जातका कुरा : जब घरबेटीले सांसद् उमादेवीलाई मुखै फोरेर ‘तपाईं त डुम हुनुहुँदो रहेछ’ भनिन्...
उमादेवी बादी टीकापुरमा बस्थिन्। ०७४ को निर्वाचनमा नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभा सदस्य मनोनीत गर्यो। धनगढीमा रहेको सदन भ्याउन ६ घण्टाको बाटो धाइन्। कहिल्यै पनि सदन छुटाइनन्।
७७ सालको अन्त्यतिर, सदनकै छेउमा बस्ने मनसायले धनगढी आसपासमा लामो समय कोठा (डेरा) खोजिरहिन्। डेरा खोज्ने क्रममा सुरुमै ‘तपाईं के थरी?’ भन्ने सुन्नु परिहाल्थ्यो। उमादेवीले पनि ढाँटिनन्। सत्य बोलेरै, आफ्नो नामको पछाडि जोडिएको ‘बादी’ भनिरहिन्।
डेराको लागि सबै कुरा मिलिसकेको हुन्थ्यो। जब उमादेवीले आफ्नो थर भन्थिन् तब घरधनी अनेक बहाना बनाउँथे। यो क्रम दर्जन बढी घरहरू धाउन्जेलसम्म चलिरह्यो। उमादेवी आफ्नो पछाडिको नाम नलुकाउने अनि ‘बादी’ सुन्नासाथ घरधनीले कोठै नदिने।
एकातिर प्रदेश सभा बैठक छुटाउँदा दलितका मुद्दाहरू ओझेल पर्थे, अर्कातिर टीकापुरबाट ५/६ घण्टाको बाटो धाएर सदन/समिति भ्याउन निकै मुस्किल पर्थ्यो। त्यसैले पनि उनलाई डेरा खोज्नु अनिवार्य थियो। तर, जातका कारण डेरा पाइनन्। अन्ततः उमादेवी पनि हैरान भइन्। अनि जात ढाँट्ने निर्णयमा पुगिन्।
नभन्दै, धनगढीमा एक जना उपाध्याय ब्राह्मणकोमा कोठा पाइन्। जात नसोध्ने कुरै थिएन। तर, यसपटक भने उनले आफूलाई ‘भट्ट’ भनेर चिनाइन्। उमादेवीका श्रीमान् भट्ट थरका थिए। ती उपाध्याय ब्राह्मणकोमा बस्न थालेको छ महिना गुज्रियो। यतिन्जेल ठिकै थियो।
एकदिन उमादेवीले दलित समुदायको शिक्षामा पहुँच हुनुपर्ने माग राखेर सदनमा आवाज उठाइन्। सदन सकिएपछि कोठा फर्किइन्। उमादेवीले सदनलाई गरेको त्यो सम्बोधन घरधनी महिलाले हेरेकी रहिछन्।
उमादेवी कोठा आउने बित्तिकै ती घरधनीले जातबारे प्रश्न गरिन्। उमादेवीले ढाँट्ने कुरै थिएन। बादी भन्ने थाहा पाइसकेपछि अरू एक सेकेन्ड पनि आफ्नो घरमा राख्न चाहन्न थिइन् ती घरधनी।
त्यसपछि एकछिन यताउता छट्पटाइरहिन्। उमादेवीलाई कोठाबाट निकाल्ने अनेक उपाय खोजिन्। अनि त उमादेवीको जात थाहा पाएको २० मिनेट नपुग्दै खानेपानीको धारा बन्द गरिदिइन्। उमादेवी हिँड्ने बाटोमा टाटी (छेकबार) लगाइदिइन्। जबकी उनी पढेलेखेकी थिइन् अनि महिला स्वास्थ्य स्वयम्सेवीका पनि।
उमादेवीको जात थाहा पाएको पौने घण्टापछि ती घरधनीले भनिन्- ‘मेरो छोरो काठमाडौंबाट आउँदैछ भोलि, कोठा खाली गरिदिनुपर्यो म्याडम। फेरि तपाईं त डुम हुनुहुँदो रहेछ।’
अरू सम्म ठिकै थियो, मुखै फोरेर ‘डुम’ भनेपछि चैँ उमादेवीलाई असह्य भयो। उनले प्रतिवाद गरिन्, ‘तपाईंलाई लाज लाग्दैन, मलाई डुम भन्न? के हो डुम भनेको? म जाउँ, प्रशासन कहाँ?’
