा. उना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। उनीहरुका ११ वर्षकी छोरी र साढे ६ वर्षका छोरा छन्। 

बंगलादेश टप गर्दाको त्यो खुसी
डा. सन्देशलाई थप अध्ययन गर्नु छँदै थियो। त्यसैले उनले बंगलादेशको ‘बंगबन्धु सेख मुजिब मेडिकल युुनिभर्सिटी’मा विदेशी छात्रवृत्ति कोटामा एमडी अध्ययनका लागि छनोट परीक्षा दिए। उनका अनुसार यो विश्वविद्यालय बंगलादेशको एक मात्र ‘मेडिकल युनिभर्सिटी’ हो। त्यो विश्वविद्यालयमा विदेशी मात्रै हैन, बंगलादेशका विद्यार्थीलाईसमेत एमडी अध्ययनका लागि छनोट हुनु ठूलै सफलता हुने डा. सन्देशको अनुभूति छ।

तर, उनले छनोट परीक्षाको त्यो सफलता हात पारे,विदेशी कोटामा अध्ययन गर्ने अवसर पाए। सबै विदेशीमध्येको कोटाबाट नै छानिएर आफूले एमडी पढ्ने अवसर पाउँदा ठूलै सफलता पाएको महसुस भएको डा. सन्देशले सुनाए। 

डा. सन्देश विश्वविद्यालयमा छनोट भएर पाँच वर्षे एमडी अध्ययनका लागि भर्ना भए। बंगलादेश पुगेपछि सुरुका केही महिना उनलाई भाषाको समस्या नपरेको हैन। तर, बंगलादेश र नेपाली दुवै भाषा संस्कृतबाट आएकाले केही मेल भएको उनले अनुभव सुनाए। केही महिनाको मेहनतपछि भने उनलाई भाषाको खासै समस्या भएन। 

डा. सन्देशको पाँच वर्षे एमडी अध्ययनको छनोटमा पर्यो, ‘इन्टरनल मेडिसिन, मधुमेह, थाइरोइड तथा हार्मोन रोग (इन्टरनल मेडिसिन, डाइबेटिज तथा इन्डोक्राइनोलोजी)’ विषय। जसमध्ये उनले पहिलो दुई वर्ष इन्टरनल मेडिसिन विषय अध्ययन गरे।

त्यसपछि बाँकी तीन वर्ष मधुमेह, थाइरोइड तथा हार्मोन रोग विषयमा विशिष्टिकृत तहको अध्ययन गरे। यो विद्यावारिधि सरहको अध्ययन हो। डा. सन्देश लिखित र प्रयोगात्मक (अस्की) दुवै किसिमका परीक्षाको नतिजामा समेतमा अब्बल हुँदै गए। उनी अध्ययन गरुञ्जेल बंगलादेशमा राजनीतिक द्वन्द्वको समस्या पनि बेहोर्नु परेन।

डा. सन्देश एमडी (विद्यावारिधि सरह) पढ्दै गर्दा आफ्नो ब्याचमा ‘मेडिसिन फ्याकल्टिमा’ बंगलादेश टपर नै भए। विदेशी विद्यार्थीले बंगलादेशभरीकै त्यो ब्याचमा टप भएकाले उनी त सेलिब्रिटी जस्तै भए।

‘त्यो ब्याचमा म बंगलादेशभरीमा नै टप भएँ,’ उनले हँसिलो मुहारकासाथ त्यो बेलाको खुसीको क्षण सम्झँदै भने, ‘त्यहाँको तत्कालीन प्रधानमन्त्री शेख हसिनाबाट स्वर्ण पदक पनि पाएँ।’ सन् २०१६ मा अध्ययन सकेर डा. सन्देश नेपाल फर्किए।

नेपाल फर्किएपछि कहाँ काम गर्ने होला भन्ने सोचमा थिए, उनी। काठमाडौं उपत्यमा जन्मे हुर्केका उनलाई काठमाडौंमै परिवारसँग बसेर काम गर्ने इच्छा थियो। नभन्दै नेपाल फर्किएको एक महिनापछि डा. सन्देशलाई एउटा फोन आयो, काठमाडौंमै जागिर खानेबारे।

उनले खोजेको पनि त्यस्तै थियो। उनलाई फोन गर्ने संस्था थियो, ‘ग्राण्डी अस्पताल।’ अस्पतालको मानव संसाधन विभागका एक कर्मचारीले फोन गरेर उनलाई अन्तर्वार्ताका लागि बोलाए। डा. सन्देशले त्यो बेला ग्राण्डी अस्पताल खुलेको छ भन्ने सुनेका थिए। तर, यो कहाँ छ? कस्तो अस्पताल हो भन्ने थाहा थिएन। 

