जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु, साउदी डाक्टर पक्राउ
एजेन्सी : जर्मनीको क्रिसमस बजारमा तीव्र गतिको कार ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्।
यो घटना जर्मनीको म्याग्डेबर्गको हो। मृत्यु हुनेमा एक बालक पनि रहेका छन्।
सामाजिक सञ्जालमा उपलब्ध फुटेजमा पसलहरूबीचको साँघुरो गल्लीमा कार तीव्र गतिमा गुडिरहेको देख्न सकिन्छ, जसमा धेरैलाई कारले ठक्कर दिएको देख्न सकिन्छ।
स्थानीय अधिकारीहरूले कार चालकले यो आक्रमण जानाजानी भएको हुनसक्ने आशंका गरेका छन्।
टिभीबाट प्राप्त तस्विरमा एक संदिग्ध व्यक्तिलाई बन्दुक लिएर प्रहरीले पक्राउ गरेको देख्न सकिन्छ।
पक्राउ परेका व्यक्ति ५० वर्षीय साउदी नागरिक रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति सन् २००६ देखि जर्मनीमा डाक्टरका रूपमा कार्यरत थिए।
घटनापछि साउदी अरेबियाको विदेश मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै जर्मनीमा मारिएकाहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
साउदी विदेश मन्त्रालयले भनेको छ, ‘हामी जर्मनीका जनता र पीडित परिवारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं।’
पुष ६, २०८१ शनिबार ०८:०३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।