तर जति नै प्रतिवाद गरे पनि उमादेवीले जात लुकाएर बल्ल-बल्ल पाएको कोठा जातकै कारण छोड्नुपर्यो। उपाध्याय ब्राम्हणको त्यो कोठाबाट सरेपछि उमादेवीले अर्को चन्द ठकुरीको घरमा कोठा सरिन्। त्यहाँ पनि त्यस्तै भयो। १५ दिनमा जात थाहा पाएपछि ती घरधनीले कोठा सर्नको लागि धम्क्याए। प्रहरीमा जानेसम्म कुरा चल्यो।
कतिसम्म भयो भने, अन्य तीन जना प्रदेशसभाका सदस्यहरू गएर ती चन्द थरका घरधनीलाई सम्झाए। तर, उनी सम्झिएनन्। उमादेवीले यसबारेमा प्रदेश सभामै कुरा उठाइन्।
‘धनगढीमा प्रदेश राजधानी बनाउने कुरा छ, सुदूरपश्चिमको एक माननीय उमा बादीले यहीँ धनगढीमा कोठा नपाउने? पाए पनि लखेटिनुपर्ने?’, प्रदेश सभामा उमादेवीको प्रश्न थियो।
तत्कालीन सरकारले उनको कुरा सुनेको नसुन्यै गर्यो, कुनै प्रतिक्रिया नै दिएन। बरु सभामुख अर्जुन बहादुरले ‘तपाईंलाई गाह्रो भएको हो भने यहाँ सरकारी कार्यालयमै म्यानेज गर्दिन्छौँ हामी, मिलाएर बस्नु न त मान्यज्यू’ भने।
कोठाका लागि पाँच वर्षसम्म पूरै भौतारिएकी उमादेवीलाई त्यसबेला लग्यो, ‘बरु म त पशु भएर जन्मिएको भए कम्तिमा मालिकसँगै बसेर खान पाइन्थ्यो। मान्छे भएर मान्छेको रूपमा जिउन नपाउनु, डेरा नपाउनु, जात थाहा पाउनेबित्तिकै धपाइनु भन्या पनि मान्छेकै जुनी हो र? यस्तो जुनी पाउनुभन्दा त बरू जन्मै नलिएको भए हुन्थ्यो नि…!’