अस्पतालमा ग्राण्डी अस्पतालका तत्कालीन मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र डा. अर्जुन कार्कीलगायतले अन्तर्वार्ता लिएको उनी सम्झन्छन्। अन्तर्वार्तामा उनी छनोट पनि भइहाले। अन्तर्वार्ता लिएपछि उनीहरुले डा. सन्देशलाई ‘भोलिबाटै काममा आउनु है बाबु’ भने। तर, भर्खर पढेर नेपाल फर्किएकाले व्यक्तिगत काम अनि थकाई मार्ने भन्दै दुई हप्तापछि काममा आउने भनेर घर फर्किए। बुबाआमालगायत परिवारसँगको सरसल्लाहपछि दुई हप्तामा ग्राण्डी अस्पतालमा काम गर्न पुगे। 

डा. सन्देशले कुनै नयाँ काम गर्नुपर्यो वा महत्वपूर्ण निर्णय गर्नुपर्यो भने श्रीमतीको त सल्लाह लिन्छन्। आज पनि उनी महत्वपूर्ण निर्णयमा ७२ वर्षीय बुवा र ६७ वर्षीय आमाको सल्लाह लिन छुटाउँदैनन्। अनि डा. सन्देश ग्राण्डी ‘अस्पतालमा डाइबेटिज, थाइरोइड र हार्मोन रोग’ विभागमा काम गर्न थाले। उनको सुरुवाती तलबसुविधा पनि राम्रै थियो। डा. सन्देशले ग्राण्डीमा काम सुरू गरेको आठ वर्ष भयो। उनी अस्पतालमा मधुमेह, थाइरोइड र हार्मोन रोग विभाग प्रमुखको रुपमा कार्यरत छन्। 

सबेरै दैनिकी सुरू
बिहान सबेरैबाट डा. सन्देशको दैनिकी सुरू हुन्छ। उनी बिहान साढे पाँच बजेतिर उठेर ११ वर्षीय छोरीसँग ‘मर्निङवाक’ गर्छन्। करिब एक घण्टाको व्यायामपछि खानपान गरेर छोराछोरी स्कुल जान्छन्। डा. सन्देश र उनकी श्रीमती अस्पतालको ड्युटीतिर लाग्छन्। 

अनि गाडी हाँकेर साढे आठ बजेतिर डा. सन्देश अस्पताल पुग्छन्। अस्पताल अनि नयाँबानेश्वर नजिकको एक क्लिनिकमा काम सकेर बेलुका करिब आठ बजेसम्म बिरामीको औषधि उपचार तथा परामर्शमा नै उनको दिन बित्छ। बेलुका करिब साढे आठ बजे उनी घर पुग्छन्। 

सुरुवाती दिनहरूमा त उनलाई बेलुका घर पुग्दा निक्कै थकित र तनाव समेत महसुस हुन्थ्यो। तर, अहिले भने बानी परेकाले सामान्य रुपमा लिन थालेको उनले अनुभव सुनाए। श्रीमान श्रीमती नै चिकित्सकीय पेसामा व्यस्त हुने भएकाले कहिलेकाहीँ त विभिन्न भोज भतेर तथा कार्यक्रममा पुग्न पनि कठिन हुने उनले सुनाए। छोराछोरी तथा परिवारलाई पर्याप्त समय दिन नपाउँदा भने उनको मनमा अलि चसक्क हुन्छ।

सामाजिक सञ्जालको प्रभावले बिरामी आफैं डाक्टरझैं 
डा. सन्देश बिरामीलाई राम्रो समय दिएर बिरामीका कुरा सुन्छन्। उनी रोगको बारेमा राम्रोसँग परामर्श दिने कोसिस गर्छन्। बिरामीले नजानेको विषय बुझाउने कोसिस गर्छन्। आजसम्म बिरामी तथा बिरामी पक्षले उपचारको विषयलाई लिएर नकारात्मक आक्षेप लगाएको उनलाई याद छैन। उनी बिरामीसँग राम्रोसँग साक्षात्कार गर्छन्।

डा. सन्देश बिरामीसँग बोल्नै नखोज्ने, बिरामीले सोधेका कुरामा झारा टार्ने गरी जवाफ फर्काउने जस्ता काम गर्दैनन्। बिरामीको अनुहारमा हेरेर कुरा गर्छन्। बिरामीसँग राम्ररी कुराकानी नगरी उनी बिरामीलाई औषधि नै दिँदैनन्। 

बिरामीसँग कुरा गर्दा आफूले कहिल्यै झर्को नमानेको उनले अनुभव सुनाए। कतिपय बिरामीहरू अशिक्षा लगायत बुझ्ने क्षमताको अभावका कारण चिकित्सकको सबै सुझाव नबुझ्न सक्छन्। तर, कतिपय शिक्षित बिरामी पनि लापरबाही (नेग्लिजेन्स) गर्दा रोगलगायतको विषयमा नबुझ्ने गरेको उनको अनुभव छ। चिकित्सकको सुझाव नलिने अनि सहि तरिकाले बुझ्ने कोशिश नगर्ने जस्ता समस्याका कारण रोग ठिक हुने सवालमा समेत समस्या हुने गरेको उनले सुनाए। 

