जेसिजले मुख छाड्न र गाली गर्न सिकाउँदैन : प्रधानमन्त्री ओली

जेसिजले मुख छाड्न र गाली गर्न सिकाउँदैन : प्रधानमन्त्री ओली

सुनसरी : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताएका छन्। 

नेपाल जेसिजको ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताए। 

‘ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ। ती तिनै भए पनि बुद्धि भ्रष्ट भएमा काम लाग्दैन। मानिसमा शालीनता र विनम्रता चाहिन्छ। आफूभित्र घमण्ड हुनु हुँदैन’, उनले भने। 

मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठिक मतिले प्रयोग गर्न सकेमा मानवीय सुख प्राप्त गर्न सकिने बताउँदै उनले भने, ‘जेसिजले अनुशासन सिकाउँछ, अरूलाई सम्मान दिएर मनोबल सकारात्मक बनाउन प्रेरित गर्छ। यसले मुख छाड्न र गाली गर्न सिकाउँदैन।’

विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उनले यस दिवसलाई सधैँ अपनाउन र मानवोचित हितलाई केन्द्रमा राखेर जनता र पृथ्वीलाई जोगाउन जिम्मेवार हुन आग्रह गरे। 

पुष ६, २०८१ शनिबार १७:४१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।