०००
२०१८ मा सल्यानको थापागाउँमा जन्मिएकी उमादेवीको बाल्यकाल घुमफिरमै बित्यो। तर, त्यो घुमफिर शोखले होइन, बाध्यताले। जग्गाजमिन थिएन, आम्दानीको स्रोत भएन। परिवार गाउँ डुल्दै, गीत गाउँदै, खानेकुरा माग्दै हिँड्थे। उनी पनि आमाबुबासँगै गाउँगाउँ चहार्थिन्। कहिले सल्यान त कहिले बाँके-बर्दिया-कैलाली-कन्चनपुर गरेरै उनको बाल्यकाल गुज्रियो।
बस्ने ठाउँ नभएकै कारण चिसो महिना आएपछि ‘सौता’नै भित्रिए जस्तो लाग्थ्यो उनलाई। चामल नभएका कारण दशैंमा टीका लगाउन नपाएको सम्झिँदा उनको मन कटक्क हुन्छ।
‘हामीलाई स्कुलको वनभोजमा लैजाँदैनथे, सरस्वती पूजामा बनाइने खाना हेर्नसम्म पाइँदैन थियो, मन्दिरमा पूजा गर्न पाउनुको युद्ध जित्नु जस्तै थियो। कतिसम्म भने पशुलाई खानेकुरा पात वा टपरीमा दिन्थे तर हामीले भुइँको टिपेर खानुपर्थ्यो’, उमादेवी सम्झिन्छिन्।
महिना, दुई महिना वा बढीमा छ महिना एउटा गाउँमा बित्थ्यो। जसको प्रभाव उमादेवीको पढाइमा पर्यो। कैलाली र बर्दियाको सीमा क्षेत्रमा पर्ने धेरै स्कूलमा पढेकी उमादेवीले जम्मा आठ कक्षासम्म मात्रैको औपचारिक शिक्षा लिएकी छन्।
ती क्षेत्रका सबै विद्यालयमा कहीँ दश दिन, कहीँ एक महिना, कहीँ दुई दिन पनि पढ्न गएको उमादेवी सम्झन्छिन्। उनले सबैभन्दा पहिला टीकापुरको कर्णाली माविमा पहिलोपटक स्कुल धाएको याद छ उनलाई। पढेका अन्य झन्डै दुई दर्जन विद्यालयको नाम भने धमिलो स्मरण छ।
स्कुलमा शिक्षकहरूले अरू विद्यार्थीको कापी जाँच गर्थे, गृहकार्य दिन्थे, पढेन वा पढ्न जानेन भने पिट्थे। तर, बादी समुदायका विद्यार्थीलाई केही गर्दैन थिए। पिट्नु भनेको छुनु हो। ब्राह्मण समुदायका शिक्षकले बादी विद्यार्थीलाई छुँदैनथे।
तर, जसरी भए पनि छोरीहरूको आँखा खुलाइ दिनुपर्छ भन्ने उमादेवीको बुवाको चेतनाका कारण उनले थोरै भएपनि औपचारिक शिक्षा लिन पाइन्।
०००
तीस वर्षअघि उमादेवीले धनगढीका भट्ट थरका पुरुषसँग अन्तर्जातीय प्रेम विवाह गरिन्। आजको नेपाली समाजमा त अन्तर्जातीय प्रेम गर्दा असहज हुने परिस्थिति छ भने त्यो बेला सहज हुने कुरै भएन। उमादेवी अनि उनका श्रीमान्लाई मार्न कयौँ पटक प्रयास भयो। उमादेवीलाई आफू बस्ने ठाउँ विष्णुकान्तिपुरबाट खेदाएर टीकापुर पुर्याइयो। चौकी, गाविस पुर्याएर छोडपत्र गराउन खोजियो।
त्यस बेलाका विद्रोही माओवादीलाई लगाएर मार्न खोजियो। तर पनि उनीहरूले हरेस खाएनन्। लडिरहे। कयौँ पटक भागे। कयौँ पटक मृत्युलाई जिते। तर, प्रेमलाई जिते। अझ भनौँ, जातबाट माथि उठेको प्रेमलाई जिते।
त्यसैले पनि होला, आजभोलि कहीँ कतै अन्तर्जातीय बिहेको घटना सुन्नेबित्तिकै उमादेवीको मन पोल्छ। अनि सकेसम्म अन्तर्जातीय बिहे नै नगरून् भन्ने सल्लाह दिने गरेको उमादेवी सुनाउँछिन्। उनको बुझाइमा जे-जस्तो परिस्थिति भए पनि, अन्तर्जातीय बिहेमा अन्तिममा दलितले नै दु:ख पाउनुपर्छ।
