१५औं महाधिवेशनलाई भोट माग्दै शेखर, कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने दाबी
धनगढी : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई भेटेर कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताएका छन्।
सुदूरपश्चिमको तीन दिने भ्रमणमा रहेका कोइरालाले सम्बोधन गर्दै अबका दिनमा पार्टीभित्र अन्याय हुन नदिने बताएका हुन्।
सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउँछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन। न्याय हुन्छ। त्यसको जिम्मा म लिन्छु।’
सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेको स्मरण गराउँदै १५औं महाधिवेशनपछि न्याय हुने बताए।
उनले थपे, ‘म कसैलाई पक्षपात गर्दिन। तर यसका लागि तपार्इंहरूको सहयोग चाहिन्छ।’
कोइरालाले कांग्रेसको १५औं महाधिवेशन लक्षित गर्दै महाधिवेशन समयमै हुनुपर्ने बताए। उनले देश र लोकतन्त्रलाई बचाउन भए पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्ने बताए।
उनले कांग्रेस र एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन्न नसकेकोे आरोप समेत लगाए।
उनले भने, ‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नैपर्छ। तर, सरकारको कार्यशैली भने सन्तोषजनक छैन। म नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरूको कार्यशैलीबाट सन्तुष्ट छैन।’
पुष ६, २०८१ शनिबार ११:२५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।