कपिलवस्तुमा अपमान भोगेकी समीक्षा अधिकारीको बुटवलमा एआई भिडिओ बनाएर चरित्रहत्या

कपिलवस्तुमा अपमान भोगेकी समीक्षा अधिकारीको बुटवलमा एआई भिडिओ बनाएर चरित्रहत्या
बुटवलमा भएको महोत्सवमा प्रस्तुति दिंदै समीक्षा

काठमाडौं : उद्योग वाणिज्य संघले आयोजना गरेको व्यापार मेलाका लागि शुक्रबार बुटवल पुगेकी गायिका समीक्षा अधिकारीको प्रस्तुति सम्झिनलायक थियो। प्रस्तुति यसकारण पनि अविस्मरणीय रह्यो, केही दिनअघि कपिलवस्तुमा अपमान भोगेकी समीक्षाले बुटवलमा ठूलो सम्मान पाइन्। दर्शकको साथ उस्तै बलियो थियो। 

समीक्षाले ‘धनगढीको बसमा, आउँदा मलाई ल्याइदिनु चट्ट कालो चस्मा‘, ‘कस्तो जोडी जुराइदियौ धन्य प्रभु धन्य‘ लगायतका गीत गाइन्। समीक्षाले यी गीत गाइरहँदा दर्शकदीर्घाबाट पाएको साथले उनी थप हौसिएकी थिइन्। दर्शकले पनि समीक्षाको गीतसँगै नाचेर, गाएर, हुटिङ गरेर साथ दिए। 

समीक्षा आउने भएपछि दर्शकको पनि भीड बढेको थियो भने प्रहरीले पहिलेबाटै सर्तकता अपनाएका थिए। किनकी आयोजक र प्रहरी अघिल्लोपटकको घटनाबाट सशंकित थिए। अनि त्यही अनुसारको तयारी थियो। 

तर, अहिले त्यही कार्यक्रमको एक भिडिओ समीक्षाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा भिडियो भाइरल गराइएको छ। जुन एआईको प्रयोग गरेर बनाइएको फेक भिडिओ भएको भन्दै समीक्षाले आपत्ति जनाएकी छन्। यसबारे थाहा पाएपछि शनिबार समीक्षाले साइबर ब्युरोमा उजुरी दिने बताएकी छन्।

सामाजिक संजाल फेसबुकमा उनले लेखेकी छन्, ‘एआई प्रयोग गरी मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाइरल गरिएको देखें। यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरूको वर्तमान र भविष्य उज्जवल हुनेथियो। मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन। साइबर ब्युरो जाँदैछु।’ 

पुष ६, २०८१ शनिबार १४:५९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।