०००
त्यसबेला बादी समुदायका महिलाहरू यौन पेसा अंगाल्नुपर्ने बाध्यतामा थिए। उनीहरूलाई राज्यले नै त्यो दलदलमा फसाएको थियो। यौन पेसाकै सिलसिलामा उनीहरूले भोग्नुपरेका पीडा, अपमान, तिरस्कार, बहिष्करणहरूको फेहरिस्त भनि साध्य छैन। त्यसमध्येको एक थियो, नागरिकताको समस्या।
यौन पेसाको क्रममा बादी महिलाहरूबाट बच्चा जन्मिन्थे। ती बच्चाहरूको बाबुको पहिचान हुँदैनथ्यो। बाबुको पहिचान नभएपछि बच्चाहरूले नागरिकता पाउन सक्दैनथे। किनभने त्योबेला नागरिकतामा बाबुको नाम उल्लेख हुनुपर्ने अनिवार्य कानूनी व्यवस्था थियो।
त्यसैले पनि बादी समुदायका अधिकांश व्यक्तिहरू नागरिकताविहीन थिए। उनीहरू नागरिकता नभएकै कारण शिक्षा दीक्षा र रोजगारीलगायतका कुराबाट बञ्चित थिए। यसैविरूद्व लड्ने बादी समुदायकी सम्भवतः पहिलो योद्धा हुन् उमादेवी।
‘नागरिकता/जन्मदर्ता बनाउन जाँदा खै बुवा, खै श्रीमान् भनेको कयौँ पटक सुनिरहेँ। तर, राज्यले जन्मदर्ता/नागरिकता दिएन। जबकी राज्यलाई बादी समुदायको समस्या राम्रैसँग थाहा थियो,’ उमादेवी सम्झिन्छिन्, ‘देशले लोकतन्त्र पायो, गणतन्त्र पायो, संविधान पायो। हामीले नागरिकता नपाउने? हामीले डिग्री पढ्न नपाउने? रोजगारी नपाउने? त्यही सम्झेर आन्दोलन गर्नुपर्छ भन्ने लाग्यो।’
त्यसैको परिमाण हो, २०६४ असार १७ को दिन। त्यो दिन २३ जिल्लाका ५०० बढी आन्दोलनकारी मुक्तिको सपना बोकेर राजधानी पुगे। त्यसको नेतृत्व उमादेवीले सम्हालिन्। बादी समुदायले आफ्नो सपनामा हातेमालो गर्दै आन्दोलन गर्न आएको देख्दा उमादेवीको खुसीको सीमा थिएन।
२६ बुँदे माग लिएर गाउँदेखि सिंहदरबार पुगेर माइतीघर मण्डलमा धर्ना, जुलुस र विरोध गर्न थाले, ४८ दिनसम्म। उनीहरूलाई सिंहदरबार प्रवेशमा रोक लगाइयो। उनीहरूले सिंहदरबार बाहिर धर्ना दिए। नारा जुलुस गरे। शान्तिपूर्ण विरोधका सबै उपाय अपनाए तैपनि सरकारले सुनेन।
त्यसपछि बाध्य भएर आफूहरूले अर्धनग्न भएर प्रदर्शन गरेको उमादेवी सम्झिन्छिन्। त्यसको सिधा सन्देश थियो, ‘नांगो हामी हैन, यो सरकार नांगो छ। बादीहरूको समस्या नदेख्ने सरकार दृष्टिविहीन छ। समस्या नसुन्ने सरकार सुस्त श्रवण छ।’
भदौ ५ मा माइतीघरबाट सिंहदरबार जाने र्यालीको नेतृत्व उनै उमादेवीले गरेकी थिइन्। उनका पछाडि २०-२५ जना महिला मात्रै थिए। उनीहरू सोझै सिंहदरबारको गेटमा पुगे। सुरक्षाकर्मीले गेट बन्द गरिदिए। आक्रोशित उमा अर्धनग्न अवस्थामै सिंहदरबारको गेटमा चढिन्। उनले सरकार विरुद्ध नाराबाजी गरिन्। धेरै बादी महिलाहरूले अर्धनग्न अवस्थामै सरकार विरुद्ध नाराबाजी गरेर उनलाई साथ दिए।
