‘भ्वाइस अफ नेपाल सिजन ६’ मा दीप, प्रमोददेखि मेलिनासम्म कोचबाट बाहिरिए, राजु र खेम थपिए

‘भ्वाइस अफ नेपाल सिजन ६’ मा दीप, प्रमोददेखि मेलिनासम्म कोचबाट बाहिरिए, राजु र खेम थपिए

काठमाडौँ : पहिलो सिजनबाट नै ‘द भ्वाइस अफ नेपाल’ सिजनको को रहेका प्रमोद खरे सिजन ६ बाट बाहिरिएका छन्। उनको ठाउँमा लोकगायक खेम सेन्चुरी भित्रिएका छन्।

अगाडिका अडिसनमा रहेकी मिलन नेवार पनि यो सिजनमा छैनन्। दीप श्रेष्ठदेखि गायक राजेश पायल राईसम्मलाई दर्शकले यसपटक कोचमा देख्न पाउने छैनन्। बरु ५ सिजनबाट बाहिरिएका कोच राजु लामा भने ६ मा भित्रिएका छन्।

यस पटकको कोचमा मेलिना राई,राजु लामा,उदय सोताङ र लोकगायक खेम सेन्चुरी रहेका छन्। अघिल्ला सिजनका प्राय कोच बाहिरिएका छन्।

यस रियालिटी शोका निर्देशक लक्ष्मण पौडेलले कोच भेट्न मुस्किल परेको बताए। उनले प्रमोदको समय नभएकाले यस पटक कोचमा राख्न नपाएको र कुनै पनि कोचले आफूहरूलाई नपत्याएको बताए।

काठमाडौँमा शोको प्रसारण र कोचको जानकारी दिनका लागि राखिएको कार्यक्रममा उनले कोच पाउन निकै मुस्किल परेको बताए।

उनले भने,‘कोच पाउन निकै मुस्किल पर्यो। धेरैलाई हामीले अप्रोज गरेका थियौँ। तर कसैले नमानेको समयमा खेम सेन्चुरीले मान्दिनुभयो।’

उनले गायिका मेलिना राईलाई पनि २,३ पटक भेटनेरे कुरा गरेपछि मात्रै कोचका रूपमा राख्न सफल भएको बताए। उनले यो भनिरहँदा कोच मेलिनाले २,३ पटक होइन पाँच पटक हो भन्दै उपस्थित सबैलाई हँसाइन्।

अघिल्ला सिजनमा लोकतर्फका कुनै कोच रहेका थिएनन्। पत्रकारले अघिल्ला सिजनमा लोक क्षेत्रको राख्नुभएको थिएन नि भन्ने प्रश्नमा निर्देशक पौडेलले अघिल्ला सिजनमा नपाएको बताए। लोक क्षेत्रका कुनै कोच नभएता पनि बेला बेलामा लोक कलाकार गेस्टको रूपमा बोलाउने गरेको जानकारी दिए।

चौथो सिजनमा भित्रिएका कोच राजेश पायलले पाचौं सिजनसम्म कोचका रूपमा काम गरे। छैटौँ सिजनमा भने उनी बाहिरिएका छन्। यसअघि दुई वटा सिजनमा कोच रहेका राजु लामाको रि–इन्ट्री भएको छ।

शोका निर्देशक पौडेलले दर्शकको गाली खाएपछि राजुलाई पटक पटक कुरा गरेर यो शोमा भित्राउन सफल भएको बताए। तपाई किन अघिल्लो सिजनमा नआउने भएको भन्ने प्रश्नमा राजुले आफ्नो घरायसी व्यस्तताले आउन नसकेको बताए। अबको अर्को सिजनमा हुने नहुने कुरामा उनले ठोस जवाफ दिन भने सकेनन्।

यता पाँचौँ सिजनमा कोचको भूमिका निवार्ह गरेका उदय सोताङ दोहोरिएका छन्। तर उनी आजको कार्यक्रममा उपस्थित भएनन्। निर्देशक पौडेलले उनी व्यस्तताको कारणले आउन नसकेको जानकारी दिए।

१६ देखि ४० वर्ष उमेर समूहका नेपाली गीत गाउन पाउने यो साङ्गीतिक प्लेटफर्म हो। यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिब ५५ हजार आवेदकमध्येबाट छानिएका १ सय २० बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनमा प्रस्तुत भएका छन्।

‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण पुस तेस्रो साताबाट सुरु हुने छ। यसको उद्घोषको जिम्मा सुशील नेपालले पाएका छन्। उनी सुरुवातदेखि अहिलेसम्म निरन्तर टिकेका छन्। यो शो सिजन ५ कै फर्माटमा सञ्चालन हुने छ।

पुष ६, २०८१ शनिबार ००:२४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।