एनपिएल फाइनलमा प्रधानमन्त्री अनुपस्थित, देउवा र प्रचण्डले खेलाडी तानीतानी मेडल लगाइदिए
काठमाडौँ : नेपाल प्रिमियर लिग पहिलो सिजनको फाइनलको विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई ट्रफी तथा मेडल दिन प्रधानमन्त्री केपी ओली मैदानमा उपस्थित भएनन्।
खेल अगाडि नै एनपिएलको आयोजकले सार्वजनिक गरेको भिडियो सन्देशमा पहिला नै इटहरीमा तय भएको कार्यक्रममा जानु परेकाले खेल हेर्न मैदानमा उपस्थित हुन नसके पनि मोबाइल या टिभी जेमा सम्भव हुन्छ खेल हेर्ने बताएका थिए ओलीले।
ओलीको विकल्पमा एनपिएलका विजेतालाई मेडल र ट्रली दिन सत्ताधारी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मञ्चमा उपस्थित भएका थिए।
दुवै पूर्व प्रधानमन्त्रीले सुदूरपश्चिम रोयल्स अनि जनकपुर बोल्ट्सको फाइनल खेल हेरेका थिए। विजेता पक्का भएपछि मेडल दिन दुवै नेतालाई मञ्चमा बोलायो। दुवै प्रमुख अतिथिलाई मेडल लगाउने जिम्मेवारी दिँदा कुन खेलाडीलाई कसले मेडल लगाइदिने भन्ने अन्योल हुँदा दुवै नेताले खेलाडीलाई तानीतानी मेडल लगाइदिनु परेको थियो।
मेडल र ट्रली हस्तान्तरण कार्यक्रममा दुई अतिथि मैदानमा हुँदा कोबाट मेडल लिने भन्नेमा खेलाडीहरूबिच पनि अन्योल देखिन्थ्यो। अन्योलमा मेडल नलगाई मञ्चबाट बाहिरिन लागेका खेलाडीलाई प्रचण्डले हातै तानेर मेडल लगाइदिएको, खेलाडीलाई आउँ भन्दै हातले इशारा गरेर मेडल लगाइदिएको रोचक दृश्यहरू देखिएका थिए।
पुष ६, २०८१ शनिबार १७:४९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।