यो दृश्यले सबैको ध्यान खिच्यो। सञ्चार माध्यम र मानव अधिकारकर्मीले वादी समुदायको आन्दोलनलाई साथ दिए। आन्दोलनले विस्तारै गति लियो। अनि सरकारले बादी आन्दोलनलाई सम्बोधन गर्यो।
त्यसबेला उनीहरूको माग सामान्य थियो- आमाको नामबाट पनि जन्मदर्ता र नागरिकता दिइनुपर्ने, बादी समुदायका महिलाहरूले गर्दै आएको बाध्यात्मक यौन पेसालाई अन्त्य गरेर ती दिदीबहिनीलाई वैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्ने, बालबालिकालाई निःशुल्क शिक्षा इत्यादि। आन्दोलनले चर्को रूप लिएपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग असोजमा सम्झौता भयो। ती सम्झौता केही कार्यान्वयन भए।
मन्त्रिपरिषद्ले २०६५ पुस २३ मा यौन पेसामा लागेका बादी महिलालाई आत्मसम्मानका साथ पुन:स्थापना गर्ने निर्णय गर्यो। आमाको नामबाट जन्मदर्ता र नागरिकता दिन सरकारले त भन्यो। तर, अझै सिडिओ र जनप्रतिनिधिको व्यक्तिवादी सोचले सजिलै पाउन सकेका छैनन्। यौन पेसामा लागेका बादी महिलाहरूलाई त्यो पेसाबाट अलग गरेर समाजमा आत्मसम्मानका साथ पुन:स्थापना गर्ने उमादेवीको धोको छ।
०००
कस्ले भन्यो सपनाको रंग हुँदैन? हुन्छ। तर त्यो रंग पनि सम्पन्नता र समृद्धिले निर्धारण गर्ने रहेछ, उमादेवीलाई यस्तै लाग्यो। उनीहरूको सपनाको रङ निष्पट्ट कालो थियो। समाज अनि राज्यले जबर्जस्ती यौनकर्मीको बिल्ला भिराइदिएको थियो।
त्यसैले बादी महिलाप्रति समाजले हेर्ने दृष्टिकोण फेर्न चाहिन्थिन् उमादेवी। कलिलो उमेरमै देह व्यापारमा संलग्न बादी चेलीहरूले कुमारी आमा भएकै कारण भोग्नु परिरहेको पीडा अन्त्य गर्न चाहन्थिन्।
नभन्दै बीबीसीले उमादेवीको यही सपनालाई कदर गर्यो। अर्थात् विश्वका एक सय प्रभावशाली महिलामा उनलाई छान्यो। उनले जातीय विभेद अन्त्य गरेको र बादी समुदायको चेतनामा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै बीबीसीले विश्वका १०० प्रेरणादायी र प्रभावशाली महिलाको १०औं नम्बरमा समावेश गरेको थियो। त्यसबेला उनी सुदूरपश्चिम प्रदेशको सांसद् थिइन्।
उमादेवी वादी समुदायकी एक्ली सांसद हुन्। हुनत उनलाई कांग्रेसले २०६४ को संविधानसभामा समानुपातिकतर्फ राख्ने निकै चर्चा थियो रे। तर, अन्तिम समयमा नाम काटिएछ। २०७० मा भने उनको नाम लिस्टमा अटे पनि समानुपातिकमा कांग्रेसले कम मत ल्याउन उनी सांसद् बनिनन्। २०७४ मा भने उनले सांसद् बन्ने गरी कांग्रेसले मत ल्यायो अनि उनलाई सांसद बनायो। त्यसप्रति उनी कृतज्ञ छिन् पार्टीप्रति।
‘मैले जीवनभर अर्को पार्टीलाई भोट नै दिएको छैन, म त लोकतान्त्रवादी हो, कांग्रेसवादी हो, कांग्रेसबाहेक मलाई अरू थाहै छैन’, उनले ठट्टा गरिन्।
जातका कुरा:-
पुष ६, २०८१ शनिबार १०:३२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।