स्वास्थ्यमा जनचेतना फैलाउने दृष्टिले सामाजिक सञ्जाल प्रयोगको सकारात्मक भूमिका नभएको हैन। तर, सामाजिक सञ्जालका नकारात्मक असरसमेत भएको डा. सन्देशले अनुभव सुनाए। कतिपय बिरामी भने सामाजिक सञ्जालबाट रोगको विषयमा अपूरो ज्ञान लिएरसमेत समस्या हुने गरेको अनुभव छ।

कतिपय बिरामी त ‘मेरो टाउकोमा ट्युमर छ, सिटी स्क्यान गरिदिनुपर्यो डाक्टरसाप’ भन्दै उनीकहाँ पुग्छन्। ‘मलाई एमआइराई गर्नुपर्यो, यो रोग लागेको छ, यसको उपचार गरिदिनुपर्यो’ भन्दै समेत आउने गरेको उनले सुनाए। 

यसरी अस्पताल पुग्ने बिरामीलाई समेत सम्झाई-बुझाई गरेर उपचार प्रक्रियाका लागि सुझाव दिने सवालमा डा. सन्देश चुक्दैनन्। 

मृत्युको मुखमा पुगेका बाजे बाँचेपछिको त्यो खुसी
हुन त चिकित्सकले उपचार गरेका मध्ये सबै बिरामी ठिक हुन्छन् नै भन्ने यकिन हुँदैन। आजसम्म चिकित्सकीय दुनियाँमा सबै बिरामीलाई सतप्रतिशत ठिक बनाउने उपचार पद्यती पनि छैन। कहिलेकाहीँ आफूले उपचार गरेका बिरामी सञ्चो नहुने अवस्था देख्दा उनको पनि मन चसक्क त हुन्छ नै। बिरामीको उपचारपछि ठिक भएको देख्दा भने डा. सन्देशलाई पनि खुसी नलाग्ने कुरै भएन। यस्तै एक जना मृत्युको मुखमा पुगेका बाजेलाई ब्यूँताउन सफल भएको प्रसंग डा. सन्देश कहिल्यै भुल्दैनन्। 

प्रसंग ६ वर्षअघिको हो। भारतीय सेनाबाट अवकाश पाएका सिन्धुपाल्चोकका करिब ७५ वर्षीय बाजेको ज्यान हट्टाकट्टा नै थियो। तर, स्वास्थ्य बिग्रिएर बाजे एक्कासि बेहोस् भएछन्। त्यसपछि ती बाजेलाई आफन्तले हेलिकप्टरमार्फ ग्राण्डी अस्पतालको आकस्मिक कक्षमा ल्याए।

डा. सन्देश ड्युटीमै थिए। अस्पतालमा बाजेको आकस्मिक गर्नु पर्ने उपचार सुरू भयो। अनि स्वास्थ्य परीक्षण गर्दा बाजेको सुगरको मात्रा अस्वाभाविक रुपमा बढेको थियो। त्यसअघि बाजेलाई सुगरको समस्या थियो भन्ने नै थाहा रहेनछ। 

डा. सन्देशको टिमले ती बाजेलाई आइसियुमा राखेर उपचार गर्यो। केही समयपछि बाजे होसमा फर्किँदै गए। उपचार थालेको भोलिपल्ट त उनी पूरै होसमा फर्किए। बाजेको स्वास्थ्यमा सुधार हुँदै गयो। करिब चार दिन आइसियुमा राखेर उपचार गरेपछि उनलाई वार्डमा सारियो।

औषधि उपचारपछि बाजेको स्वास्थ्यमा थप सुधार हुँदै गयो। करिब नौ दिन अस्पतालमा औषधि उपचार भएपछि बाजेलाई अस्पतालले डिस्चार्ज गर्यो। बेहोसी अवस्थामा अस्पताल पुर्याइएका बाजे बाँचेर अस्पतालबाट डिस्चार्ज हुँदा मुस्कुराउँदै घर फर्किएको डा. सन्देश सम्झन्छन्। 

बाजे अझै बेलाबेलामा फलोअपमा उनीकहाँ पुग्ने गरेका छन्। अहिले ती बाजेको स्वास्थ्य सामान्य अवस्थामै रहेको डा. सन्देशले सुनाए। बाजे अस्पतालमा फलोअपमा आउँदा जिन्दगी बचाइदिने चिकित्सकको टिमप्रति कृतज्ञ हुन्छन्। 

पुष ६, २०८१ शनिबार १८:५९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।